अब लो–भिजिबिलिटी र राति पनि राजविराजमा उडान हुने

पाइलटलाई दृश्यमा सघाउने १३ करोडको उपकरण जडान

पुस २, २०८१

सुरज कुँवर

काठमाडौँ — पाइलटलाई दृश्यमा सघाउने १३ करोड रुपैयाँको उपकरण जडान भएसँगै अब राजविराज विमानस्थलमा खराब मौसम र रात्रिकालीन समयमा पनि जहाज उडान–अवतरण गराउन मिल्ने भएको छ ।

राजविराजमा यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी हुँदा मात्रै उडान हुने गरेको थियो । २ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा खराब मौसम अनि रात्रिकालीन समयमा उडान गराउन जहाजलाई आवश्यक पर्ने दृश्यात्मक उपकरणहरू (भिजिवल एड) जडान थालेको थियो । सबै उपकरण जडान भएपछि शुक्रबार काठमाडौंबाट नियमित उडानमा जनकपुर पुगेको बुद्ध एयरको एटीआर विमानले त्यहाँबाट राजविराज पुगेर ती उपकरण तथा प्रणालीको सटीकताको परीक्षण गरेको थियो ।

जनकपुरबाट बुद्ध एयरको खाली एटीआर–७२ विमान लिएर गएका प्रशिक्षक पाइलट मनोज केसी र क्याप्टेन सिद्धार्थबहादुर सिंहले परीक्षण उडान गरेर प्राविधिक प्रतिवेदन बुझाएपछि सोमबार रातिदेखि राजविराज विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिने भएको हो । रात्रिकालीन उडान गर्न सकिने यो नेपालको १० औं विमानस्थल भएको छ । कठिन मौसम र कम दृश्य (भिजिबिलिटी) मा जहाजलाई सघाउने भिजुअल एडको कन्ट्रोल सिस्टम विमानस्थलको टावरमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सोमबार स्विच थिचेर उद्घाटन गरेका थिए ।

रात्रिकालीन उडान सुविधा यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, विराटनगर र चन्द्रगढीमा थियो । प्राधिकरणका निर्देशक सुनीलकुमार कुशवाहका अनुसार १३ करोड ६० लाख रुपैयाँ लागतमा बेल्जियमबाट राजविराज विमानस्थलकै लागि डिजाइन गरिएका धावनमार्गको किनारा संकेत गर्ने रनवे एज लाइट, धावनमार्ग र एप्रोन जोड्ने ट्याक्सी–वे लाइट, जहाजलाई अवतरणमा संकेत गर्ने थ्रेसहोल्ड लाइट जडान गरिएको छ । यस्तै, इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टमअन्तर्गत रिक्वाइर्ड न्याभिगेसन पर्फर्मेन्स भूउपग्रहमा आधारित अप्रोच प्रणालीलाई सघाउने ‘प्रिसिजन एप्रोच पाथ इन्डिकेटर’ लाइट जडान भएका छन् ।

भिजिबिलिटी घट्दा उडान नहुने चिन्ता हटेपछि जिल्लामा पर्यटकको आगमन बढ्ने पर्यटनमन्त्री पाण्डेले बताए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अब सुर्खेतमा पनि भिजुअल एड प्रणाली जडान हुन लागेको जानकारी दिए । राजविराजमा जडित उपकरणबाट न्यूनतम २ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा पनि जहाज अवतरण गर्न सकिने उनले बताए ।

२०१६ सालमा स्थापना भएको राजविराज विमानस्थलमा ०५२ सालपछि उडान नियमित हुन सकेको थिएन । प्राधिकरणले रात्रिकालीन उडानमा सघाउने प्रणाली जडान गर्नुअघि ३० करोड हाराहारी थप लगानी गरेर कच्ची धावनमार्गको सुधार गर्दै १५ सय मिटर लामो धावनमार्ग पक्की बनाउनेदेखि एप्रोन, ट्याक्सीवे, टर्मिनल भवनलगायतका सुविधा थपेको थियो । त्यसपछि काठमाडौं ओहोरदोहोर गर्न जनकपुर र विराटनगर आउजाउ गर्ने यात्रुहरू यो विमानस्थल हुँदै उड्न थालेका थिए ।

पूर्वाधार विस्तारपछि ०७५ असारदेखि राजविराजमा श्री एयरलाइन्सले सीआरजे विमानबाट उडान सुरु गरेको थियो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अहिले यहाँ बुद्ध एयरले दैनिक एउटा उडान गर्दै आएको छ । बुद्धले नै अब रात्रिकालीन दोस्रो उडान गर्ने योजना छ । हिउँदयाममा कम भिजिबिलिटीका कारण उडान डिले हुने र रद्द हुने समस्याबाट मुक्त भएसँगै राजविराज विमानस्थल हुँदै कोशीटप्पु, चतरा, छिन्नमस्तालगायत पर्यटकीय क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा रहेको जनमत पार्टीका अध्यक्ष एवं सप्तरी–२ का सांसद सीके राउतले बताए ।

सुरज

Link copied successfully