अमेरिकी नागरिकलाई लक्षित साइबर अपराध, अनलाइन ठगी र सेक्सटर्सनमा संलग्न व्यक्ति तथा तिनका परिवार सदस्यमाथि अमेरिकाले नयाँ भिसा नीति लागू गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
काठमाडौँ — साइबर अपराध, अनलाइन ठगी, सेक्सटर्सनजस्ता गतिविधिमा संलग्न व्यक्ती र तिनका परिवारलाई समेत अमेरिकाले भिसा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी नागरिकलाई लक्षित गर्दै बढिरहेका यस्ता अपराधमा संलग्न सञ्जाललाई कमजोर बनाउने उद्देश्यले नयाँ भिसा नीति ल्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री मार्को रुबियोले अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐनको दफा २१२ (ए)(३) (सी) मा समावेस नयाँ प्रावधान साइबर अपराधमा संलग्न व्यक्तिका निकट परिवारका सदस्यलाई समेत लागू हुने बताएका छन् । साइबर ठगीमा संलग्न र विशेषगरी चीनसँग जोडिएका आपराधिक समूहले सन् २०२४ मा मात्रै अमेरिकी नागरिकबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी हडपेको रूबियोको दाबी छ ।
‘संयुक्त राज्य अमेरिका आफ्ना नागरिकलाई निशाना बनाउनेका लागि सुरक्षित आश्रयस्थल बन्ने छैन,’ रुबियोले वक्तव्यमा भनेका छन्, ‘हाम्रा गरिकलाई दुःख दिनेलाई अमेरिकाले यत्तिकै छोड्नेछैन भन्ने स्पष्ट सन्देश दिएका छौँ । अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा प्रतिबन्ध, फौजदारी अभियोजन, सम्पत्ति जफत, सुपर्दगी आग्रहसहित उपलब्ध सबै उपाय प्रयोग गरेर यस्ता सञ्जाललाई निरुत्साहित र ध्वस्त पार्ने हाम्रो नीति छ ।’
अमेरिकी राष्ट्रिय सुरक्षा र सर्वसाधारणका लागि साइबर अपराध अभूतपूर्व खतरा बनेको रुबियोले बताएका छन् । उनका अनुसार यस्ता आपराधिक समूहले सीमापार सञ्जाल बनाएर साइबर ठगी, सेक्सटर्सन, फिसिङ, र्यान्समवेयर तथा अन्य साइबरमार्फत हुने अपराध सञ्चालन गरिरहेका छन् ।
