काठमाडौँ — पछिल्ला दिनहरुमा यो एआई जेनेरेटेड इमेजको ट्रेन्ड बढेको छ । तपाईलाई यो ट्रेन्ड बारे थाह छ ? अनि यस्तो इमेजहरु कसरी बनिरहेको छ ? अनि यो ट्रेन्ड फलो गरेकै कारण मान्छेहरुले किन डेथ थ्रेट पाइरहेका छन् ? कान्तिपुरको भिडियोमा हामी यसबारे बुझाउने प्रयास गरेका छौ ।
यस्ता इमेजहरु जिब्ली स्टाइल इमेजहरु हुन् । जिब्ली स्टाइल इमेज भन्नाले स्टुडियो जिब्लीका फिल्महरुमा देखिने आर्ट स्टाइल हो । जुन हातैले बनाइएको, डिटेल्ड र नेचुरल स्ट्रोक्स प्रयोग गरिने भएकोले फेमस छ । यो आर्टस्टाइल प्रसिद्ध जापानी एनिमेटर हायाओ मियाजाकीको आर्ट स्टाइल भनेर पनि चर्चित छ ।अहिले जिब्ली स्टाइलको एआई इमेज सोसियल मिडियाभर ट्रेन्डिङमा छन् ।
ओपन एआइले ले जीपीटी – फो मोडेलको नयाँ अपडेट ‘सबैभन्दा एडभान्स्ड इमेज जेनेरेटर’ भन्दै सार्वजनिक गरेपछि इन्टरनेटभरि स्टुडियो जिब्ली स्टाइलका इमेजहरू भाइरल भएका हुन् । विश्वभरका मानिसहरू यो एआई च्याटबट प्रयोग गरेर जिब्ली स्टाइलका इमेजहरू बनाइरहेका छन् ।
जिब्ली स्टाइल फोटो धेरैलाई रमाइलो लागेको छ, तर यसलाई लिएर सबैजना खुशी छैनन् । आर्टिस्टहरुले यसलाई क्रियटिभ प्रोसेस अर्थात सिर्जनात्मक प्रक्रियामाथि आक्रमणको रूपमा हेरेका छन्, विशेष गरी मियाजाकी स्वयंले एआईले बनाएको कलाबारे नकारात्मक धारणा राखेपछि यसबारे सबैको ध्यान खिचिएको हो ।
जापानी एनिमेसनका एक प्रसिद्ध निर्देशक, एनिमेटर, र स्टुडियो जिब्लीका सह–संस्थापक हायाओ मियाजाकी आफ्नै हातले बनाइएका आइकोनिक एनिमेसन, डिप स्टोरी टेलिङ र इभारोमेन्ट, फेमिनिजम, पेसिफिजम समेट्ने फिल्महरूका लागि परिचित छन् ।उनले निर्देशन गरेका प्रसिद्ध फिल्महरू मध्ये ‘स्पिरिटेड अवे’ ले ओस्कार अवार्ड जितेको थियो । त्यस्तै माइ नेबर टोटोरोले टोटोरो नामक लोकप्रिय पात्रलाई विश्वभर परिचित बनायो । उनको हालैको फिल्म द ब्वाइ एन्ड द हेरोनले सन् २०२३ मा बेस्ट एनिमेटेड फिचरमा ओस्कार पनि जितेको थियो ।
एआइ प्रयोग आर्ट बनाउने बिषयमा संसारभर मत बिभाजित छ । कसैले यसलाइ आविष्कार मानेका छन भने कसैले यसले सिर्जनात्मक क्षमताको अपमान गरेको भन्दै विरोधमा उत्रिएका छन् ।