दक्षिण सुडानमा शान्ति कायम गर्न नेपाली सेना के गर्दैछ ?

फाल्गुन ११, २०८१

विमल खतिवडा

दक्षिण सुडान — सन् २०११ मा अफ्रिकी मुलुक सुडानबाट विभाजन भएर नयाँ मुलुक बनेसँगै दक्षिण सुडानमा शान्ति छैन । यो अशान्तिका निम्ति आन्तरिक राजनीतिक किचलो मात्रै जिम्मेवार छैन, जातीय समूहका सशस्त्र गतिविधि पनि जिम्मेवार छ ।

त्यसैले त राज्य संयन्त्रको पकड पनि कमजोर बनेको छ । राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थित जातीय समूहहरु डिन्का र न्युरबीचको द्वन्द्वले देशको अवस्था दयनीय छ ।

यही अशान्ति र अस्थिरताका कारण स्थापना भएकै वर्ष देखि यहाँ राष्ट्रसंघले ‘अनमिस’ स्थापना गरेर शान्ति सैनिक परिचालन गर्दै आएको छ । दक्षिण सुडानको मिसनमा अहिले २० भन्दा बढी देशका सैनिक, प्रहरी र गैरसैनिक गरी १८ हजार १ सय ३४ जना कार्यरत छन्। जसमा नेपाली सेनाको उपस्थिति संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ । विभिन्न तीनवटा युनिटमा गरेर नेपाली सेनाका १७ सय ५६ जना शान्ति सैनिक यहाँ  खटिएका छन् ।

नेपाली सेनाका क्याप्टेन डाक्टर जस्मिन गुरुङ दक्षिण सुडानस्थित जुबामा अरिदमन गणमा १४ महिना काम गरेर हालैमात्र नेपाल फर्किइन् । उनले दक्षिण सुडानको फरक वातावरणमा काम गर्दा धेरै विषय सिक्ने, बुझ्ने मौका पाएको बताउँदै भनिन,  ‘दक्षिण सुडानमा मलेरिया, मंकिपक्सलगायत रोगको उच्च जोखिम छ । स्वास्थ्य सतर्कता अपनाउँदै हामीले काम गर्‍यौं । हामीले जानेका कतिपय कुरा स्थानीय समुदायलाई सिकायौं ।’

सैनिक शान्तिका रुपमा खटिनेहरु स्थानिय समुदायसंग नजिक भएर काम गर्दै आएका छन् । शान्ति सैनिकले खेलकुद, स्टेशनरी, सेनेटरीका सामान, अनाथ गृह मर्मत, फर्निचर, पानीको व्यवस्था गरिदिने गरेका छन् । जुबास्थित स्थानीय जेसीसी हाई नेगिल प्राथमिक विद्यालयका प्रधानाध्यापक फ्रान्सिस ओकुमुले नेपाली सेनाले समुदायसंग पनि नजिक भएर काम गर्दा खुशी लागेको सुनाए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully