डेटा सेन्टरविरुद्ध किन भइरहेको छ अमेरिकाभर विरोध ?

डेटा सेन्टरले विद्युत्, पानी र कृषियोग्य भूमि दोहन गरेको भन्दै अमेरिकाका १४ भन्दा बढी राज्यका बासिन्दाले प्रदर्शन थालेका हुन्, आज देशव्यापी आन्दोलनको आह्वान गरिएको छ ।

श्रावण २, २०८३

सजना बराल

Why are there protests against data centers across America?

What you should know

काठमाडौँ — अमेरिकाका विभिन्न राज्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि निर्माण भइरहेका डेटा सेन्टरविरुद्ध जनस्तरमा तीव्र विरोध देखिएको छ । पछिल्लो समय प्रविधि कम्पनीहरूले सहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतिर डेटा सेन्टर विस्तार गर्न थालेपछि कतिपय स्थानीय बासिन्दाले आफ्ना प्राकृतिक स्रोत जोगाउन प्रदशर्न नै गरेका छन् । 

युटाह, मिसौरी, जर्जिया, ओहायो, इन्डियाना, ओरेगनलगायत अमेरिकाका दर्जनौँ राज्यमा डेटा सेन्टरविरुद्ध विरोधका स्वर फैलिएको देखिन्छ । आज (जुलाई १८) मा अमेरिकामा देशव्यापी आन्दोलनको आह्वान गरिएको छ ।

Why are there protests against data centers across America?

विशेषगरी विद्युत् महसुलमा हुने वृद्धि, कृषियोग्य भूमिको विनाश र पानीको अत्यधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ । फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षणका अनुसार हाल ७१ प्रतिशत अमेरिकीहरू आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षमा छन् । ‘सर्वेक्षणले कतिसम्म देखाएको छ भने स्थानीयहरूले आफ्नो घरनजिक डेटा सेन्टर बनाउने कुरामा आणविक ऊर्जा केन्द्र बनाउनेभन्दा ठूलो विरोध गरिरहेका छन्,’ फोर्ब्सले लेखेको छ, ‘यसअघि सबैभन्दा ठूलो विरोध आणविक प्रविधिलाई लिएर हुँदै आएकामा त्यो अहिले उल्टिएको छ ।’ 

युटाहको बक्स एल्डर काउन्टीमा म्यानह्याटन सहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागिएको भन्दै स्थानीयले कडा प्रतिवाद गरेका छन् । त्यहाँ शार्क ट्यांकका सेलेब्रिटी लगानीकर्ता केभिन ओ लियरीले युटाहको सैन्य पूर्वाधार विकास प्राधिकरणसँग मिलेर ‘स्ट्राटस प्रोजेक्ट’ नामक डेटा सेन्टर तथा इनर्जी क्याम्पस खडा गर्न खोजका छन् । यो डेटा सेन्टर ४० हजार एकड अर्थात् करिब १६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने बक्स एल्डर काउन्टीको वेबसाइटमा भनिएको छ ।

अघिल्लो महिना मात्रै यस परियोजनाका विषयमा सार्वजनिक सुनुवाइ हुँदा हलबाहिर सयौं स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए । विरोध चर्किएपछि काउन्टीका आयुक्त मञ्च छोडेर गोप्य कोठामा गई लाइभस्ट्रिममार्फत परियोजना स्वीकृत गराएका थिए ।

Why are there protests against data centers across America? 

मिसौरीको फेस्टस र जेफरसन काउन्टीमा पनि ६ अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित जनताले सहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार छ । चुनावमा प्रतिस्पर्धा गरेका चारैजना नगरपरिषद् सदस्य पराजित भएका थिए । ‘डेटा सेन्टर आयोजनाले स्थानीयको विद्युत् महसुल बढाउने, पानीको संकट निम्त्याउने र समुदायमा नकारात्मक प्रभाव पार्ने कुरा आफूहरूले बारम्बार सुनाउँदा पनि प्रशासनले वास्ता नगरेको स्थानीयको गुनासो छ,’ समाचारमा भनिएको छ, ‘स्थानीयले वेक अप जेफको नामक समूह गठन गरेर काउन्टी र कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।’

जर्जियामा मेटा कम्पनीको डेटा सेन्टर बनेपछि खानेपानीको गुणस्तर बिग्रिएको र रङ परिवर्तन भएको भन्दै विरोध चर्किएको छ । टेक्सस र एरिजोनामा पनि पनि यस्तै किसिमका प्रदर्शन भइरहेका छन् । ओहायोमा २५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने डेटा सेन्टर निर्माणमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्तावसहित संविधान संशोधनको माग सुनिएको छ । त्यहाँ ओपेनएआई र माइक्रोसफ्टले डेटा सेन्टर निर्माणका लागि लगानी गर्ने घोषणा गरेका छन् ।

