सगरमाथा संवाद : कसरी हुँदैछ ? को को आउँदैछन ?

चैत्र ९, २०८१

नुमा थाम्सुहाङ

काठमाडौँ — ४५० जना विदेशी पाहुना, तीन दिन हुने गहन संवाद । के तपालाई २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादबारे थाहा छ ? सरकारले सगरमाथा संवादको आयोजना कसरी गर्दैछ ? यसका निम्ति सरकारी तयारी कस्तो छ ? आजको भिडियोमा हामी यही कुरा बुझाउनेछौं ।

कोभिड–१९ नभएको भए ‘सगरमाथा संवाद’ यसअघि नै भइसक्थ्यो । तर कोभिड महामारीले गर्दा सरकारको पूरा तयारी रोकियो । २०८१ माघ ८ । संयुक्त राष्ट्र संघले घोषणा गरेको अन्तर्राष्ट्रिय हिउँ दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूत, सरोकारवाला निकाय र जलवायु परिवर्तन विज्ञहरुको बैठक डाके ।

यही भेलामा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको घोषणा गर्दै त्यसमा सहभागी हुन अन्तर्राष्ट्रिय नियोगहरूलाई आग्रह गरे ।सगरमाथा संवाद सम्पन्न गर्न अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालय खटिएका छन् । जसका लागि ३ वटा समिति बनेको छ ।

निर्देशक समितिको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ छन् । व्यवस्थापकीय समितिको अध्यक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उपाध्यक्षमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी छन् ।

सरकारले सगरमाथा संवाद आयोजना गर्न ५ करोड भन्दा धेरै खर्च हुने अनुमान गरेको छ । तत्काललाई सरकारले करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । विकास साझेदार र निजी क्षेत्रले पनि सगरमाथा संवादमा सहकार्य गर्दैछन् ।

सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ बिषयमा बृहत छलफल गर्नेछ । जसमा ५ वटा थिममा १२ वटा सेसनहरू र तीन वटा प्लेनरी सेसन सञ्चालन हुनेछन् । संवादको अन्तिम दिन भने ‘सगरमाथा संवादको काठमाडौं घोषणा पत्र’ सार्वजनिक हुनेछ ।

नेपालले किन गर्दैछ त सगरमाथा संवाद ?

किनकी नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । नेपालको हिउ पग्लिदा समुन्द्री तथा टापु राष्ट्र समेत जोखिममा पर्नेछन् । त्यसैले पर्वतिय मुलुकको तर्फबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका खेल्ने उद्धेश्यले यो संवाद आयोजना गरिएको हो ।

सगरमाथा संवाद कस्तो होला ? सरकारले कति विदेशी र हाईप्रोफाईल पाहुनाहरु बोलाउन सक्छ ? अनि के सरकारले भनेजस्तो यस्तो संवादबाट हाम्रो समस्या संसारभर पुग्न सक्ला ? त्यो भने हेर्न बाँकी नै छ ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully