सामाजिक सञ्जालमा छाइरहेका ‘बेमान बच्चा’ को अभिनय यात्रा

आमा सरिताको मनको कुनै कुनामा लुकेर बसेको पुरानो रहर झन्डै दुई दशकपछि छोरा श्रीशेषले 'बेमान बच्चा' बनेर पूरा गरिदिए

चैत्र १९, २०८१

नुमा थाम्सुहाङ

काठमाडौँ — छोरा हुर्किएपछि मात्रै छोडिगएको पुरानो रहर ब्युँतिएजस्तो भएको छ, असनकी सरिता मानन्धरलाई । नामबाट तपाईंले उनलाई चिन्नुभएको छैन भने पनि केही छैन । सामाजिक सञ्जाल चलाइरहनु हुन्छ भने तपाईंले 'बेमान बच्चा' भन्ने थेगो त पक्कै सुन्नुभएकै होला । उनै बेमान बच्चा अर्थात् श्रीशेष मानन्धरकी आमा हुन् सरिता । सरिता र श्रीशेष सामाजिक सञ्जालमा अनेकन हास्य र व्यंग्य मिसिएका भिडियो बनाउँछन् ।

सरिताको पढाइ १२ कक्षापछि रोकियो । किनकी २२ वर्षमै उनको बिहे भयो । स्कुले जीवनमा नाटकमा अभियन गर्दा गर्दै उनको रुचि कला क्षेत्रमा थियो । तर बिहे गरेकै अर्को वर्ष श्रीशेष जन्मिएपछि उनका रहर त्यसै हराए । ‘पढाइ सकिने बित्तिकै बिहे भयो । पढ्छु भनेको पनि पढ्न सकिनँ । बच्चा भइहाल्यो,’ उनले भनिन्, ‘उसलाई हेर्ने, स्कुल पठाउने, स्कुलबाट आउने अनि अर्को बच्चा भयो ।’

सरिताको मनको कुनै कुनामा लुकेर बसेको पुरानो रहर झन्डै दुई दशकपछि छोरा श्रीशेषले पूरा गरिदिए । अहिले आमा–छोराले अभिनय गर्दै बनाउने अनेकन छोटा भिडियोहरु सामाजिक सञ्जालमा लाखौंले मन पराइरहेको देख्न पाइन्छ । श्रीशेष र सरितालाई सामाजिक सञ्जालमा ल्याउने काम भने लकडाउनले गर्‍यो । ‘लकडाउनको बेलामा छोराले भिडियो बनाउन सुरु गर्‍यो,’ सरिताले भनिन्, ‘पुरानो सपना छोराले पूरा गरिदियो ।’

२७ वर्षका श्रीशेष आमासँग मिलेर ‘बेमान बच्चा’ को क्यारेक्टरमा अभिनय गर्दागर्दै विभिन्न ब्रान्डसँग मिलेर काम गर्ने मौका पाइसकेका छन् । 

उनीहरुले आफ्नो अभिनय मात्रै निखारिरहेका छैनन्, नयाँ कुरा सिक्ने र विषय खोज्ने काम पनि गरिरहेका छन् । ‘यो एउटा क्यारेक्टर बनाएको हो । ममी पनि त्यसरी कराउनुहुन्न तर क्यारेक्टर बनाएको हो,’ श्रीशेषले भने, ‘पहिला एउटा भिडियोमा गाली गर्नुपर्ने शब्द चाहिएको थियो । त्यतिबेला बेमान बच्चा बाट बनाएँ । त्यो प्रयोग भइसकेपछि सबैलाई मन पर्न थाल्यो र २/३ वटा भिडियो राख्दै गएँ । पछि त्यसैले नै चिनायो ।’

हिजोआज कतिपयले सरितालाई 'तपाईंको छोरा बेमान हो ?' भनेर जिस्काउँदै सोध्छन् । उनले पनि हाँस्दै भन्छिन्, ‘नाइँ मेरो बच्चा बेइमान छैन ।’

श्रीशेष र सरिता भिडियोमा आमा–छोराको भूमिकामा भएपनि उनीहरु वास्तवमा साथीजस्ता छन् । स–साना कुरा पनि एक अर्कासँग साट्छन् । हाँस्दै, खेल्दै काम गरिरहन्छन् ।

उनीहरुले आफ्नो अभिनय यात्रा र यस क्रममा भोगेका अनेकन अप्ठ्यारा र खुसीहरुबारे कान्तिपुरको भिडियो कार्यक्रम 'बियोन्ड द फिड्स'मा साटेका छन् ।

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully