उनले आफ्नो अधिकांश करियर एप्पलमै बिताएको उल्लेख गर्दै स्टिभ जब्स र टिम कुकसँग काम गर्ने अवसरलाई महत्त्वपूर्ण अनुभवका रूपमा स्मरण गरेका छन् ।
काठमाडौँ — विश्वकै प्रतिष्ठित कम्पनीमध्येको एप्पलले सोमबार नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने घोषणा गरेको छ । आईफोन निर्माता एप्पलले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान सीईओ टिम कुकलाई कम्पनीको कार्यकारी अध्यक्ष बनाउने र हार्डवेयर इन्जिनियरिङ विभागका वरिष्ठ उपाध्यक्ष जन टर्नसलाई सीईओ बनाउने उल्लेख गरेको छ । योसँगै जन एप्पलका ८ औं सीईओ हुने निश्चित भएको छ ।
कुकले एप्पलको नेतृत्व गर्न पाउनु सबैभन्दा ठूलो अवसर भएको प्रतिक्रिया दिएका छन् । टर्नसको तारिफ गर्दै कुकले उनलाई ‘इन्जिनियरको सोच, नवप्रवर्तकको आत्मा र इमानदारिताको भावना भएका व्यक्ति’ को रूपमा चित्रण गरेका छन् । आगामी दिनका लागि उनी नै सबैभन्दा उपयुक्त नेतृत्व हुने कुकको भनाइ छ ।
कुकको उत्तराधिकारीका रूपमा जन टर्नसबाहेक एप्पलका सफ्टवेयर प्रमुख क्रेग फेडरिघी, एप्पलका सेवा विभागका प्रमुख एडी क्यू, एप्पलका रिटेल र मानव संसाधन प्रमुख डिर्ड्रे ओ’ब्रायन लगायतको पनि चर्चा थियो । तर, एप्पलले अन्ततः कुकका दाहिने हात मानिने जन टर्नसलाई रोजेको छ ।
टर्नसले नयाँ जिम्मेवारी पाएकोमा आभार व्यक्त गर्दै एप्पलको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो अधिकांश करियर एप्पलमै बिताएको उल्लेख गर्दै स्टिभ जब्स र टिम कुकसँग काम गर्ने अवसरलाई महत्त्वपूर्ण अनुभवका रूपमा स्मरण गरेका छन् ।
कुक सन् १९९८ देखि एप्पलमा आबद्ध छन् । सन् २०११ मा सीईओ बनेका उनले एप्पल वाच, एयरपड, एप्पल भिजन प्रोजस्ता प्रोडक्ट र आइक्लाउड, एप्पल पे, एप्पल टीभी, एप्पल म्युजिकजस्ता सेवा बजारमा ल्याएका थिए । सीईओका रूपमा उनको नेतृत्वमा कम्पनीले उल्लेखनीय आर्थिक तथा संस्थागत विस्तार हासिल गरेको एप्पलको विज्ञप्तिमा भनिएको छ ।
‘कुकले नेतृत्व सम्हालेपछि कम्पनीको बजार मूल्य करिब ३५० अर्ब डलरबाट बढेर ४ ट्रिलियन डलर पुगेको छ, यो भनेको १ हजार प्रतिशतभन्दा बढीको वृद्धि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको वार्षिक आम्दानी पनि झन्डै चार गुणाले बढेको छ । सन् २०११ मा १०८ अर्ब डलर रहेको आम्दानी सन् २०२५ सम्म आइपुग्दा ४१६ अर्ब डलरभन्दा बढी पुगेको छ ।’
