नेपालमा इन्टरनेट सेवा विस्तारका लागि मस्कको कम्पनी स्टारलिंकले फेरि देखायो चासो

अमेरिकी स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि नीतिगत अप्ठ्यारा रहेको उल्लेख गरेकी छन् ।

जेष्ठ १८, २०८३

सजना बराल

Musk's company Starlink has once again shown interest in expanding internet services in Nepal.

What you should know

काठमाडौँ — भू-उपग्रह (स्याटलाइट)मा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि पुन: इच्छा व्यक्त गरेको छ । सोमबार कम्पनीकी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताएकी छन् । यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको ‘हाई-स्पिड’ इन्टरनेट चलेको हेर्ने आफ्नो ठूलो इच्छा भएको बताएका थिए । 

स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गरेका थिए । हाल नेपाल आएकी हन्टरले पुन: सोही विषय सञ्चारमन्त्री तिमिल्सिनासँग दोहोर्‍याएकी हुन् । स्टारलिंकले दूरसञ्चार लाइसेन्समा शतप्रतिशत स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ । हन्टरले नेपालका विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गरेकी छन् । आफूहरूले नेपालका केही सेवा प्रदायकहरूसँग व्यावसायिक साझेदारीका लागि छलफलसमेत गरिरहेको उनले जानकारी दिएकी छन् । 

सञ्चारमन्त्री तिमिल्सिनाले भने नेपालको विद्यमान कानुन र वैधानिक प्रक्रियाअनुसार आउन कुनै अवरोध नहुने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ । सोमबार नै अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले पनि मन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गरेकी थिइन् । उनले नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सुझाव दिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तो वातावरण भएमा अमेरिकी निजी क्षेत्रको लगानी आकर्षित हुन सक्ने उनको धारणा थियो । ‘उहाँले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौतीहरू व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा बाल संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताउनुभयो,’ मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्री तिमिल्सिनाले डिजिटल पूर्वाधार, सूचना प्रविधि र दूरसञ्चारलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार गर्ने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी गराएका थिए । भेटमा इन्टरनेट स्वतन्त्रता संरक्षण, जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माण लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

स्टारलिंककी हन्टरले यसअघि २०८१ मा मंसिरमा काठमाडौं आएर तत्कालीन प्रधानमन्त्री शर्मा र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्टारलिंकको कार्यप्रणालीबारे ‘डेमो’ प्रस्तुत गरेकी थिइन् । त्यो बेला ओलीले नयाँ प्रविधिलाई रातो कार्पेटले स्वागत गरिने तर आन्तरिक अध्ययनपछि मात्र निर्णय लिइने बताएका थिए । 

दूरसञ्चार ऐन २०५३ को व्यवस्थाअनुसार इन्टरनेट सेवामा बढीमा ८० प्रतिशत मात्र विदेशी लगानी हुन सक्छ । बाँकी २० प्रतिशत लगानीका लागि स्थानीय साझेदार अनिवार्य हुनुपर्ने प्रावधान छ । यही लगानीको सीमा र स्वामित्वको विषयमा स्टारलिंकले गुनासो गर्दै आएको हो । 

छिमेकी देश श्रीलंका, भुटान, बंगलादेशमा स्टारलिंकले आफ्नो सेवा विस्तार गरिसकेको छ । भारतले ५ वर्षका लागि व्यावसायिक अनुमति दिएको छ । नेपालमा स्टारलिंकले सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ । स्टारलिंकको वेबसाइटको नक्सामा नेपालको स्थिति ‘सर्भिस डेट इज अननोअन’ देखिन्छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully