काठमाडौँ — एक्कैछिन आउनुस् भन्दै भिडियोमा बोल्ने सागर लामिछाने मगरलाई यो संसारमा आइपुग्न त्यति सजिलाे भएन ।यहाँसम्म आइपुग्दा उनले भोगेका हन्डर र ठक्करमा कथा मात्रै छैन, हैरानी र सास्तीका अनेकन अनुभव पनि छन् । त्यही भएर त सागर भन्छन्, यस्तै हैरानी र ठक्करबाट त धेरै कुरा सिके ।
भिडियोको संसारमा आउनुअघि सागरले पाल्पामा मासु पसलमा काम गरेनन् कि, काठमाडौंका गल्ली गल्छेडाहरुमा हर्बल सामा बेच्दै हिँडेनन् । यी सबै कामबाट पटक्कै खुशी नमिलेपछि उनी बोल्ने, लेख्ने काममा आइपुगेका हुन् । यही काममा टिक्न पनि सुरुवाती दिनमा उनले अनेक सास्ती भोगे । तर आत्तिएर भागेनन् ।
पाल्पाको जन्तीलुङमा जन्मिएका सागर लामिछाने मगरको दर्शकलाई भिडियो देखाउने फरक शैली छ । त्यही भएर उनी सामाजिक संजालदेखि युट्युबमार्फत धेरै दर्शकसँग जोडिदै छन् । घुमीराख्न मन पराउन सागरले देशका अनेक कुना कन्दरा पुगेर त्यहाँको जीवन मात्रै देखाएका छैनन्, मानिसका अनेकन कथा, जिवन्त संस्कृति र परम्पराजन्य विश्वासहरुको कथा पनि उधिनेका छन् । त्यो पनि रोचक र सरल शैलीमा ।
सागरको भिडियो यात्रा सुरु सुरुमा त्यति सजिलो रहेन । तर विस्तारै उनले दर्शकको मन जित्दै गए । ‘भिडियो राखेसकेपछि दुई/तीनसम्म हेरिन । किनभने त्यो भन्दा अगाडि भिडियो नै चल्थेन,’ उनले भने, ‘तीन दिन पछि हेर्दा ४०/५० हजार लाइक र टिकटकमा झन्डै १० हजार जनाले त्यो आवाजमा भिडियो बनाउनु भएको थियो । त्यसरी सुरु भएको थियो एक्कैछिन् आउनुहोस् ।’
सागरको सिग्नेचर शैली नै भैसक्यो भिडियोको सुरुमा एक्कैछिन आउनुहोस भन्ने । यही शैलीनै नै उनी दृश्य संसारमा चिनिएका छन् । बीपी राजमार्ग भएर कतै जांदा उनले सिन्धुलीको रिठ्ठेभीरमा भित्ताभरी ऐना राखेको अनौठो दृश्य देखेका थिए । यतिका धेरै ऐना किन राखेका होलान् भन्ने खुल्दुलीले उनले भिडियो बनाए । अनि सुरुमै भने, ‘एक्कैछिन् आउनुहोस् आज म तपाईंलाई सिन्धुलीको रिठ्ठेभीरमा किन यति धेरै ऐनाहरू राखिएको होला भनेर...।’ थाहै नपाइ उनले सुरु गरेको यही शब्द धेरैले मन पराए । अनि त उनको सिग्नेचर नै बन्यो ।
‘अहिले उनको ‘एक्कै छिन् आउनुस्’ भन्ने युट्युब च्यानल छ । फेसबुक पेजहरू छ । यही नामको टिकटक आईडी पनि छ,’ सागरले भने, ‘म भिडियोहरू बनाउँछु । त्यही भिडियो हेर्न एक्कैछिन् आउनुस् भनेर बोलाएको हुँ ।’
२७ वर्षीय सागरले भिडियो कन्टेन्ट बनाउन थालेको सात वर्ष भइसक्यो । सुरुमा उनले साथीसँग मिलेर ‘पिक्चर नेपाल’ नामको युट्युब च्यानल पनि खोलेका थिए । तर वर्षदिनमा पनि उक्त च्यानल मोनिटाइज नभईसकेपछि उनी अलग भए ।
‘पिक्चर नेपालमार्फत उनी मनोरञ्जनसम्बन्धी काम गर्थे । हिरो, हिरोइनको प्रेस मिटमा जान्थे । अर्न्तवार्ता लिन्थे । उनले भने, ‘त्यतिबेला म पर्दापछाडी बसेर कन्टेन्ट लेख्ने अरुले बोल्ने गर्थे । नौ महिनासम्म युट्युब चलायौं तर मोनिटाइज नै भएन । एकदमै धेरै दुःख भयो । त्यतिबेला युट्युब मेरो लागि होइन भन्ने लाग्यो र म छुट्टिए ।’
यसपछि सागरले चिनेजानेका एकजना भिडियोग्राफरसँग सहयोगीको रुपमा नौ महिना काम गरे । त्यही बेला उनले भिडियो सम्पादनको काम सिके । अन्य प्राविधिक सीप पनि जाने । यही सीपले उनलाई भिडियोको संसारमा काम गर्न सजिलो बनायो ।
सागर गाउँ गाउँ डुलिहिडछन । त्यही भएर त उनको भिडियो फरक स्वादको छ । ‘संस्कारको हिसाबले जसले नेपालमा लोप हुन लागेको कुराहरू कतिपय मान्छेलाई थाहा हुँदैन । जस्तै ‘लुगुम गाउँ ः इन्साइड नेपाल्स मिस्टिरियस’ भिडियो हो,’ उनलाई मन परेको मध्येको भिडियोबारे सुनाए, ‘नांगो शरिरमा सिस्नुले हान्दा कस्तो हुन्छ ? ३०/३५ जना झाक्रीहरूले ड्यांग्रो टठाएको माहोल । यो हेर्नै पर्ने खालको भिडियो हो ।’
अब उनलाई नयाँ सपना जागेको छ । आफूले देखेको र भोगेका पात्रको कथा देखाउने । ‘अबको सपना भनेको डिरेक्टर नै हो । खासमा मसँग सपना थिएन । म भोलीको दिनमा के गर्छु भन्ने नै थिएन,’ उनले भने, ‘घरमा बुवालाई फोन गरेर तपाईंको सम्पत्ती चाहिदैन । म घुमेर र जोगी बनेर हिड्ने भन्थे । तर अहिले बल्ल सपना भेटेको छु ।’
एउटा पात्र भने उनले निर्देशन गरेको ‘सरर सरर’ भन्ने म्युजिक भिडियोमा देखाएका छन् । सागर मुस्कानसहित भन्छन्, ‘मैले सरर गीतमा मेरो भाइको कथामा बनाए । यो गीतको अन्तिममा गाउँमा बस्ने भाईको चरित्र चाहि मेरो भाईको हो । अनि मैले सिधै भन्न पाओस् यो चाहि तेरो कथा हो ।’
यिनै सागरसँग कान्तिपुरको भिडियो श्रृङ्खला वियोन्ड दि फिड्स गरिएको कुराकानीमा उनले जीवनमा धेरै उकाली ओराली साटेका छन र आफ्नो भविष्यको योजनाबारे बताएका छन् ।