काठमाडौँ — कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् । आइतबार नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताएका हुन् ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्यौट बढेको बताए । उनले आफू नेतृत्वमा आउँदा मुद्दाको फर्स्यौट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए । उल्लेख्य मात्रामा पुराना मुद्दाहरूको फैसला भएको उनको भनाइ थियो ।
‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, विकृति, विसंगति बेहोर्यौं, भोग्यौं । त्यो सुधार गर्नको निमित्त कानुन व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिबद्धताको साथ अहिले हामी आएका छौं,' उनले भने, 'म प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रुपमा अगाडि बढाउनुपर्छ भन्ने कुरामा म फेरिपनि त्यो कुरा राख्न चाहन्छु । मैले आफूले नेतृत्व लिदाँखेरी हाम्रो सर्वोच्च अदालतको मुद्दाको फर्स्यौट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजो सम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएका छन् । विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासो छन् । धेरै मुद्दा फर्स्यौट हुन सकेनन् । पुराना मुद्दा धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’
कायममुकायम प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए । उनले अटोमेसनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेसनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने, ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेसनमा जाने हो र अटोमेसनमा नजाँदासम्म, अटोमेसनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेसनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फूलकोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेसन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’
अटोमेसनमा जानका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने कायममुकायम प्रधानन्यायाधीश कार्कीले विश्वास व्यक्त गरेका छन् ।