कटिया बनाउने तरिका

माघ १२, २०७७

दिपेन्द्र रोक्का

काठमाडौँ — कटिया माटोको भाँडामा पकाइने खसीको मासुको विशेष परिकार हो  । मासुका पारखीमाझ कटिया लोकप्रिय छ । कटिया नेपालको रौतहटको रैथाने परिकार हो  । रौतहटको कटहरिया बजार यसको उद्गमस्थल मानिन्छ । पानीको मिश्रण नहुने र माटोको भाँडामा पाक्ने भएकाले पनि यसको स्वाद विशेष हुने गर्दछ ।

३०० ग्राम कटिया बनाउनका लागि सबैभन्दा पहिले विशेष खालको माटोको भाँडा आवश्यक पर्दछ  ।सफा गरिएको भाँडामा १०० ग्राम जति प्याज हालिन्छ । यससँगै लसुन १० पोटी, सुकेको खुर्सानी दुईवटा, जिरा, बेसार, नुन र तोरीको तेल माटोको भाँडामा हालिन्छ । 

अब यस भाँडामा १२/१३ टुक्रा खसीको मासु माथिबाट राखिन्छ र त्यस भाँडालाई आधा घन्टाजति कोइलाको आगोको भुङ्ग्रोमा पकाइन्छ । अब प्याज पाकिसकेपछि यसमा १२/१३ थरीका गरम मसला मिसाइन्छ र टिमुर हालेर पुन: १५ /२० मिनेट आगोमा  पकाइन्छ । यति गरेपछि कटिया तयार हुन्छ । कटिया जुनै मौसममा जुनसुकै परिकारसँग खान सकिन्छ ।

दिपेन्द्र

Link copied successfully