एआई स्मार्टग्लासबाट ‘हाइटेक’ चोरी : विश्वभर कडा नियम र प्रतिबन्धको लहर

विद्यार्थीहरूले परीक्षामा एआई स्मार्टग्लासको प्रयोग गरी चिट चोरेपछि दक्षिण कोरिया, चीन, जापानलगायत देशमा कडा कदम चालिएको छ ।

असार २७, २०८३

कान्तिपुर संवाददाता

‘High-tech’ theft using AI smart glasses: A wave of strict regulations and bans worldwide

What you should know

काठमाडौँ — पछिल्लो समय एआई स्मार्टग्लासको प्रयोग बढेसँगै शैक्षिक क्षेत्रमा नयाँ चुनौती थपिएको छ । विद्यार्थीहरूले परीक्षामा चिट चोर्न यसको प्रयोग गरेको पाइएपछि विभिन्न देशले कडा नियम र प्रतिबन्धका कदम चाल्न थालेका छन् । यी चस्माले प्रश्नपत्र स्क्यान गरी एआई बटमार्फत उत्तर खोजिदिने र त्यसलाई सिधै लेन्समा देखाउने गरेको पाइएको छ । 

सीएनएन र द स्ट्रेट्स टाइम्समा प्रकाशित समाचारअनुसार दक्षिण कोरियामा एआई स्मार्टग्लास लगाएर परीक्षामा चिट चोरेका दुईवटा घटना सार्वजनिक भएका छन् । त्यसयता परीक्षा केन्द्रमा यसलाई प्रतिबन्ध लगाइएको छ । त्यहाँको शिक्षा मन्त्रालयले अब परीक्षाहरूमा यस्ता चस्मा निषेध गर्दै निगरानी बढाएको हो । यो प्रविधि प्रयोग गरेर गणितको कठिन प्रवेश परीक्षा कसरी १८ मिनेटमै पूरा गरी ९६ अंक ल्याउन सकिन्छ भन्नेबारे एक दक्षिण कोरियाली युट्युबरले भिडियो नै बनाएर सार्वजनिक गरेका छन् । 

ताइवानमा पनि यस्तै घटना भएको छ । त्यहाँ मेडिकल कलेजको प्रवेश परीक्षामा एक विद्यार्थीले लगाएको चस्माको फ्रेम तातेपछि उनी समातिएका थिए । सीएनएनका पत्रकार जोन लिउले पढाइ र जाँचप्रति मरिहत्ते गर्ने एसियाली देशहरूमा एआई चस्मामार्फत चिट चोर्ने समस्या कसरी बढिरहेको छ भन्नेबारे विस्तृत समाचार लेखेका छन् । 

जापानको वासेदा विश्वविद्यालयमा एक विद्यार्थीले चस्मामार्फत प्रश्नपत्र सामाजिक सञ्जालमा अपलोड गरी अनलाइन ट्युटरबाट उत्तर मागेको भेटिएको थियो । चीनको ग्वान्झाउस्थित ‘साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटी’ मा पनि सेमेस्टर फाइनल परीक्षामा स्मार्टग्लासको सहायताले चिट चोरेका घटना बाहिरिएका थिए । 

यी घटनाले परम्परागत परीक्षा प्रणालीमाथि ठूलो दबाब सिर्जना गरेको विज्ञहरूले बताएका छन् । यस्ता विकृति रोक्न विभिन्न देशले कडाइ गर्न थालेका छन् । चीनले विश्वविद्यालय प्रवेश परीक्षा ‘गाओकाओ’ मा चस्मा लगाउने विद्यार्थीहरूको विशेष जाँच सुरु गरेको स्ट्रेट टाइम्समा शेरलिन सिमले उल्लेख गरेकी छन् ।

‘दक्षिण कोरियामा एआई स्मार्टग्लासलाई परीक्षा हलहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ, विशेष गरी आगामी नोभेम्बर १९ मा हुने राष्ट्रिय स्तरको कलेज प्रवेश परीक्षा (सीस्याट) मा यी चस्मा लैजान पाइने छैन,’ पत्रकार सिमले लेखेकी छन्, ‘बाक्लो फ्रेम भएका वा परीक्षाका बेला बारम्बार चस्माको फ्रेम छोइरहने विद्यार्थीमाथि कडा निगरानी राख्न शिक्षकहरूलाई निर्देशन दिइएको छ ।’ 

चीनमा पनि गाओकाओका लागि निकै कडा नियम बनाइएका छन् । चस्मा लगाउने हरेक परीक्षार्थीले परीक्षा हलमा प्रवेश गर्नुअघि विशेष जाँच गराउनुपर्ने अनिवार्य नियम ल्याइएको छ । यो नियम स्मार्टग्लासजस्ता उन्नत इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरेर हुने हाइटेक चोरी रोक्नका लागि लागू गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

हङकङका प्राध्यापकहरूले भने प्रविधि रोक्नुभन्दा पनि शिक्षा र मूल्यांकनको तरिका बदल्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार विद्यार्थीहरू एआईमा बढी निर्भर नहोऊन् भन्नका लागि शैक्षिक प्रणालीले अब विद्यार्थीहरूको सोच्ने क्षमता र ‘मेटाकग्निसन’ विकासमा जोड दिनुपर्छ ।  

गोपनीयताको चिन्ता बढ्दै गएपछि मेटा कम्पनीले आफ्ना स्मार्टग्लासमा केही सुरक्षा फिचरहरू थपेको दाबी गरेको छ । मेटाका अनुसार कसैले चस्मामा भएको रेकर्डिङ लाइट छोपेर भिडियो खिच्न खोजेमा क्यामेराले काम नगर्ने प्रविधि जडान गरिएको छ । बिजनेस स्ट्यान्डर्डकी पत्रकार नम्रता कोहोलीका अनुसार मेटा र एस्सिलर लक्सोटिकाजस्ता कम्पनीले आफ्ना एआई स्मार्टग्लासलाई फेसनदार बनाएर बजारमा ल्याए पनि यसको दुरुपयोग रोक्ने चुनौती कायमै छ ।

सन् २०२५ मा मेटाले एस्सिलर लक्सोटिकासँगको साझेदारीमा ७० लाखभन्दा धेरै स्मार्टग्लास बिक्री गरेको थियो । यो बिक्री दर सन् २०२४ को तुलनामा झन्डै तेब्बर बढी हो । बजार अनुसन्धान संस्था काउन्टरप्वइन्ट रिसर्चका अनुसार सन् २०२५ को उत्तरार्धसम्म आइपुग्दा विश्वभरिको स्मार्टग्लास बजारमा मेटा हिस्सा ८२ प्रतिशत ‍पुगेको थियो ।

कान्तिपुर

Link copied successfully