कुकको कार्यकालमा भारत, भियतनाम, दक्षिण कोरियाजस्ता उदीयमान बजारमा एप्पलको उपस्थिति उल्लेख्य विस्तार भएको थियो । एप्पल अहिले २ सयभन्दा बढी देश र क्षेत्रमा फैलिएको र खुद्रा व्यापारतर्फ ५ सयभन्दा बढी स्टोर सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । कुकको कार्यकालमा कम्पनीले १ लाखभन्दा बढी नयाँ कर्मचारी थप्नुका साथै सक्रिय प्रयोगमा रहेका एप्पलका डिभाइसको संख्या २.५ अर्बभन्दामाथि पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘कोभिड–१९ महामारी र चीनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीति एवं व्यापार युद्धजस्ता कम्पनीलाई सिधै प्रभाव पार्ने विश्व घटनामाझ कुकले कुशलतापूर्वक कम्पनीलाई जोखिमबाट जोगाएका थिए,’ सीएनएनमा पत्रकार लिजा इयाडिसिक्कोले लेखेकी छन्, ‘तर, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा भने एप्पलका पछिल्ला पहल सफल हुन सकेनन् । कम्पनीको महँगो एप्पल भिजन प्रो–हेडसेट अझै पनि केही प्रयोकर्तामा मात्रै सीमित छ ।’
एप्पलका ‘भिजिनरी’ एवं जोखिम मोल्न सक्ने संस्थापक स्टिभ जब्सपछि सीईओ बनेका कुकका सामु जब्सले जस्तै ‘ट्रेन्डसेटिङ प्रोडक्ट’ ल्याउनुपर्ने दबाब रह्यो । तथापि, उनले क्रान्तिकारीभन्दा क्रमिक सुधारलाई महत्त्व दिएको सीएनबीसीमा पत्रकारद्वय अरी लेभी र जोनाथन भ्यानियनले लेखेका छन् ।
प्रयोगकर्ताको गोपनीयताका विषयलाई ‘ब्रान्ड भ्यालु’ बनाउन सक्नुलाई कुकको विशेष सफलता मानिन्छ । जब्सको समयमा ‘प्राइभेसी’ एउटा फिचर मात्र रहेकोमा कुकले यसलाई एप्पलको व्यापारिक रणनीतिको जग नै बनाए । गुगल र मेटा (फेसबुक) जस्ता कम्पनीहरूले प्रयोगकर्ताको डेटा विज्ञापनका लागि प्रयोग गरिरहँदा, कुकले एप्पलले ‘डेटा बेच्दैन’ भन्ने भाष्य स्थापित गरे ।
सन् २०१६ मा आईफोन ‘अनलक’को विषयमा एप्पल र अमेरिकी सरकारबीचको विवाद धेरैले सम्झिने गरेका छन् । त्यो बेला अमेरिकाको क्यालिफोर्नियास्थित सान बर्नार्डिनोमा १४ जनाको ज्यान जाने गरी एउटा आतंकवादी हमला भएको थियो ।
हमलापछि प्रहरीले आक्रमणकारीहरूमध्ये एक, सैयद रिजवान फारुकले बोक्ने आईफोन फाइभ सी बरामद गर्यो । एफबीआईले उक्त आईफोनभित्र रहेका कल रेकर्ड, म्यासेज र अन्य डेटा अनुसन्धानका लागि हेर्न चाह्यो । तर, फोनमा ‘पासकोड’ थियो । एफबीआईले एप्पललाई फोन अनलक हुने कुनै उपाय (ब्याकडोर) विकास गर्न आग्रह गर्यो । तर, एप्पलले मानेन ।
एफबीआई, न्यायालय र अमेरिकी सरकारसँग यस विषयमा विवाद चुलिँदै गएपछि सन् २०१६ फेब्रुअरीमा टिम कुकले ‘अ म्यासेज टु आवर कस्टमर’ शीर्षकमा खुला पत्र लेखेर सरकारको माग अनुचित भएको र त्यसले ग्राहकको सुरक्षालाई खतरामा पार्ने बताए ।
