इतिहासकै सबैभन्दा ठूलो आईपीओ जारी गर्ने तयारीमा इलन मस्कको स्पेसएक्स 

इलन मस्कको कम्पनी स्पेसएक्सले १८ खर्ब डलर मूल्यांकनसहित ७५ अर्ब डलर उठाउने लक्ष्य राखेर इतिहासकै ठूलो आईपीओ ल्याउन लागेको छ ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Elon Musk's SpaceX prepares to issue the largest IPO in history

What you should know

काठमाडौँ — विश्वका सबैभन्दा धनी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कम्पनीले करिब १८ खर्ब अमेरिकी डलरको मूल्यांकनसहित आईपीओमार्फत झन्डै ७५ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रोयटर्सका अनुसार रकेट तथा स्याटलाइट कम्पनी स्पेसएक्सले यसै साता नास्डाकमा एसपीसीएक्स टिकरमार्फत सूचीकृत हुनुअघि प्रतिसेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्ने योजना बनाएको छ । आगामी शुक्रबार सार्वजनिक हुने तयारीमा रहेको सो आईपीओको लागि अघिल्लो शुक्रबार नै लगभग दोब्बर अर्थात डेढ खर्ब अमेरिकी डलर बराबरको माग भइसकेको रोयटर्सले उल्लेख गरेको थियो ।

यो आईपीओ सफल भएमा यसले साउदी अराम्कोले राखेको विश्वकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमानलाई उछिन्ने र स्पेसएक्सलाई विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीहरूमध्ये एक बनाउने विश्लेषण भइरहेको छ । मस्कले लामो समयदेखि स्पेसएक्सको मूल उदेश्य मानव जातिलाई विभिन्न ग्रहमा बसोबास गराउनसक्ने किसिमको प्रविधि विकास गर्ने भएको बताउँदै आएका छन् । 

स्पेसएक्सको सेयरमा लगानीकर्ताको चासो अत्यन्तै उच्च देखिएको छ । आईपीओमा काम गरिरहेका बैंकरहरूका अनुसार उपलब्ध सेयरभन्दा धेरै खरिद प्रस्ताव प्राप्त भएका छन् । प्रस्तावित ७५ अर्ब डलरको यो आईपीओले सन् २०१९ मा साउदी अराम्कोले उठाएको करिब २९.४ अर्ब र अलीबाबा, सफ्टब्यांकजस्ता कम्पनीको लगभग २५ अर्ब डलरको सफलतालाई पछि पार्नेछ । 

योजनाअनुसार झन्डै १८ अर्ब अमेरिकी डलरको मूल्यांकनमा सूचीकरण भए स्पेसएक्स धेरै स्थापित प्रविधि तथा औद्योगिक कम्पनीभन्दा ठूलो हुनेछ भने बजार मूल्यका आधारमा अमेरिकी लिस्टेड कम्पनीहरूको शीर्ष समूहमा प्रवेश गर्नेछ । 

सन् २००२ मा स्थापना भएको स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट, नासाका लागि कार्गो तथा मानवसहितको अन्तरिक्ष मिसन र स्टारलिंक स्याटलाइट इन्टरनेट नेटवर्कजस्ता व्यावसायिक गतिविधि गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा करिब १८.७ अर्ब डलर आम्दानी गरेको थियो । चन्द्रमामा मानिसलाई पुर्‍याउने यान स्टारसिप र अन्य स्याटलाइट विस्तार तथा एआई परियोजनामा गरिएको ठूलो लगानीका कारण कम्पनी नाफामा भने पुग्न सकेको छैन । 

कान्तिपुर

Link copied successfully