काठमाडौँ — नुवाकोटको तारकेश्वर गाउँपालिका–५ को बिर्ता–व्यथा बेग्लै छ । किनकी यहाँका ७ सय ५ घरधुरीमध्ये करिब ६ सय परिवार त बिर्तापीडित नै छन् । यस वडाका खड्क भन्ज्याङ, गोर्स्याङ, दाङसिङ, कालीमाटी, छापदाङ, रातमाटो, चौघडा, दुई पीपललगायतका क्षेत्रमा मोहियानी हक प्रमाणपत्रसहितका बिर्तापीडित बढी छन् ।
बुढ्यौली उमेरमा पनि रणबहादुर तामाङलाई बिर्ताको दु:खले छाडेको छैन् । त्यसैले त उनी दिवंगत पिता–हजुरबाले छाडिगएको नासो (बिर्तावालालाई कुत तिरेको रसिद, मोहियानी हक प्रमाणपत्र) को पोको बोकी हिँड्छन् । उनका थुप्रै पुर्खाले बिर्तावाललाई तिरेको तिरोको रसिद, मोहियानी हकको प्रमाणपत्र जुन च्यातिएको थियो तर चिर्कटो नै सही, त्यो पुस्तौंदेखि उनले जोगाएर राखेका छन् । यस वडाका पूर्वअध्यक्ष चूडामणिप्रसाद गजुरेलका अनुसार भन्छन, ‘२०१६ सालमा बिर्ता उन्मूलन भएको खबर हाम्रो गाउँसम्म आएनछ, हाम्रा बाबुबाजेलाई यो कुरै थाहा भएनछ । थाहा भइदिएको भए हामीले दुःख पाउनुपर्ने अवस्था सायद आउँदैनथ्यो ।’
तारकेश्वर–५, छापदाङका माइतसिंह तामाङ (८१) का नाममा पनि लालपुर्जा छैन । उनले सुनाए‘हाम्रो बिर्तावाल काठमाडौं वसन्तपुरमा बस्थे। म आफैं बिर्तावालको घरमा कुत पुर्याउन २०२० सालसम्म गएँ । पछि कुत तिर्न छोड्यौं तर आफ्नै पसिना परेको जग्गा हाम्रो भएन । हामीमाथि अन्याय भएको छ।’ तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल पनि किसानको पीडाले औधी दुःखी छन् । ‘बिर्ता समस्या समाधान होस् भनेर धेरै कोसिस गरिरहेका छौं,’ उनी भन्छन्, ‘हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई पनि सिंहदरबारमै पुगेर भेट्यौं । सहयोग गर्न अनुरोध गर्यौं तर समाधानको प्रक्रियामा अघि बढेको छैन।’ उनले आफुहरुले चुनावताका यो समस्या समाधान गर्न पहल लिन्छौं भनेर प्रतिबद्धता गरेपनि केही काम नभएको बताए । भने‘सबै दलका नेता हुन्छ भन्छन् तर लिखित प्रतिबद्धता जनाएरै समाधानको उपाय खोज्नुपर्छ भन्ने लाग्छ । यो समस्या समाधान माथिल्लो निकायबाटै हुनुपर्छ । नेतृत्वलाई राम्रोसँग बुझाउनै नसकेको हो कि ?’