क्यानडाको चुनावमा लिबरल बलियो कि कन्जरभेटिभ ?

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकासँग तनाव बढिरहेका बेला क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले मध्यावधि चुनाव घोषणा गरेका छन् । जस्टिन ट्रुडोको राजीनामापछि लिबरल पार्टीका कार्नीले दुई साताअघि क्यानडाको प्रधानमन्त्रीमा शपथ लिएका थिए । कार्नीको घोषणाअनुसार क्यानडामा २८ अप्रिलमा चुनाव हुनेछ ।

डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको पद सम्हालेसँगै क्यानडासँग तनाव चर्किएको छ । ट्रम्पले छिमेकी क्यानडासँग व्यापार युद्ध मात्र चर्काएका छैनन्, क्यानडालाई ५१ औं अमेरिकी राज्य बन्न आह्वान गर्दै आइरहेका छन् । एक महिनापछिको चुनावमा यी मुद्दा मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले लगाएको आयात शुल्कले आर्थिक अस्थिरता निम्त्याउने र क्यानडालाई मन्दीतर्फ धकेल्न सक्ने विज्ञहरूको अनुमान छ । ट्रम्पले २ मार्चमा क्यानाडेली सामानमा २५ प्रतिशत कर लगाएका थिए । त्यस्तै १२ मार्चमा ट्रम्पले अमेरिका भित्रने सबै आल्मुनियम र स्टील आयातमा २५ प्रतिशत आयात शुल्क लगाएपछि क्यानाडेली आयातकर्तालाई असर गरेको छ ।

ट्रम्प प्रशासनले क्यानडामाथि २ अप्रिलमा थप विश्वव्यापी कर लगाउने योजना अघि सारेको छ । अमेरिकी निर्णयको बदलामा क्यानडाले हालसम्म करिब ४२ अर्ब अमेरकी डलर बराबरका अमेरिकी सामानमा कर लगाइसकेको छ ।

आगामी चुनाव भने मुख्यत: लिबरल र कन्जरभेटिभ दलबीच नै हुने देखिएको छ । विभिन्न सर्वेक्षणहरूले पिएर पोलिएभको पार्टी सन् २०२३ को मध्यदेखि अगाडी रहेको देखाएका थिए । तर पछिल्ला दिनका सर्वेक्षणले भने कार्नी नेतृत्वको लिबरल र पोलिएभ नेतृत्वको कन्जरभेटिभबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् ।

यसअघिको चुनावमा क्यानाडेली संसद् हाउस अफ कमन्समा लिबरले १ सय ५३ सिट जितेको थियो । कन्जरभेटिभ १ सय २० सिटमा विजयी भएका थिए । ब्लक क्वेबेकोइस ३३, एनडीपी २४ र ग्रिन पार्टी २ सिटमा विजयी भएका थिए ।

कान्तिपुर

Link copied successfully