स्थानीय बासिन्दाले डेटा सेन्टरहरूलाई ‘स्रोत सोस्ने राक्षस’ का रूपमा चित्रण गर्न थालेका छन् । यी केन्द्रहरूले अत्यधिक बिजुली खपत गर्ने भएकाले सर्वसाधारणले तिर्ने महसुल बढ्ने उनीहरूको चिन्ता छ । युटाहको एउटै परियोजनाले पूरै राज्यको भन्दा बढी बिजुली खपत गर्ने अनुमान गरिएको छ । डेटा सेन्टरका सर्भर चिसो पार्न प्रयोग हुने अर्बौं ग्यालन पानीले गर्दा खडेरीको जोखिम बढेको र कृषि भूमि घटेकोमा किसानहरू चिन्तित छन् । डेटा सेन्टरबाट निस्कने निरन्तरको आवाज (ध्वनि प्रदूषण) ले गर्दा जनजीवन र घरको मूल्यमा समेत असर परेको स्थानीयको दाबी छ ।

Why are there protests against data centers across America?

 

यो विवाद स्थानीय तहमा मात्र सीमित छैन, अमेरिकी संसद् (कंग्रेस) सम्म पुगिसकेको छ । सिनेटर बर्नी स्यान्डर्सले डेटा सेन्टरको निर्माणमा तत्काल रोक लगाउन माग गर्दै संसद्मा विधेयक नै दर्ता गराएका छन् । त्यस्तै, तल्लो सदनकी सदस्य अलेक्जान्ड्रिया ओकासियो कर्टेज (एओसी)ले डेटा सेन्टरका कारण दूषित भएको पानीको नमूना नै संसद्मा प्रस्तुत गरेकी छिन् । ‘यी विशाल डेटा सेन्टरहरू सञ्चालन गर्न र तिनलाई चिसो राख्न अत्यधिक मात्रामा पानीको आवश्यकता पर्छ, यसले गर्दा स्थानीय बासिन्दाहरूको पिउने पानीको स्रोतमा असर परिरहेको छ र पानी प्रदूषित भइरहेको छ,’ उनले संसद्मा भनेकी छन्, ‘प्रविधिको प्रगति हुनु राम्रो कुरा हो तर यो स्थानीय समुदायको जनस्वास्थ्य, प्राकृतिक स्रोत र स्वच्छ वातावरणको मूल्यमा हुनु हुँदैन। 

अमेरिकाका करिब १४ राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानुन र प्रतिबन्धहरू ल्याउने तयारी भइरहेको छ । टेक्ससका कृषि आयुक्त सिड मिलरले समेत यस क्षेत्रमा तत्काल कुनै नियमन नभएको भन्दै आपत्ति जनाएका छन् ।

Why are there protests against data centers across America?

  

प्रविधि कम्पनीहरूले भने डेटा सेन्टरलाई आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् । ‘ओपन एआई’ का प्रमुख साम अल्टम्यानले भविष्यमा डेटा सेन्टरहरूले क्यान्सरको उपचार खोज्नेदेखि शिक्षामा क्रान्ति ल्याउनेसम्मका दाबी गरेका छन् । कम्पनीहरूले यसबाट हजारौँ रोजगारी सिर्जना हुने र अर्थतन्त्र बलियो हुने तर्क अघि सारेका छन् । मिसिगनको सलाइन टाउनसिपमा ‘द बार्न’ नामक नयाँ डेटा सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै अल्टम्यानले भनेका थिए, ‘यो ठाउँ (द बार्न डेटा सेन्टर) ट्युटरिङ गर्ने केन्द्र बन्न सक्छ,  एआईको क्षमता र यो डेटा सेन्टरको शक्तिले भविष्यमा क्यान्सरजस्ता गम्भीर रोगको उपचार पत्ता लगाउनसमेत मद्दत पुर्‍याउन सक्छ ।’

तर, विज्ञहरू भने यसलाई कम्पनीहरूको अतिरञ्जित दाबी मान्छन् । ऊर्जा विज्ञ रोबर्ट ब्राइसका अनुसार सन् २०२४ मा ९ वटा डेटा सेन्टर परियोजना रोकिएका थिए भने सन् २०२६ को पहिलो ६ महिनामै १०७ वटा त्यस्ता परियोजनामाथि प्रतिबन्ध वा अवरोध सिर्जना भइसकेको छ । विज्ञहरूका अनुसार यो विरोध वातावरणीय मुद्दा मात्र नभएर प्रविधि कम्पनीविरुद्धकै विद्रोह हो । मानिसहरूले अनलाइनमा ठूला प्रविधि कम्पनीसँग लड्न नसके पनि स्थानीय तहमा उनीहरूको भौतिक संरचना रोकेर आफ्नो आक्रोश पोखिरहेका छन् । 

Why are there protests against data centers across America?

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully