चीनले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिहरू ठूलो स्तरमा चोरी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले सार्वजनिक रूपमै आरोप लगाएको छ ।
What you should know
काठमाडौँ — ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीतिसम्बन्धी कार्यालयका निर्देशक माइकल क्रात्सियोसले अघिल्लो हप्ता जारी गरेको मेमोमा कतिपय देश र विशेषगरी चीनले अमेरिकी एआई मोडल र प्रणालीहरू योजनाबद्ध तरिकाले चोरी गरेको दाबी गरिएको छ ।
क्रात्सियोसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको उक्त मेमोमा चीन लगायत कतिपय विदेशी संस्थाहरूले हजारौं प्रोक्सी र जेलब्रेकिङ प्रविधिहरू प्रयोग गर्दै अमेरिकी एआई टुल नक्कल गरेको आरोप लगाइएको छ । ‘यसरी चोरेर वा अनैतिक तरिकाले प्राप्त गरिएको जानकारीको आधारमा बनाइएका एआई मोडेलहरू भरपर्दा हुँदैनन्,’ पोस्टमा भनिएको छ, ‘अर्काले मेहनत गरेर बनाएको महत्त्वपूर्ण आविष्कार चोरेर आफ्नो प्रविधि बनाउँदा, त्यस्तो प्रविधिको गुणस्तर र विश्वसनीयतामा भरोसा गर्न सकिँदैन ।’
सीएनएनका अनुसार यो सबैको केन्द्रमा ‘डिस्टिलेसन’ भनिने एउटा चोरबाटो रहेको र त्यसले लार्ज ल्यांग्वेज मोडलहरूले वर्षौं लगाएर जम्मा गरेका डेटा र बौद्धिक सम्पत्तिको नक्कल गरेर त्यस्तैखाले मोडल सस्तो र कम प्रविधिमा निकाल्ने काम गरिन्छ । एन्थ्रोपिक र ओपनएआईले समेत दाबी गर्दै आएको यस्तो खाले चोरबाटोमा डिपसिकजस्ता कम्पनीहरू लागेको र प्रमुख अमेरिकी एआई मोडलहरूका शैली र प्रविधिको नक्कल गरिएको प्रमाण आफूसँग रहेको अमेरिकी सरकारी अधिकारीहरूले सार्वजनिक रूपमै भन्दै आएका छन् ।
अमेरिकी कम्पनीका डेटा र मोडेल आउटपुटहरू निकालेर प्रतिस्पर्धी प्रणालीलाई प्रशिक्षण दिन पुनः प्रयोग गरिएको र यस्तो अभ्यासले चीनको एआई क्षमता तीव्र रूपमा अघि बढिरहेको अमेरिकाको दाबी छ । तर, मेमोसँगै विस्तृत प्राविधिक प्रमाण सार्वजनिक गरिएको छैन । चीनले यस्ता आरोपहरू विगतमा पनि अस्वीकार गर्दै आएको छ र आफ्नो प्राविधिक प्रगति घरेलु नवप्रवर्तनबाट प्रेरित भएको दाबी गर्दै आएको छ ।
एआई क्षेत्रमा बढिरहेको भू-राजनीतिक प्रतिस्पर्धाबीच यस्ता आरोप-प्रत्यारोपका घटना आइरहेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच हुने सम्भावित भेटवार्तामा यो विवाद प्रमुख विषय बन्ने अड्कल गरिएको छ । दुवै पक्ष अहिले व्यापार तनाव र प्रविधि प्रतिबन्धहरूमा बीचको बाटो खोजिरहेका छन् । विश्लेषकहरूका अनुसार श्रम बजार, अर्थतन्त्र र सैन्य कार्यमा एआई अझै जटिल रूपले जोडिँदै जाँदा यस्ता आरोपहरूले दुई देशबीच अविश्वास बढाउन र प्रविधि केन्द्रित व्यापार युद्धलाई अझै चर्काउन सक्छ ।
