यस्तो छ नेकपाले चलाएको सी गार्मेन्ट

चैत्र २८, २०८१

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९, अंचलपुर छ, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय जाने मुख्य बाटो । पार्टी कार्यालयबाट ३ किमी वरै पर्छ बनकट्टा चोक । चोकैमा दक्षिण तिर रहेको भवन भीत्र एक दर्जन कामदारहरु अनवरत रुपमा मेसीनमा केही सिलाईरहेका छन् ।यो नेकपाले संचालन गरिरहेको सी गार्मेन्ट हो ।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर जनताको नीति अनुसार पार्टीले यो गार्मेन्ट सुरु गरेको हो । यो गार्मेन्टभीत्र पार्टीकै नेता र कार्यकर्ता सँगसँगै काम गर्छन् । यहाँबाट हुने आयआर्जनले भने पार्टीलाई जीवन्त बनाई राख्ने र नेता कार्यकर्ताको घर ब्यवहार चलेर राजनीतिक उद्देश्य पूरा हुन सहयोग पुग्ने पार्टीको विश्वास छ ।

पुस पहिलो साता पार्टीको छैटौं केन्द्रिय कमिटि बैठकमा १ सय ४५ जना केन्द्रीय सदस्यले यही गार्मेन्टमा तयार पारिएका कालो कोट, पाइन्ट र कमिज लगाएका थिए । त्यसपछि यो गार्मेन्टको चर्चा चुलियो । गत बैशाखमा स्थापना गरिएको गार्मेन्टबाट असारदेखि उत्पादन सुरु भएको हो । गार्मेन्टले असारदेखि फागुनसम्म पार्टी नेता र बाहिरकालाई ६ सय थान कोट पाईन्ट र कमिज सिलाएर बेचेको छ । त्यस्तै ३ सय थान ट्रयाकसुट, एक सय ५० थान कुर्था सलवाल र ३ सय थान हाफपाईण्ट र टिसर्ट सिलाएर बेचेको छ । त्यस्तै सानो ठूलो झुल ३ सय थान र थर्माकोट सिलाएर बेचेको छ ।

गार्मेन्टका व्यवस्थापक राजेन्द्र सीले आफुहरुले बजारभन्दा २० देखि ४० प्रतिशत कम मुल्यमा गार्मेन्टमा उत्पादित कपडा बेचीरहेको बताए । उनले बजारबाट माग बढेअनुसार कामदार थप्ने तयारी रहेको बताए । गार्मेन्टले पछिल्लो ९ महिनामा ४० लाख बढीको कारोबार गरेको छ । जसबाट ८ लाख आम्दानी भएको छ । 

गार्मेन्ट नाफामा गएसँगै १० लाख लगातमा संचालन रहेको गार्मेन्टमा लगानी बढाएर २० लाख बनाईने पार्टीको योजना छ । जसमा पार्टीको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानीमा हुनेछ । लगानी बढेपछि सिलाई मेसिन र अन्य उपकरण थपेर अझ ब्यापक रुपमा लैजाने योजना भएको व्यवस्थापक राजेन्द्र सीले बताए ।

मनोज

Link copied successfully