महिला सशक्तिकरण र डिजिटल साक्षरताका लागि लगानी आवश्यक : गुम्बोनज्वान्दा

संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा युएन विमेनकी उपकार्यकारी निर्देशक न्याराद्जायी गुम्बोनज्वान्दाले प्रविधिको बढ्दो लगावका कारण युवाहरूको सामाजिक अन्तरक्रिया र मानसिक स्वास्थ्य प्रभावित भएको बताइन् ।

जेष्ठ ३, २०८३

सजना बराल

Investment necessary for women's empowerment and digital literacy: Gumbonjwanda

What you should know

काठमाडौँ — डिजिटल प्रविधिले महिला सशक्तिकरण र समावेशिताका लागि ठूलो अवसर प्रदान गरे पनि यस्तो अवसर प्राप्त गर्न सरकार र निजी क्षेत्रको लगानी आवश्यक पर्ने संयुक्त राष्ट्रसंघीय महिला (यूएन विमेन) की सहायक महासचिव न्याराद्जायी गुम्बोनज्वान्दाले बताएकी छन् । 

काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले प्रविधि आफैँमा समावेशी भए पनि, यसमा आवश्यक लगानी र पहुँच सुनिश्चित गरिएन भने यो धेरैका लागि महँगो र पहुँचबाहिरको वस्तु हुने औँल्याइन् । 'यसले उल्टै डिजिटल डिभाइडलाई झन् गहिरो बनाउँछ,' उनले भनिन्, 'त्यसैले प्रविधिमा सबैको पहुँच पुर्‍याउन वा यसलाई सार्वजनिक हितका रूपमा विकास गर्न र विशेषगरी ग्रामीण तथा सीमान्तकृत क्षेत्रका महिलाहरूलाई डिजिटल संसारसँग जोड्न लगानी आवश्यक पर्छ ।' 

प्रविधिमा बढ्दो निर्भरताले युवाहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने विषयमा आफूहरू सचेत रहेको पनि गुम्बोनज्वान्दाले बताइन् । पहिलो औपचारिक नेपाल भ्रमणमा आएकी उनले प्रविधिको विकास सकारात्मक भए पनि यसले ल्याउने चुनौतीहरूलाई बेवास्ता गर्न नमिल्ने धारणा राखेकी हुन् । ‘ग्याजेटमा मात्र झुन्डिने बानीले युवाहरूमा सामाजिक अन्तरक्रिया गर्ने सीप हराउँदै गएको छ,’ गुम्बोनज्वान्दाले शुक्रबार पत्रकारहरूसँगको छलफलमा भनेकी थिइन्, ‘प्रविधिमा आश्रित हुँदा युवाहरू फुटबल वा क्रिकेट खेल्ने अथवा पार्कमा घुम्नेजस्ता शारीरिक र सामाजिक गतिविधिबाट टाढिँदै गएका छन् ।’ 

Investment necessary for women's empowerment and digital literacy: Gumbonjwanda

यूएन विमेनले युवा महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन ह्याकाथन जस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको र उनीहरूको मानसिक स्वास्थ्य र सर्वाङ्गीण विकासलाई सधैं प्राथमिकतामा राखेको गुम्बोनज्वान्दाको भनाइ थियो । ‘युवाहरूमा डिजिटल उपकरणहरू प्रयोग गर्ने साहस र आत्मविश्वास पनि हुनैपर्छ किनभने उनीहरूले डिजिटल प्रणालीलाई राम्ररी बुझे भने मात्रै यसले नित्म्याउने समस्याको समाधानका उपायहरूमा योगदान दिन सक्छन्,’ उनले भनिन् । 

छलफलमा यूएन विमेनकी क्षेत्रीय निर्देशक क्रिस्टिन आरबले डिजिटल हिंसाले निम्त्याउने मानसिक र भौतिक असरका बारेमा प्रकाश पारिन् । उनका अनुसार डिजिटल हिंसा भौतिक रूपमा पनि प्रकट हुन सक्छन् र यसको असर गम्भीर हुन्छ । ‘पीडितलाई सहयोग गर्ने निकायजस्ता रेफरल सेवाहरू डिजिटल हिंसा भोगिरहेकाहरूलाई उपलब्ध गराइनुपर्छ,’ उनले भनिन्, ‘कुनै पनि देशले अनलाइन बुलिङ, उत्पीडन र महिला तथा बालबालिका विरुद्ध हुने दुर्व्यवहार रोक्ने गरी साइबर सुरक्षाका उपाय अवलम्बन गर्नुपर्छ ।’ 

युएन विमेनकी नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेकोले प्रविधि र डिजिटल क्षेत्रमा हुने महिला हिंसा लगायत समस्याहरूलाई सम्बोधन गर्न कानुनी सुधारको आवश्यकता रहेको बताइन् । उनले नेपाल सरकारसँगको समन्वयमा यूएन विमेनले सिड मार्गचित्र र छाता कानुन निर्माणमा समन्वय गरिरहेको जानकारी पनि दिइन् । 

Investment necessary for women's empowerment and digital literacy: Gumbonjwanda

नेपाल भ्रमणका क्रममा गुम्बोनज्वान्दाले उच्चस्तरीय सरकारी अधिकारीदेखि समुदायका महिलाहरूसँग भेटघाट र छलफल गरेकी थिइन् । उनले  परराष्ट्रमन्त्री शिशिर खनाल र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीसँग भेट गरेकी थिइन् । राष्ट्रिय योजना आयोग, निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसँगको भेटमा पनि नेपालको विकास र लैङ्गिक समानताका प्राथमिकताहरूबारे छलफल गरेको उनले बताइन् । 

‘आजभन्दा १० वर्षअघि पहिलोपटक निजी भ्रमणमा नेपाल आएकी थिएँ, त्यो बेला र अहिले धेरै परिवर्तन भइसकेछ,’ जाँदाजाँदै उनले कान्तिपुरसँग भनिन्, ‘शारीरिक अपांगता भएको मजस्तो मानिसलाई हिँडडुल गर्न सहज भएछ, धेरैतिर र्‍याम्पहरू राखिएछन्, यहाँका मानिसहरू पनि सहयोगी लागे ।’  

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully