ट्विटरका पूर्वप्रमुख पराग अग्रवालको एआई स्टार्टअपको भ्यालुएसन २ अर्ब अमेरिकी डलर

ट्विटरबाट बर्खास्त भएपछि पराग अग्रवालले सुरु गरेको एआई कम्पनीले हालै १० करोड डलर लगानी जुटाएको छ ।

वैशाख १६, २०८३

एजेन्सी

Former Twitter CEO Parag Agarwal's AI startup valued at $2 billion

What you should know

काठमाडौँ — ट्विटर (हाल एक्स)का पूर्वप्रमुख कार्यकारी अधिकृत पराग अग्रवालको कम्पनी ‘प्यारालल वेब सिस्टम्स’ को बजार मूल्यांकन ३ वर्षमा २ अर्ब अमेरिकी डलर पुगेको छ । 

हालैको 'फन्डिङ राउन्ड' मा १० करोड डलर लगानी जुटाएपछि परागको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनीको बजार मूल्यांकन उकासिएको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । यस कम्पनीले एआई एजेन्टहरूका लागि इन्टरनेट पूर्वाधार बनाउने काम गर्छ । च्याटबट वा सफ्टवेयरहरूलाई सहायता प्रदान गर्ने ‘एजेन्टिक वेब’ को अवधारणमा परागले काम गरिरहेका छन् ।

सन् २०२२ मा अर्बपति इलन मस्कले ४४ अर्ब डलरमा तत्कालीन ट्विटर खरिद गरेपछि परागसहित नेड सेगल र कानुनी प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । परागलाई त सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयबाट सुरक्षा गार्ड नै खटाएर बाहिर निकालिएको खबर सुन्नमा आएको थियो ।

ट्विटर छोडेपछि पराग केही समय सार्वजनिक रूपमा देखिएका थिएनन् । त्यस समय उनले चुपचाप आफ्नो एआई स्टार्टअप प्यारालल वेब सुरु गरेका थिए । अहिले उनी यस्ता प्रविधि कम्पनीका नेतृत्वकर्तामध्ये पर्छन्, जसले तीव्र रूपमा विकास भइरहेको एआई क्षेत्रमा नयाँ र सफल कम्पनी सुरु गरेका छन् ।

प्यारालल वेबले यो साता मात्रै ‘सिरिज बी’ फन्डिङ राउन्डमा १०० मिलियन डलर (१० करोड डलर) लगानी प्राप्त गरेको हो । यसले सिलिकन भ्यालीमा सुरु गरिएका नयाँ एआई कम्पनीप्रति लगानीकर्ताको बलियो विश्वास देखाएको वालस्ट्रिट जर्नलको विश्लेषण छ । परागको कम्पनीमा चर्चित भेन्चर क्यापिटल फार्म, सेक्वोया क्यापिटलसहित क्लेइनर पर्किन्स, इन्डेक्स भेन्चर्स र खोस्ला भेन्चर्सले लगानी गर्ने सम्झौता गरेका छन् । 

सन् २०११ मा इन्जिनियरका रूपमा ट्विटर प्रवेश गरेका पराग प्रमुख प्रविधि अधिकृत हुँदै झन्डै १ वर्ष प्रमुख कार्यकारी बने । ट्विटरको प्रमुख हुँदा डेटा र कन्टेन्ट मोडरेसनका विषयमा धनाढ्य व्यापारी मस्कसँग उनले सार्वजनिक रूपमै प्रतिवाद गरेका थिए । भारतको राजस्थानमा जन्मिएका ४१ वर्षीय परागले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट इन्जिनियरिङ र स्टान्फोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन् । 

एजेन्सी

Link copied successfully