निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आले- के दाँत फुकालेर निर्माण गर्ने ?

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा २६ करोडमात्र बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मालगायत मन्त्रीलाई निजगढ एयरपोर्ट बन्छ भनेर अभिव्यक्ति नदिन पनि मन्त्री आलेले आग्रह गरेका छन् ।

निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आले- के दाँत फुकालेर निर्माण गर्ने ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको आइतबार शिलान्यस गर्दै मन्त्री आलेले अर्थ मन्त्रालयले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा कम रकम छुट्याएको भन्दै आपत्ति जनाएका हुन् । 'आज कतिपय मन्त्री साथीहरूले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?,' उनले भने, 'बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ?' २६ करोड विनयोजन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन्छ भनेर अभिव्यक्ति नदिन उनले सुझाव दिएका हुन् ।

मन्त्री आलेले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भनेर पनि प्रश्न गरेका छन् । विमानस्थल निर्माणमा ३ अर्ब र फास्ट्र्याकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

‘आज न्यायपालिकाले कार्यपालिकमाथि हमला गरेको अवस्था छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा २० औँ वर्ष लगाएर मास्टर प्लान तयार भइसकेको छ । ८ हजार ५० हेक्टर जग्गा विमानस्थलको नाममा आइसकेको छ । त्यसको डीपीआर हुने अवस्थामा छ । त्यसको ईआईए भइसकेको छ तर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अवस्था छ,' उनले भने, 'विमानस्थल कहाँ बनाउने भनेर निर्णय गर्ने नागरिक उड्डयन प्राधिकरणले हो तर दुर्भाग्य यो अदालतले तोकिराखेको छ । कसले अधिकार दियो ?'

टेन्डर निकाल्ने अवस्थामा आउँदा न्यायपालिकाले निजगढमा विमानस्थल निर्माण नगर्न भनेर दिएको फैसलाले आफूलाई दुःख लागेको उनको भनाइ छ । 'मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले । मधेसलाई राजधानीसँग जोड्न नचाहने ? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २९, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?