दिल्लीको मुख्यमन्त्री रेखा गुप्ताका चुनौती के हुन ?

फाल्गुन १२, २०८१

बुद्धिसागर मरासिनी

काठमाडौँ — बिहीबार दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी भारतीय जनता पार्टी (भाजपा) नेता रेखा गुप्तासामु चुनौतीहरु कम छैनन् । २०१४ यता केन्द्रमा लगातार सरकार चलाएको भाजपाले दिल्लीमा भने २७ वर्षपछि सरकार बनाएको छ । त्यसैले यो सरकारसामु यसअघिका मुख्यमन्त्री अरविन्द केजरीवालले हासिल गरेको लोकप्रियतालाई टक्कर दिनेगरी काम गर्नुपर्ने चुनौती छन् ।

पहिलो पटक विधानसभामा निर्वाचित रेखाले शपथ लिएसँगै ‘इमानदारी र निष्पक्षतापूर्वक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने’बताएकी छन् । ‘खासमा यो एउटा चमत्कार हो । यो नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने, यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ,’शपथपछि उनले भनेकी छन् । भाजपाले मुख्यमन्त्रीमा चयन गरेलगत्तै रेखाले ‘दिल्लीका प्रत्येक नागरिकको कल्याण, सशक्तीकरण र समग्र विकासका लागि इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने’बताएकी थिइन् ।

शपथपछिको भाषणमा पनि केजरीवाललाई लक्ष्य गर्दै रेखाले भनेकी छन्, ‘जो भ्रस्ट छ। उसले एक–एक रुपैयाँको हिसाब दिनुपर्छ ।’ दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो। उनी सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए । तर अदालतले कार्यालयमा फर्कन र निर्णय गर्न रोक लगाएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

रेखाको कार्यकाल कस्तो होला ? उनले चुनौतीहरुको सामना गर्दै आफुले गरेका चुनावी वाचा कसरी पुरा गर्लिन ? त्यो भने हेर्न बाँकी नै छ ।

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully