सार्वजनिक कार्यक्रममा खै दोभाषे ?

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेशसभाकी सदस्य सुनिता थापा संसद्‌मा होस् कि सार्वजनिक जीवनमा, एउटै समस्या बारम्बार भोगीरहन्छिन् । स्याङ्जा चापाकोटकी ३२ वर्षीया बहिरा समुदायकी यी सासंदसँग गुनासो छ, प्रदेश सरकार लगायतले आयोजना गर्ने कार्यक्रममा बहिरा नागरिकलाई निम्तो पठाइन्छ तर त्यस्ता कार्यक्रममा दोभाषे राखिन्न । उनले भनिन्, ‘यो त समावेशी भएन नि ।’

कान्तिपुरसँग भिडियो संवादका क्रममा उनले अचेल विभिन्न सरकारी कार्यक्रममा आफूसहित बहिरा समुदायका व्यक्तिलाई सहभागिताका लागि निम्तो आउने गरेकामा खुसी व्यक्त गरिन् । यस्ता कार्यक्रममा सांकेतिक दोभाषे नहुँदा कुरा बुझ्न र सिक्न नपाइने गरेको उनको भनाइ छ ।

कांग्रेसका तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व जनाइरहेकी उनले दोभाषेको अभावमा सिक्ने सिकाउने क्रम रोकिएको बताइन् । 

नेपालका अधिकांश राष्ट्रिय टेलिभिजन तथा अनलाइन टीभी सञ्चारमाध्यमले पनि दोभाषे नराखेकामा उनले दु:ख व्यक्त गरिन् । नेपालमा १५ प्रतिशत अपांगता भएका व्यक्ति भए पनि उनीहरुमाथि विभेद भएको र तिनका मुद्दाले प्राथमिकता नपाएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा अपांगतासम्बन्धी कानुन निर्माणको संयोजन गरिरहेकी उनले ह्विलचेयर प्रयोगकर्ताका लागि र्‍याप, बहिराका लागि दोभाषे, दृष्टिविहीनका लागि हिँडडुल गर्न सहज ट्याकटायल जस्ता आधारभूत कुराको कमी रहेको बताइन् । (विस्तृत भिडियोमा)

कान्तिपुर संवाददाता

Link copied successfully