'राजनीतिलाई पेसा होइन, सेवा बनाउनुपर्छ'

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य रेणु चन्द २०६४ को संविधानसभा निर्वाचनमा बैतडीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । पछिल्लो पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि संसद्‌मा उनको ‘दोस्रो इनिङ्स’ सुरु भएको छ ।

‘पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुँदा संसदीय प्रक्रियाको अनुभव थिएन । यसपटक चाहिँ सकेसम्म राम्रो भूमिका निभाउनुपर्छ भन्ने महसुस भएको छ । त्यहीअनुसार गृहकार्य गरेकी छु,’ उनले कान्तिपुसँगको भिडियो कुराकानीमा भनिन् ।

२५ वर्षको उमेरमा संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् सिंहदबार प्रवेश गरेपछि उनले केही नौलो अनुभूति गरेकी थिइन् । 'त्यसबेला मुलुकमा संघीयता लागू भएको थिएन । एउटा सिंहदबारले शासन गरिरहेका थियो । २०७२ मा संविधान जारी भएपछि ७५३ वटा सिंहदबार गाउँगाउँमा स्थापित भएका छन् । गाउँका सिंहदबारले जनतासँग प्रत्यक्ष काम गरिरहेका छन्,' उनी भन्छिन् ।

विद्यालय र विश्वविद्यालय शिक्षा भारतमा लिए पनि उनी मुलुक बदल्ने सपना बोकेर माओवादीको सशस्त्र संघर्षमा सहभागी भएकी थिइन् । हतियारबद्ध संघर्षबाट राज्यसत्ता कब्जा गर्ने सपना बोकेर राजनीतिमा लागेकी उनमा पार्टी शान्ति प्रक्रियामा आइसकेपछि एउटा प्रश्न थियो- शान्तिपूर्ण राजनीतिबाट जनपक्षीय संविधान बन्ला कि नबन्ला ? 

पहिलो संविधानसभा असफल भए पनि दोस्रो संविधानसभाबाट कांग्रेस, एमाले र माओवादीले ‘वीन वीन’ अवस्थामा ‘समाजवाद उन्मुख’  संविधान लेख्न सफल भएको उनको बुझाइ छ । पुराना राजनीतिक दलको आन्दोलन, संघर्ष र त्यागबाट आएको राजनीतिक परिवर्तनलाई पछि धकेल्ने प्रयास भए पनि त्यो सम्भभव नभएको उनी बताउँछिन् । 

विशेषगरी लामो आन्दोलन र संघर्षबाट आएको राजनीतिक परिवर्तनबारे नयाँ पुस्ताले बुझ्नुपर्छ भन्छिन् उनी । ‘युवा पुस्तामाझ मिथ्या सूचना फैलाएर अहिलेको परिवर्तन केही होइन भन्ने स्थापित गर्न खोजिएको छ । त्यसलाई चिरेर अघि बढ्नुपर्छ,' उनले भनिन् ।

राजनीतिलाई पेसा बनाउनेहरुले ‘फोहोरी’ खेल खेलेको उल्लेख गर्दै उनले राजनीति विशुद्ध सेवा भएको बताइन् । 'राजनीतिज्ञले ताली र गाली खान तयार हुनुपर्छ,' उनी भन्छिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully