पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित हुँदै छु : कांग्रेस महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित हुँदै छु : कांग्रेस महामन्त्री थापा

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि संसदीय दलको नेता चयनको निर्वाचनमा लाग्ने बताए । उनले मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

‘मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ । केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ । हाम्रो कानुनमा मन्त्रिपरिषद्‌भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । तर, संसद्‌मा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अब १/२ जनाभन्दा बढी पुरुषहरु पर्दैनन् तर मन्त्रिपरिषद्‌मा कानुनी व्यवस्था नभएकाले मुस्किलले एक जना महिला समावेश हुने गरेका छन्, ' उनले भने, 'अब संसद्‌मा र मन्त्रिपरिषद्‌मा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनै पर्छ ।’

उनले थपे, 'प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रिपरिषद् बन्छ । माघबाटै सो कानुन बनाउने काम लागौं ।'

महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्‍याए । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि घरघरमै अभियान संचालन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १४, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?