काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिका र रुसबीचको सम्बन्ध हालसम्मकै सुमधुर देखिएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा सोमबार अमेरिकाले रुसको पक्षमा मतदान गरेपछि युक्रेनसहित समग्र युरोपलाई झड्का लागेको छ । रुस–युक्रेन युद्ध सुरु भएयता अमेरिकाले पहिलो पटक रुसको पक्षमा मतदान गरेको हो । अमेरिकाको नयाँ कदमले युक्रेन युद्धमा ट्रम्प प्रशासनको अडान फेरिएको पुष्टि भएको छ ।
युक्रेनमाथि आक्रमणका लागि पूर्ण मात्रामा रुस जिम्मेवार भएको प्रस्तावका विरुद्धमा अमेरिकाले मतदान गरेको हो । रुस, इजरायल, उत्तर कोरिया, सुडान, बेलारुस, हंगेरीसहित १८ राष्ट्रले विपक्षमा मत दिए भने ६५ राष्ट्र मतदानमा अनुपस्थित रहे । सुरक्षा परिषद्का १९३ सदस्यमध्ये नेपालसहित ९३ राष्ट्रले समर्थन गरेपछि प्रस्ताव भने पारित भएको छ ।
जसका कारण दबाबमा परेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज तथा पुनर्निर्माण सम्झौताका लागि सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सहमतिमा हस्ताक्षर गर्न जेलेन्स्कीले यसै साता अमेरिकाको भ्रमण गर्ने भएका छन् ।