‘हामी एफबीआईको कामलाई सम्मान गर्छौं, तर सरकारले हामीलाई हाम्रा प्रयोगकर्ताको सुरक्षामा सम्झौता गर्न बाध्य पार्दा त्यसले खतरनाक नजिर स्थापना गर्नेछ,’ कुकले लेखेका थिए । अन्ततः एफबीआईले एप्पलविरुद्ध मुद्दा फिर्ता लियो र इजरायली कम्पनीमार्फत उक्त आईफोन अनलक गरियो भन्ने सुन्नमा आएको थियो । तथापि, यस घटनाले एप्पललाई प्रयोगकर्ताको डेटाको सुरक्षाका लागि आफ्नै सरकारसँग लड्न सक्ने कम्पनीका रूपमा चिनायो ।
अहिले एआई र उन्नत प्रविधिको प्रतिस्पर्धामा भने एप्पल अन्य ब्रान्ड र कम्पनीभन्दा केही पछि परेको गुनासो सुनिने गरेको छ । सीएनएनका अनुसार एप्पलले च्याटजीपीटी र जेमिनाइजस्ता एआई टुलसँग प्रतिस्पर्धा गर्ने गरी यस वर्ष आफ्नो भ्वाइस असिस्टेन्ट ‘सिरी’ मा विशेष अपडेट ल्याउने अपेक्षा गरिएको थियो ।
तर, यसमा ढिलाइ देखिएको छ । एआईमा एप्पल सुस्त भएको र यो उसका लागि मुख्य चुनौती रहेको भन्ने विषयमा धेरै चर्चा हुने गरेको छ । विश्लेषकहरूले एआई रणनीतिबारे टिम कुकसँग पनि निरन्तर प्रश्न उठाउँदै आएका थिए ।
यस्तो माहोलमा टर्नसले कुकपछि सीईओको भूमिका निर्वाह गर्न लागेका छन् । उनले सन् २००१ मा प्रोडक्ट डिजाइन टिमबाट कम्पनीमा काम थालेका थिए । आईप्याड र आईपडजस्ता प्रोडक्ट विकासमा उनको मूख्य भूमिका रहेको कम्पनीले जनाएको छ । गत महिना मात्रै उनले एप्पलको पहिलो सुपथ मूल्यको म्याकबुक, ‘म्याकबुक नियो’ सार्वजनिक गरेका थिए ।
टर्नस कम्पनीभित्र कम प्रचारमा आउने तर अत्यन्तै प्रभावशाली कार्यकारीका रूपमा चिनिने गरेको द न्युयोर्क टाइम्समा क्याली ह्वाङ र ट्रिप मिकलले लेखेका छन् । उनीहरूले गत जनवरीमै टर्नसलाई ‘एप्पलको सीईओ बन्न सक्ने मानिस’ शीर्षकमा रिपोर्टिङ गरेका थिए ।
अब टर्नसले सिरी र आईफोनजस्ता एप्पलका लोकप्रिय प्रोडक्टमा ठूला सुधार ल्याउने अपेक्षा गरिएको छ । आउँदो जुनमा हुने वर्ल्डवाइड डेभलपर कन्फरेन्समा सिरीको अपडेट सार्वजनिक गरिने अनुमान छ । ब्लुमबर्गका अनुसार सेप्टेम्बरमा एप्पलले आफ्नो पहिलो फोल्डिङ आईफोन सार्वजनिक गर्ने योजना बनाएको छ ।
केही दिनअघि मात्रै पत्रकार मार्क गुर्म्यानले फोल्डेबल आईफोनको डिजाइन बजारमा रहेका अन्य प्रतिस्पर्धी डिभाइससँग मिल्दोजुल्दो हुने भए पनि केही विशेषताले फरक हुने उल्लेख गरेका थिए । सन् २०२७ मा आईफोनको दुई दशक पूरा हुने अवसर पारेर थप ठूला परिवर्तनको तयारी भइरहेको गुर्म्यानले आफ्नो समाचारमा लेखेका छन् । (एजेन्सीको सहयोगमा)
