कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना सुरु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् ।

‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्ले-कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ । सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन् ।

प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ । नेता कोइरालासहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरू भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन् । दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

पासाङ ल्हामु मार्गको बनुवा घुम्ती नजिकै सवारी साधन फस्ने समस्या बढ्दै

बलराम घिमिरे

रसुवा — रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्ती नजिकै पासाङ ल्हामु मार्गमा दिनहुँ सवारी साधन फस्ने समस्या बढेको छ । पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङ ल्हामु मार्ग पुन: सञ्चालनमा आए पनि उक्त स्थानमा सवारी साधन फस्ने समस्या देखापरेको हो ।

सडक निर्माण गरिएको स्थानमा हिलो भएको कारण सडक भासिँदा सवारी साधन फस्ने गरेको हो । दिनहुँ सवारी साधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा सवारी फस्दा चीनबाट आयात भएका सामग्री राजधानी लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन तथा चाडबाडको समयमा खाद्य सामग्री ढुवानी गर्न समस्या भएको छ ।


अवरुद्ध सडक खुलाउन हिलोमा फसेका सवारी साधनललाई यात्रु तथा चालकहरूले धकेल्ने र डोरीले तानेर निकाल्ने गर्दै आएका छन् । सडक निर्माण भए पनि राम्रोसँग ग्राभेल हुन नसकेको भन्दै यात्रु र चालकहरू आक्रोशित भएका छन् ।

उक्त स्थानमा गत साउन २४ गते रातिको अविरल वर्षाले पहिरो जाँदा सडकमा क्षति पुगेको थियो । पहिरोले उत्तरगया गाउँपालिका-५ नौबिसे र बनुवा घुम्तीमा रहेका घरहरू जोखिममा परेका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×