कथा क्रिएसनको यात्रा : विज्ञापनदेखि सर्ट मुभी, अब फिल्म

फाल्गुन २६, २०८१

नुमा थाम्सुहाङ

काठमाडौँ — टिकटकमा मनोरञ्जनात्मक भिडियो बनाएर चर्चा कमाएको ‘कथा क्रिएसन’ सुरु भएको दुई वर्ष पनि पूरा भएको छैन । नेपालमा टिकटक प्रतिबन्ध हुनु तीन महिनाअघि मात्रै कथा क्रिएसनले २० अगस्ट २०२३ मा पहिलो भिडियो पोस्ट गरेको थियो, जसमा ६ लाखभन्दा बढी भ्युज रहेको छ ।

कथा क्रिएसनलाई 'लिड' गरिरहेका छन्, २९ वर्षीय सम्राट अधिकारी । उनी भन्छन्, ‘कथा क्रिएसनको बनेको धेरै भएको छैन । एउटा म्युजिक भिडियो थियो, बबिना किरातीको ‘आकाशैमा चील हो कि बेसार’ गीतको सुटमा अहिलेको टिम मेम्बर भेट भयौं ।’

कथा क्रिएसनको टिममा सृष्टि सुब्बा, अनिश मगर र सन्तोष बोहोरा छन् । यी स्क्रिनमा देखिने अनुहार हुन् र यसलाई देखाउने काममा छिन् रश्मि श्रेष्ठ ।

‘म पहिलादेखि थोरै भए पनि विज्ञापनको कन्टेन्ट बनाउने गर्थें । त्यतिबेला टिकटक खुलिसकेको थिएन । यो टिम भेटेसकेपछि टिकटक ब्यान्ड भएको बेलामा भिडियो गर्ने कुरा भइरहेको थियो,’ सम्राटले कथा क्रिएसन कसरी बनेको बारे सुनाए, ‘मैले आर्टिस्ट चाहियो भनेर खोजिरहेको थिएँ । त्यतिबेला सन्तोष भाइले मलाई मेसेज गरेको रहेछ । त्यसपछि हाम्रो  भेट भयो । गीतको सुटको समयमा हामीले एउटा कन्टेन्ट बनायौं । त्यसपछि अहिलेसम्म यो टिमसँगै छौं ।’

टिमका सबै साथी मिलेर काम गरिरहेकाले कन्टेन्ट बनाउन सजिलो हुने सम्राट बताउँछन् । उनका अनुसार टिममा सबैको भिन्नभिन्न क्यारेक्टर भएकाले कन्टेन्टमा काम गर्न सजिलो भयो ।

‘अनिश मेरो एकदमै पुरानो साथी हो । मैले बोलाउँदा सोल्टी भन्छु । हामी साथीभन्दा बढी दाजुभाइ जस्तो छौं,’ आफ्नो टिमबारे सम्राट सुनाउँछन्, ‘सृष्टि बहिनी र सन्तोष भाइ सबै इमानदार भएर काम गर्छन् । क्यामरा अन हुनेबित्तिकै हामी रमाइलो छोडेर आफ्नो काम गर्छौं ।’

यहीबीच कथा क्रिएसनले म्युजिक भिडियो पनि आफ्नै युट्युब च्यानलमार्फत ‘ठट्टै ठट्टामा’ गीत सार्वजनिक गरेको छ । यही गीत ल्याउन टिमले १२ जनवरी २०२५ मा आफ्नै नामको युट्युब खोलेको सम्राटले बताए । यो भिडियोलाई युट्युबटमा ५० हजार पटकभन्दा बढी हेरिएको छ भने टिकटकमा यसको छोटो भिडियो पनि दर्शकले रुचाएका छन् ।

छोटो समयमा चर्चा कमाएको कथा क्रिएसन अहिले म्युजिक भिडियोभन्दा बढी विज्ञापनको कन्टेन्ट बनाउनमा व्यस्त छ । टिमलाई एक वर्षसम्म पुग्ने काम लाइन अपमा रहेको सम्राट बताउँछन् ।

‘यस अगाडि हामी म्युजिक भिडियोमा काम गरिरहेका थियौं । अहिले विज्ञापनमा राम्रो भविष्य देखेर त्यसैमा कन्टेन्ट बनाउँछौं,’ उनले भने ।

सिन्धुपाल्चोकका सम्राट १७ वर्षको हुँदा काठमाडौं आएका थिए । उनले त्यतिबेलादेखि नै म्युजिक भिडियोमा काम सुरु गरे । तर उनलाई म्युजिक भिडियोले भन्दा विज्ञापनको कन्टेन्टले चिनायो । यो बीचमा उनले विभिन्न फिल्मका लागि अडिसन पनि दिए र छानिए पनि । तर फिल्म नबनेकाले उनमा त्यसप्रतिको रुचि हट्यो ।

‘मैले म्युजिक करिब ५० वटा गरिसकेँ होला तर मलाई विज्ञापनको कन्टेन्टले चिनायो,’ उनी आगामी योजना सुनाउँछन्, ‘अहिलेसम्म अडियन्सको माया र साथ पाएका छौं । यही माया पाए फिल्मसम्म पुग्न सकिन्छ भन्ने सोच छ । हाम्रो लक्ष्य यही नै छ । हेर्दै जाऊँ कहाँसम्म पुगिन्छ ?’

अहिले कथा क्रिएसन सर्ट फिल्म बनाउन र विभिन्न कम्पनीका लागि कन्टेन्ट बनाउन व्यस्त छ । कन्टेन्ट क्रिएटरबाट चिनिएको कथा क्रिएसनले सामाजिक मुद्दामा आधारित विषयलाई मनोरञ्जनात्मक तरिकाले दर्शकलाई पस्किरहेको छ ।

‘हाम्रो भिडियो परिवारसँग बसेर हेर्न मिल्छ,’ सम्राटले भने, ‘हाम्रोमा कुनै उत्ताउलो र कसैलाई होच्याउने विषय हुँदैन,’ विशेषगरी दर्शकले पनि गाउँले जीवनशैली र हाम्रै जीवनसँग मिल्दो भिडियो मन पराउने हुनाले त्यस किसिमको कन्टेन्ट बनाइरहको उनले सुनाए ।

टिममा भिन्न स्थानको फरक पात्रको मिश्रण भएकाले भिडियो राम्रो देखिएको सम्राट बताउँछन् । राम्रो कन्सेप्ट र बिजनेस आइडिया भए कन्टेन्ट बनाउन गाह्रो नहुने उनको अनुभव छ । कथा क्रिएसनको कन्टेन्ट लेख्ने र त्यसलाई निर्देशन गर्ने सम्राट कन्टेन्ट बनाउने ठाउँ हेरेर तत्कालै आइडिया आउने सुनाउँछन् ।

‘हामी सबै सहज तरिकाले काम गर्छौं । देशको चारैतिरका यो टिममा छौं । हामी सबैको भिन्न क्यारेक्टर छ । 'यही टिमलाई राम्रो बनाउने सोच छ । भोलिको दिनमा के हुन्छ, त्यो हेर्न बाँकी नै छ,’ उनी भन्छन् ।

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully