काठमाडौँ — मिलन श्रेष्ठ भक्तपुरमा जन्मिए । त्यहीँको नेवा: संस्कृति देख्दै-भोग्दै-भिज्दै हुर्किए । त्यही भएर उनको लबजमा नेवारी 'टोन'को मिठास आइहाल्छ । आफ्नो मातृभाषाप्रति गर्व गर्ने २७ वर्षीय मिलन ठट्टा गर्दै भन्छन्, ‘आफ्नो भाषामा कुरा गर्दा लजायो भने के गरेर खाइएला जिन्दगीमा !’
मिलन 'डिजिटल कन्टेन्ट क्रिएटर' हुन् । उनी घुम्छन्, रमाउँछन् । तर जहाँ पुग्छन्, आफूले घुमेका ठाउँ अरूलाई पनि देखाउँछन् ।
डेढ वर्षअघि उनले काठमाडौंभित्रका र नजिकका घुम्न उपयुक्त ठाउँबारे भिडियो बनाउँदै युट्युब, टिकटक र इन्स्टाग्राममा राखे । काठमाडौंको जामाचो हाइकिङको भिडियोले उनलाई थप चर्चित बनाइदियो । ‘पहिलोपटक भाइरल भएको भिडियो जामाचो हाइकिङ भयो,’ उनले भने, ‘यो भिडियो राम्रो सुट गरेँ । पोस्ट गर्दा टिकटकमा वन मिलियनभन्दा बढी र अनि इन्स्टाग्राममा मिलियन भ्युज आयो ।’ त्यसपछि बिस्तारै ट्रेकिङ पनि थाले । आमा यांग्रीदेखि मर्दी हिमालसम्म उनी पुगिसकेका छन् । कालिन्चोक, जनकपुर, बेथानचोक, बनेपा गढी, पोखरा, लाङटाङ, पाथीभरा, इलाम, उपल्लो मुस्ताङलगायत धेरै ठाउँ पुगेर उनले भिडियो बनाइसकेका छन् ।
यत्तिका ठाउँ घुम्न कति खर्च लाग्ला ? 'अरुले सोचेजस्तो धेरै पैसा चाहिँदैन । त्यो भन्दा बढी इच्छा हुनुपर्यो,' भन्छन्, 'तर घुम्नचाहिँ निस्कनैपर्यो ।’ कन्टेन्ट क्रिएसनमा नयाँनयाँ आइडिया र सीपको विकास हुने उनी बताउँछन् । ‘जे पायो त्यही काम गर्नुभन्दा आफ्नो स्किल डेभलपमेन्ट गर्न लाग्नुपर्छ,’ मिलनले भने, ‘अहिले स्किल नै चाहिन्छ । शिक्षाभन्दा पनि म स्किललाई प्राथमिकता दिन चाहन्छु । महिनामा कुनै अफिसमा रहेर ३०/४० हजार कमाउनुभन्दा मज्जाले घुमेर यो भन्दा राम्रो कमाउन सक्छौं ।’