'जेन जी' कसरी पढ्न चाहन्छन् ?

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — जेभियर इन्टरनेसनल कलेजमा बीबीएम अध्ययनरत सृष्टि नाछिरिङ राईले अनलाइन कक्षाबारे पहिलोपटक थाहा पाएकै कोभिड महामारीका बेला हो । सधैं कक्षाकाेठामा पढ्ने गरेकी उनले त्यतिबेला अनलाइनबाट पनि धेरै कुरा पढ्न सकिँदो रहेछ भन्ने थाहा पाइन् ।

सृष्टिजस्तै नेपालका धेरैजसो जेन जीले इन्टरनेटमा आधारित अनलाइन कक्षाबारे कोभिडकै बेला थाहा पाएका हुन् । तर उनीहरुमध्ये कतिपय शिक्षकको प्रत्यक्ष उपस्थिति नहुने अनि आफ्नो समय र अवस्थाअनुसार जसरी पनि पढ्न सकिने भएकाले अनलाइनबाट पढ्न रुचाउँछन् ।

जेभियरमै बीएस अध्ययनरत अनामिका संग्रौलालाई भने बाबुले नै अनलाइनबाट पनि पढ्न सकिन्छ है भनेर सिकाएको अनुभव छ । उनले भनिन्, ‘मलाई बुबाले कक्षाकोठामा केही कुरा बुझिँदैन भने त्यस्तै सामग्री खोजेर अनलाइनबाट पनि पढ्न सकिन्छ भनेर सिकाउनुभएको थियो ।’

जेभियरमै बीबीएम अध्ययनरत जितिश हमाल भने इन्टरनेटमा भन्दा पुस्तकमा धेरै कुरा पढ्न रुचाउँछन् । उनीसँगै अध्ययनरत सुप्रिया राना मगर पनि इन्टरनेको माध्यमबाट भन्दा पुस्तकमै पढ्न मन पराउँछिन् । इन्टरनेटमा भर पर्दा अनेक सामग्री हेर्न मन लाग्ने र स्क्रोल गर्दागर्दै अन्तै पुगिने डर बताउँदै उनी भन्छिन्, 'इन्टरनेटमा भन्दा किताब नै पढ्नु राम्रो ।' सुप्रियाजस्तै सृष्टि पनि अनलाइनमा पढ्दा एकै स्वाइपमा अन्तै पुगिने र ध्यान भंग हुने खतरा हुन्छ भन्छिन् । 

जेन जीमा पुस्तक पढ्ने कि इन्टरनेटमा आधारित सामग्री पढ्ने भन्नेमा एउटै मत छैन । च्याट जीपिटी, ग्रोकजस्ता कैयौं च्याटबटले पढ्न सजिलो बनाए पनि यसको उपयोग कसरी गर्ने र यस्ता च्याटबटमा कति भर पर्ने भन्ने कुरामा भने उनीहरु अलमलमा परेको देखिन्छ । 

कान्तिपुरको भिडियो कार्यक्रम 'जेन जी जङ्सन'मा कुराकानी गर्दै जेन जीका तीन प्रतिनिधिले कसरी पढ्ने र के पढ्ने भन्ने विषयमा आफ्नो अनुभव साटेका छन् । अनलाइनबाट पढ्दा हुने फाइदा र जोखिम अनि कक्षाकोठामै पढ्दाका राम्रा र नराम्रा पक्षबारे उनीहरुले आफ्नो अनुभव राखेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully