विश्व एआई सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले विशेष सम्बोधन गर्ने

चीनको परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले एआईको विश्वव्यापी नियमनसम्बन्धी उच्चस्तरीय बैठकमा चीनको आधिकारिक नीति, अडान र नयाँ प्रस्तावहरू प्रस्तुत गर्नेछन् । 

असार ३०, २०८३

एजेन्सी

Chinese President Xi to deliver special address at World AI Conference

काठमाडौँ — यसै शुक्रबार सांघाईमा शुरू हुने विश्व एआई सम्मेलन (डब्लुएआईसी) २०२६ को उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गर्ने भएका छन् । सन् २०१८ मा सम्मेलन शुरू भएयता सीले पहिलोपटक भौतिक रूपमा उपस्थित भई किनोट स्पिच दिन लागेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । यसअघिका सम्मेलनहरूमा उनले शुभकामना सन्देश मात्र पठाउने गरेका थिए भने उद्घाटनको जिम्मेवारी प्रधानमन्त्री ली छ्याङले सम्हाल्दै आएका थिए ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आफूले हासिल गरेका उपलब्धि प्रदर्शन गर्न र विश्वकै सबैभन्दा रणनीतिक प्रविधिमध्ये एकमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने आफ्नो महत्त्वाकांक्षालाई थप मजबुत बनाउन चीनले विश्वव्यापी एआई सम्मेलन आयोजना गर्ने तयारीलाइ अन्तिम चरणमा पुर्‍याएको छ । सम्मेलनका क्रममा चीनले आफ्नै नेतृत्वमा ‘विश्व एआई सहयोग संगठन’ स्थापना गर्ने प्रस्तावलाई थप मूर्त रूप दिने सम्भावना रहेको स्थानीय सञ्चार माध्यमले औँल्याएका छन् ।  

बेइजिङले एआईमा आक्रामक लगानी बढाइरहेको, स्वदेशी एआई मोडेलहरूलाई व्यापक प्रवर्द्धन गरिरहेको र एआईको विश्वव्यापी दौडमा आफ्नो भूमिका विस्तार गर्ने प्रयास गरिरहेका बेला यो सम्मेलन आयोजना हुन लागेको हो ।

चार दिनसम्म चल्ने यो सम्मेलन अहिलेसम्मकै सबैभन्दा ठूलो हुने सिन्ह्वा लगायत चिनियाँ सञ्चार माध्यमको दाबी छ । आयोजकका अनुसार ७० भन्दा बढी देश तथा क्षेत्रका प्रतिनिधि, १२०० भन्दा बढी अतिथि, करिब ३०० भन्दा बढी प्रदर्शनी केन्द्र र ८०० भन्दा बढी कम्पनी सो सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा १४० भन्दा बढी फोरम आयोजना हुनेछन् भने ३ सयभन्दा बढी नयाँ उत्पादन तथा प्रविधि पहिलोपटक सार्वजनिक गरिनेछ । 

कार्यक्रममा चीनका अग्रणी एआई कम्पनीसँगै विश्वका प्रमुख प्रविधि कम्पनी, अनुसन्धानकर्ता, नीति निर्माता र सरकारी अधिकारी सहभागी हुनेछन्। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुल पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकासँगको बढ्दो प्रविधि प्रतिस्पर्धा र अत्याधुनिक चिप निर्यातमा लागेको प्रतिबन्धबीच चीनले यो भव्य आयोजना गर्न लागेको हो । 

स्ट्यानफोर्ड विश्वविद्यालयको एआई इन्डेक्सअनुसार सन् २०२६ मार्चसम्म अमेरिकाका र चीनका अग्रणी एआई मोडेलबीचको कार्यसम्पादन कुशलताको अन्तर २.७ प्रतिशतमा झरेको थियो । सन् २०२५ को सुरुदेखि दुवै देशले पटक-पटक एक अर्कालाई पछि पार्ने प्रयास गर्दै आएका छन् । निजी लगानी र अत्याधुनिक एआई मोडेलमा अमेरिका अझै अगाडि रहे पनि चीनले एआईसम्बन्धी अनुसन्धान प्रकाशन, पेटेन्ट, अत्यन्तै कम लगानीका लार्ज ल्याग्वेज मोडल र औद्योगिक रोबोटको उत्पादन्त तथा प्रयोगमा अग्रता कायम राखेको छ ।

ब्लुमबर्गका अनुसार सीको सहभागिताले सम्मेलनको राजनीतिक महत्त्वलाई थप बलियो बनाएको छ । स्वतन्त्र प्रविधि विश्लेषक तथा कन्स्टिलेसन रिसर्चका संस्थापक एवं प्रमुख विश्लेषक रे वाङले ब्लुमबर्गसँग भनेका छन्, ‘सीको उपस्थितिले एआई चीनको राष्ट्रिय प्राथमिकताको शीर्ष तहमा पुगेको स्पष्ट सन्देश दिएको छ । चीनले एआई नवप्रवर्तनमा मात्र नभई एआईको विश्वव्यापी नियमनमा पनि नेतृत्वदायी भूमिका स्थापित गर्न खोजिरहेको बुझ्न सकिन्छ ।’

एजेन्सी

Link copied successfully