काठमाडौँ — हाजिर जवाफको लागि एउटा प्रश्न । माथिल्लो स्तरमा कुनै नेपाली फुटबल टिम सम्हाल्ने पहिलो महिला प्रशिक्षक को हुन् ? उत्तर हो, चन्द्रा भण्डारी । आजभोलि उनको चर्चा जताततै छ । नहोस पनि किन र ? उनले कामै यस्तो गरेकी छिन् । अहिले सहिद स्मारक लिग ‘बी’ डिभिजनको फुटबल चलिरहेको छ ।
यो भयो नेपाली लिग फुटबलको पिरामिडमा दोस्रो श्रेणीको प्रतियोगिता । यसमा खेलिरहेको एउटा टिम हो, ब्वाइज युनियन । त्रिपुरेश्वरको यो क्लब आफैमा ऐतिहासिक छ । यसले ०३२ सालमै ‘ए’ डिभिजनको उपाधि जितेको थियो । अहिले भने यो दोस्रो डिभिजनमा छ, माथि उक्लने सपना बोकेको छ ।
यसैका प्रशिक्षक हुन्, चन्द्रा । यसरी नेपाली फुटबल इतिहासमा पुरुष टिम सम्हाल्ने उनी पहिलो महिला प्रशिक्षक भएकी छिन् । उनले भर्खर भर्खरै हो, प्रशिक्षकको ‘बी’ लाइसेन्स लिएको । त्यस अगाडि डीएभी स्कुलमा फुटबल प्रशिक्षकका रूपमा संलग्न थिइन् । यो क्रम कायम नै छ । अहिले भने उनको काँधमा ठूलो जिम्मेवारी छ, स्कुल स्तर भन्दा माथिको ।
त्यसो त चन्द्रा नेपाली फुटबलका लागि सर्वथा नयाँ नाम पनि होइन् । केही समय गुमनाम जस्तै रहेर अहिले चर्चामा आएकी भने हुन् । सन् २०१० तिरको नेपाली महिला फुटबलकी उनी एक प्रमुख खेलाडी थिइन् । नेपालका लागि तीन फाइनल पनि खेलिन् । कप्तानको भूमिका पाउने थोरै भाग्यमानी खेलाडीमा पनि पर्छिन्, उनी ।
पछिल्लो समय नेपाली महिला फुटबल खुबै चर्चामा छ । लोकप्रिय पनि उत्तिकै छ । पुरुष फुटबलको तुलनामा अन्तर्राष्ट्रिय स्तरमा महिला फुटबलको धेरै सम्भावना छ, नेपालको दृष्टिकोणबाट । यही पृष्ठभूमि तयार भइरहेको बेला चन्द्राले ब्वाइज युनियनको जिम्मेवारी लिएको सुखद समाचार आएको हो ।
नेपाली फुटबलमा धेरै महिला प्रशिक्षक छैनन् । लगभग आधा दर्जनको हाराहारीमा ‘बी’ लाइसेन्स प्राप्त प्रशिक्षक छन् । अहिले धेरै महिलाले पनि प्रशिक्षक बन्ने सपना बुन्न थालेका छन्, यस क्षेत्रमा आफ्नो करियर देखेका छन् । अबको केही वर्षमा ‘ए’ लाइसेन्स भएका महिला प्रशिक्षक नै आउने छन् ।
खेल जीवनमा पूर्ण विराम लागेपछि महिला खेलाडीका लागि पनि प्रशिक्षक हुने एउटा विकल्प तयार भएको छ । के महिला फुटबल के पुरुष फुटबल, तिनले पनि मज्जाले काम गर्नेछन् । चन्द्राले त्यसका लागि बाटो खोल्ने काम गरेकी छिन् । त्यसैले चन्द्राको चालेको एउटा साना पाइला पछि चन्द्रमासम्म पुग्ने उडान हुन सक्नेछ ।