काठमाडौँ — डेढ दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आएका सेफ घनश्याम कँडेलले सिस्नो, ढिँडोलगायत रैथाने नेपाली खान्की प्रवर्द्धन थालेका छन् । हालै काठमाडौंमा नेपाली स्वाद समेटिएको 'टिमुर' नामक पुस्तक सार्वजनिक गरेका सेफ कँडेलले जापान, संयुक्त राज्य अमेरिका, क्यानडालगायतका मुलुकमा खान्कीमा रुचि भएकाहरूका लागि नेपाली खानाको प्रचारप्रसार थालेको बताए ।
उनको पुस्तकमा नेपाली परिकारहरू विभिन्न मुलुकका खान्कीसँग ‘फ्युजन’ गरिएको छ । गुन्द्रुक टाको, सिस्नो र ढिँडोलाई ल्याब चप, सेकुवा बिटो, गार्लिक चिकेन मसला, नान पिज्जा र मेवालाई जापानी शैलीमा सलाद लगायतका परिकार उनले ‘फ्युजन’ गरेका हुन् । ‘स्थानीय सामग्री प्रयोग गरी प्रत्येक रैथाने खान्कीलाई सिर्जनात्मक र नवीनतम् स्वादमा बदल्ने प्रयास पुस्तकमार्फत गरेको छु,’ सेफ कँडेलेले भने ।
भारतको मोती महल डिलक्सबाट कँडेलले पाकशालामा प्रवेश गरेका थिए । १९९५ जनवरीदेखि किचन ट्रेनरका रूपमा त्यहाँ काम गरेका उनी ५ वर्षको अनुभवपछि नेपाल आएका थिए ।
७ वर्ष नेपालका विभिन्न रेस्टुराँमा नेपाली र भारतीय रेसिपीमा काम गरेपछि कँडेल २००७ मा जापान उडेका थिए । त्यहाँ पुगेपछि टोकियोमा उनले २०१० मा आफ्नै रेस्टुराँ थालेको बताए । जहाँ भारतीय र नेपाली परिकारलाई उनले प्राथमिकता दिएका थिए ।
नेपालीहरूले इतिहासदेखि के-कस्ता स्वादको निर्माण के-कस्ता मरमसला र सामग्रीको प्रयोग गर्दै आएका छन् भन्नेबारे खोजेर दोस्रो पुस्तक तयारीको काम पनि थालिरहेको उनले बताए ।