अनलाइन बालसुरक्षाको सवालमा जवाफ दिन सिलिकन भ्यालीका सीईओहरू अमेरिकी सदनमा उपस्थित हुनुपर्ने

मेटा, अल्फाबेट, टिकटक र स्न्यापका प्रमुखहरूलाई अमेरिकी सिनेटले बालबालिकामा सामाजिक सञ्जालको असर र कानुनी दबाबबारे सुनुवाइका लागि बोलाएको छ ।

जेष्ठ २, २०८३

एजेन्सी

Silicon Valley CEOs should appear before the US House to answer questions about online child safety

What you should know

काठमाडौँ — अमेरिकी संसद्ले सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी विषयमा क्यापिटल हिलमा हुन लागेको सुनुवाइका लागि आउन निर्देशन दिएको छ । 

मेटाका प्रमुख मार्क जकरबर्ग, अल्फाबेटका प्रमुख सुन्दर पिचाइ, टिकटकका प्रमुख शोउ जी च्यु र स्न्यापका प्रमुख इभान स्पिगललाई सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लीले सुनुवाइका लागि बोलाएका हुन् । रोयटर्सका अनुसार बालबालिकामा सामाजिक सञ्जालको असर, लत लाग्ने प्रकृतिको डिजाइन र अनलाइनले पुर्‍याउने हानीका विषयमा ती कम्पनीमाथि कानुनी र राजनीतिक दबाब बढिरहेका बेला यो कदम चालिएको हो ।

जुनमा हुने उक्त सुनुवाइमा सांसद्हरूले सामाजिक सञ्जाल प्लाटफर्मले बालबालिका र किशोरकिशोरीमा पारिरहेको प्रभावबारे कम्पनी प्रमुखसँग सार्वजनिक रूपमा प्रश्न गर्नेछन् । सिनेटर मार्सा ब्ल्याकबर्न र रिचर्ड ब्लुमेन्थलजस्ता सांसद्हरूले प्रविधि कम्पनीलाई आफ्ना सेवाको प्रभावप्रति थप जिम्मेवार बनाउनुपर्ने कानुनको पक्षमा दबाब दिँदै आएका छन् । 

यो सुनुवाइ अमेरिकामा ठूला प्रविधि कम्पनीविरुद्ध बढिरहेका कानुनी चुनौतीबीच हुन लागेको हो । रोयटर्सका अनुसार मेटा, गुगल, टिकटक र स्न्यापविरुद्ध क्यालिफोर्नियाका संघीय तथा राज्य अदालतमा हजारौं मुद्दा दर्ता छन् । ती मुद्दामा कम्पनीहरूले आफ्ना प्लाटफर्म बालबालिकालाई लत लाग्ने (एडिक्टिभ) र मानसिक स्वास्थ्यमा असर पार्ने गरी डिजाइन गरेको आरोप लगाइएको छ । 

गत मार्चमा मात्रै मेटा र गुगलले यस्ता मुद्दासम्बन्धी पहिलो जुरी ट्रायल हारेका थिए । त्यसमा पीडितलाई ६० लाख डलर क्षतिपूर्ति तिर्न प्लाटफर्मलाई आदेशसमेत दिइएको थियो । टिकटक र स्न्यापले भने मुद्दा सुनुवाइअघि नै मिलापत्र गरेका थिए । अर्को एउटा मुद्दामा न्यु मेक्सिकोको जुरीले बाल शोषण र प्रयोगकर्ताको सुरक्षासम्बन्धी दाबीमा मेटालाई ३७ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको थियो ।

अमेरिकी तल्लो सदनले संघीय कानुन पारित गर्न नसकेपछि गत वर्ष मात्रै अमेरिकाका क्यालिफोर्निया, युटाह, टेक्सस, फ्लोरिडा, लुइजियानासहित २० राज्यले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन ल्याएका थिए । फ्रान्स, डेनमार्क, ईटाली, स्पेन, जर्मनी, नर्वेजसेता युरोपेली देशले पनि पछिल्ला वर्षमा बालबालिकाको अनलाइन सुरक्षा, प्लाटफर्मको जवाफदेहीता र कन्टेन्ट नियमनसम्बन्धी कडा कानुनी व्यवस्था तयारी गरिरहेका छन् । २०२४ को जनवरीमा यस्तै किसिमको सुनुवाइमा जकरबर्गसहित अन्य टेक कम्पनी प्रमुखहरूलाई अमेरिकी सांसद्हरूले कडा प्रश्नहरू सोधेका थिए ।

एजेन्सी

Link copied successfully