ट्रम्पले वाल स्ट्रिटका कम्पनीलाई आफ्नो ट्रुथ सोसल पोस्टको विशेष पहुँच बेच्दै, नयाँ सब्स्क्रिप्सन मोडेलमार्फत आर्थिक बजारमा हलचल ल्याउने तयारी गरेका छन् ।
What you should know
काठमाडौँ —
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका पोस्ट अब उनको मिडिया कम्पनीले वाल स्ट्रिटका वित्तीय कम्पनीहरूलाई बेच्ने तयारी गरेको छ । ट्रम्पका पोस्टमा छिटो र एक्सक्लुसिभ पहुँच दिनेगरी नयाँ सब्स्क्रिप्सन मोडेल शुरु गर्न लागिएको हो ।
ट्रम्पका अभिव्यक्तिले वित्तीय बजारमा प्रभाव पार्ने भएकाले केही मिलिसेकेन्डको अग्रता पनि मूल्यवान् हुने उनको कम्पनी, ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) को दाबी छ । रोयटर्सका अनुसार टीएमटीजीले अगस्ट १ देखि ‘ट्रुथ एपीआई’ नामक डेटा फिड सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसमार्फत बैँक, हेज फन्ड र अल्गोरिदमिक ट्रेडिङ कम्पनीले ट्रम्पको ट्रुथ सोसल खातासहित अन्य ९ प्रभावशाली खाताका पोस्टमा पहुँच प्राप्त गर्नेछन् ।
रोयटर्ससँग कुरा गरेका एक स्रोतका अनुसार कम्पनीले यो सेवाका लागि मासिक १ लाख अमेरिकी डलरसम्म शुल्क प्रस्ताव गरेको छ । तीन वर्षको सम्झौता गर्ने ग्राहकका लागि मासिक ६० हजार डलर शुल्क तोकिएको छ । यस सेवामार्फत ग्राहकले चौबीसै घण्टा पोस्टमा पहुँच, सन् २०२२ यताका पोस्टको अभिलेख र सामान्य पुस नोटिफिकेसनभन्दा छिटो अपडेट पाउनेछन् ।
टीएमटीजीले सेवा सार्वजनिक हुनुअघि नै केही ग्राहकसँग सम्झौता भइसकेको दाबी गरेको छ । ट्रुथ सोसलले आफ्ना प्रयोगकर्ताको आधिकारिक संख्या सार्वजनिक गरेको छैन । ‘ट्रुथ सोसलका पोस्टले बजारलाई प्रभावित पार्दै आएको छ,’ टीएमटीजीका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत केभिन म्याकगर्नले भनेका छन्, ‘ट्रुथ एपीआईले ट्रुथ सोसलका पोस्टमा प्रत्यक्ष र रियल-टाइम पहुँच दिन्छ ।’
यो योजनाप्रति अमेरिकी डेमोक्र्याट सांसदहरूले आलोचना गरेका छन्। ‘राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जाल पोस्टमा आम लगानीकर्ताभन्दा पहिले पहुँच दिएर वाल स्ट्रिटका व्यापारीलाई त्यसबाट नाफा कमाउने अवसर बेचिरहेका छन्,’ सिनेटर रोन वाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सिनेटर एलिजाबेथ वारेनले पनि यस व्यवस्थामाथि थप छानबिन हुनुपर्ने बताएकी छन् ।
रोयटर्सका अनुसार कानुनी विज्ञहरूले सार्वजनिक रूपमा प्रकाशित हुने सूचनामा तहगत पहुँच (टियर्ड एक्सेस) दिनु हालको अमेरिकी धितोपत्र कानुनअनुसार सामान्यतः वैध हुने बताएका छन् । तर, नैतिकता रूपमा भने पदासीन राष्ट्रपतिका बजारमा प्रभाव पार्ने अभिव्यक्तिलाई व्यावसायिक उत्पादन बनाइनु उपयुक्त हो वा होइन भन्ने प्रश्न उठेका छन् ।
