चिनियाँ नियामक निकायले विदेशी लगानी प्रतिबन्ध गर्दै मेटा र मानुसबीचको दुई अर्ब डलरको सम्झौता अन्तिम चरणमा रोकिदिएको छ ।
What you should know
काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी मेटाले खरिद गर्न खोजेको चिनियाँ एआई स्टार्टअप ‘मानुस’को अधिग्रहण चीन सरकारले रोकिदिएको छ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले करिब २ अर्ब अमेरिकी डलर मूल्यमा मानुस किन्ने गरी चार महिनाअघि नै ‘डिल’ तय गरेको थियो ।
चिनियाँ नियामक निकाय ‘नेसनल डिभलपमेन्ट एन्ड रिफर्म कमिसन’ले विदेशी लगानी सुरक्षासम्बन्धी नीतिगत व्यवस्थाअनुसार उन्नत एआई प्रविधिमा विदेशी लगानी निषेध भएको उल्लेख गर्दै अन्तिम चरणमा रहेको उक्त सम्झौता रोक्न निर्देशन दिएको रोयर्टसले जनाएको छ ।
यस निर्णयसँगै क्रस-बोर्डर प्रविधि र चीनमा बनेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिसम्बन्धी कारोबारमा बेइजिङले कडाइ गर्ने नीति लिएको स्पष्ट भएको छ । मेटाको एआई विस्तार योजनामा पनि यसले प्रत्यक्ष असर पार्ने देखिएको छ ।
चीनमा स्थापना भएको एआई स्टार्टअप कम्पनी, मानुसले अमेरिकी लगानी आकर्षित गरेसँगै आफ्नो सञ्चालन सिंगापुर सारेर पुनः दर्ता गरेको थियो । मेटाले यसलाई आफ्नो एआई एजेन्ट प्रविधि बलियो बनाउन किनेको थियो ।
पटक-पटक प्रम्ट दिनुपर्ने अन्य च्याटबटको तुलनामा मानुसले स्वचालित रूपमा कार्य सञ्चालन गर्न सक्ने दाबी गरिएको छ । मेटा र मानुसबीचको सम्झौता अन्तिम चरणमा पुगेको मात्र नभई चीनका कर्मचारीहरूलाई अवकास दिएर आफ्ना प्रमुख गतिविधि सिंगापुरमा सारिसकिएको अवस्थामा चिनियाँ नियामक निकायले महिनौँको समीक्षापछि यो खरिद-बिक्री प्रक्रिया रोकिदिएको हो । कम्पनीका सह-संस्थापकहरूलाई नियामकसँग छलफलका लागि बोलाइएको र देश छोड्नसमेत रोक लगाइएको रोयटर्सको समाचारमा उल्लेख छ ।
मेटाले संक्षिप्त प्रतिक्रियामा भनेको छ, ‘हाम्रो कारोबार र सम्झौता प्रचलित कानुनबमोजिम भएकोले यस विषयमा उचित समाधान निस्किने अपेक्षा गरेका छौँ ।’
एआई क्षेत्रमा अमेरिकी र चिनियाँ प्रविधिबीच प्रतिस्पर्धा चर्किँदै गएको र एकले अर्को देशको प्रविधि विस्तार रोक्न प्रयास गरिरहेका बेला चीनले यस्तो निर्णय सुनाएको हो । गत साता मात्रै चिनियाँ नियामकले आफ्नो देशका एआई कम्पनी र स्टार्टअपहरूलाई सरकारको अनुमतिबिना अमेरिकी लगानी स्वीकार नगर्न निर्देशन दिएको थियो ।
सो निर्देशनबाट अमेरिकी पुँजी लगानी लिने तयारीमा रहेका मुनसट, स्टेपफनजस्ता कम्पनीहरू प्रभावित भएको रोयटर्सले उल्लेख गरेको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स पनि चिनियाँ नियामकको पछिल्लो निर्देशनबाट प्रभावित भएको हुँदा चीन सरकारले टिकटकको अमेरिकी सञ्चालन सम्झौतामा पनि अड्चन पार्नसक्ने आशंका विश्लेषकहरूले गरेका छन् ।
यस विषयकी जानकार लैला ख्वाजाले ब्लुमबर्गसँगको कुराकानीमा भनेकी छन्, ‘चीनले आफ्नो प्रविधि अन्यत्र जान नदिन स्पष्ट रूपमै कडाइ बढाएको र विदेशी लगानीमाथि निगरानी विस्तार गरेको बुझ्न सकिन्छ ।’ यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच मे महिनाको मध्यतिर हुने भनिएको बहुप्रतिक्षित भेटवार्ताअघि यस्तो कदम आएकोले यसलाई राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।
