काठमाडौँ — सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहस गरेलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध गत बुधबार सांघातिक हमला भयो ।
यसको विरोधमा देशैभरका बार संगठन तथा अन्य पेशागत संघ संस्थाले भर्त्सना गरेका छन् । आइतबार सर्वोच्च बारले एक घण्टा कालोपट्टी बाँधेर घटनाको निन्दा गर्दै पीडकलाई कारबाहीको माग गर्यो । पीडितको पक्षमा सदा सर्वदा उभिएर इजलाशमा बहस गर्दै आएका त्रिपाठी कोटकचरहीमा अक्सर एक्लै हिँडिरहेका भेटिन्छन् । वरिष्ठ भएपछि एउटा समूहको नेतृत्व गर्दै ठूलो आकारमा व्यवसाय चलाउने आम प्रचलनभन्दा पृथक् त्रिपाठी आफ्नो फर्ममा एक्ला कानुन व्यवसायी हुन् जो मुद्दाको अनुसन्धानदेखि बहस नोटसम्मको काममा एक्लै नै खटिन्छन् । उनी एक्लैले शाहीकालमा गैरकानुनी रुपले थुनामा परेका ३५० भन्दा बढीलाई बन्दी प्रत्यक्षीकरणको रिट जारी गराएर छुटाएका थिए ।
जिउँदै इँटा भट्टामा मानिस जलाउने अफ्ताब आलमदेखि जातीय नरसंहार गर्ने चौर जहारी घटनाका दोषीहरुसम्मको विरोधमा मुद्दा लड्न उनी एक्लै ती अदालतहरुमा धाएका थिए । यसरी, ‘वान म्यान मिसन’को पर्यायजस्तो भएका त्रिपाठी बुधबार बहस सकेर सदाझैं एक्लै अदालतबाहिर निक्लँदा अराजक भीडको हमलामा परे । बहस गरेकै भरमा कुटिएका यी एक्ला अधिवक्ताको पक्षमा सारा समाज, पेशागत संस्था र देश विदेशका नागरिक एक भएर उभिए । अनि, उनलाई ढाढस दिँदै र घटनाको निन्दा गर्दै अनगिन्ती मानिसले फोन गरे । न्यायका पक्षमा देखिएको यतिधेरै साथ र समर्थनले उनलाई अहिले लागिरहेको छ– म एक्लो रहेनछु ।