विद्यार्थीहरूले रोबोटको सम्पूर्ण डिजाइन, इन्जिनियरिङ, निर्माण, प्रोग्रामिङ, परीक्षण तथा सञ्चालन सबै कार्य आफैं गरेका थिए ।
काठमाडौँ — अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहास्थित ब्रोनेल टलबोट स्कुलकी छात्रा एन्जल भण्डारी र उनको रोबोटिक्स टोलीले सन् २०२६ को प्रतिष्ठित 'भीईएक्स रोबोटिक्स वर्ल्ड च्याम्पियनसिप' जितेको छ ।
विश्वभरबाट सहभागी ७ हजारभन्दा बढी टोलीमध्ये ४० भन्दा बढी देशका करिब ९ सय टोली मात्र चारदिने प्रतिस्पर्धात्मक विश्व च्याम्पियनसिपका लागि छनोट भएका थिए । प्रतिस्पर्धामा एन्जलको टोलीले २३–० को कीर्तिमानी प्रदर्शन गर्दै विश्व च्याम्पियन बन्न सफलता हासिल गर्यो । प्रतियोगिता अप्रिल २२ देखि २५ सम्म अमेरिकाको सेन्ट लुइस मिसौरीमा भएको थियो ।
विद्यार्थीहरूले रोबोटको सम्पूर्ण डिजाइन, इन्जिनियरिङ, निर्माण, प्रोग्रामिङ, परीक्षण तथा सञ्चालन सबै कार्य आफैं गरेका थिए ।६ सदस्यीय टोलीभित्र एन्जलले टोली संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
एटलान्टा जर्जियामा सम्पन्न 'इन्टरनेसनल बिजनेस प्लान स्पिच र प्रेजेन्टेसन'मा पनि उनी १० हजारभन्दा बढी प्रतिस्पर्धीबीच फाइनलिस्ट बन्न सफल भएकी थिइन् ।
