के इलन मस्क अमेरिकामा शासन गर्न खोज्दैछन ?

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — इलन मस्क यतिबेला चर्चामा छन् । नहुन पनि किन, डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै तीन सातायता उनी सबैभन्दा बढी क्रियाशील देखिन्छन् ।

कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेसएक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक इलन यतिबेला ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज)’ को प्रमुखको रूपमा यति धेरै सक्रिय छन कि उनलाई कतिपयले छाँया राष्ट्रपति भन्न थालेका छन् ।

तर उनले आफूले अमेरिकी सरकारको नेतृत्व नगरेको बताएका छन् । अमेरिकाको संघीय सरकारको खर्च कटौतीको जिम्मेवारीसहित डज सम्हालेका मस्कले विभिन्न विवादास्पद निर्णयहरू लिइरहेका छन् । 

राष्ट्रपति ट्रम्पका निकट सहयोगी तथा विश्वकै धनी मस्क मंगलबार अप्त्यासित रूपमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा उपस्थित भए । ओभल अफिसमा उपस्थित भएका मस्क राष्ट्रपति ट्रम्पको छेउमा उभिएका थिए । त्यसक्रममा ट्रम्पले डजलाई थप अधिकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । 

नयाँ कार्यकारी आदेशले सरकारी निकायका प्रमुखहरूलाई डजका निर्णयक पालना गर्न निर्देशन दिएको छ । तर डजको गठन र कार्यशैलीका विषयमा विपक्षी दल डेमोक्रेटिकका नेताहरूले भने आलोचना गरेका छन् । उनीहरूले डजको पारदर्शिताका विषयमा पनि प्रश्न उठाएका छन् । 

सरकारी खर्च कटौती गर्ने भन्दै मस्क नेतृत्वको डजले सयौं संघीय अधिकारीहरूलाई बिदामा  राखेको छ । डजले सामाजिक सुरक्षा, मेडिकेयर ग्राहक भुक्तानी, लाखौं अमेरिकीको बैंक खातालगायत संवेदनशील जानकारीमा पहुँच पुर्‍याएको भन्दै विरोध पनि भइरहेको छ । मस्कले यूएसएआईडीलाई ‘आपराधिक संगठन’भन्दै यसलाई बन्द गर्ने निर्णय गरिसकेका छन् । ट्रम्प र मस्कको सहमतिपछि यूएसएआईडीका २७ सय कर्मचारीलाई बिदामा राखिएको छ ।

कान्तिपुर

Link copied successfully