इन्धन र क्रिप्टोको मूल्यसँग सम्बन्धित सट्टेबाजी र प्रेडिक्सन मार्केटमा अचानक ठूलो रकमको गतिविधि देखिएको भन्दै सञ्चारमाध्यमहरूले निरन्तर प्रश्न उठाइरहेका छन् ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवार वा उनको सरकारका उच्च अधिकारीहरू बेटिङ र प्रेडिक्सन मार्केटमा बाजी लगाउने गतिविधिमा संलग्न भएको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमामाध्यमले निरन्तर उजागर गरिरहेका छन् । बीबीसीको अनुसन्धानअनुसार ट्रम्पले कुनै ठूलो घोषणा गर्नुभन्दा ठिक केही मिनेट वा घण्टाअघि बजारमा असामान्य कारोबार हुने प्रवृत्ति बारम्बार देखिएको छ ।
इन्धन र क्रिप्टोको मूल्यसँग सम्बन्धित सट्टेबाजी र प्रेडिक्सन मार्केटमा अचानक ठूलो रकमको गतिविधि देखिएको भन्दै न्युयोर्क टाइम्स, सीएनएन, द गार्डियनलगायत सञ्चारमाध्यमहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । प्रत्यक्ष रूपमा कुनै गैरकानुनी काम भएको प्रमाण हालसम्म नभेटिए पनि महत्त्वपूर्ण राजनीतिक निर्णय आउँदा उच्च मूल्यका सट्टेबाजी कारोबार सोही समयमा बारम्बार दोहोरिनु संयोग मात्र नभएको उनीहरूको तर्क छ । यसले इन्साइडर ट्रेडिङ भनिने गोप्य सूचनाको पहुँचका आधारमा बजार चलिरहेको त होइन भन्ने प्रश्न उठेको हो ।
गार्डियनले प्रकाशित गरेको एक रिपोर्टमा ट्रम्पले इरानमाथिको युद्ध घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै अमेरिका-इरान युद्ध हुने भविष्यवाणीसहित १ लाख अमेरिकी डलरका १६ वटाभन्दा बढी बाजी लगाइएको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको सत्ता ढल्ने वा अमेरिकाले अस्थायी युद्धविराम घोषणा गर्नुभन्दा केही समयअघि मात्र इन्धनको मूल्य घट्ने भन्दै ठूलो रकम सट्टेबाजीमा लगाइएको गार्डियनको समाचारमा उल्लेख छ ।
बीबीसीको अनुसन्धानले पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पदच्युत हुनेगरी गरिएको अपरेसनको केही समयअघि मात्रै त्यस्तो हुने भविष्यवाणी गरिनु र ट्रम्पका हरेक महत्त्वपूर्ण भूराजनीतिक घोषणा हुने केही समयअघि मात्र सट्टेबाजी बजारमा असाधारण हलचल बढ्नुले ट्रम्पको परिवार वा सरकारका कुनै व्यक्ति यस्ता सूचनाको इन्साइडर ट्रेडिङमा संलग्न रहेको आशंका गरेको छ । डेमोक्र्याट नेताहरू एलिजाबेथ वारेन, सेल्डन ह्वाइटहाउस, टिम वाल्जलगायतले पनि गोप्य सूचनाको दुरूपयोग भएको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् । इरान युद्धसँग सम्बन्धित भविष्यवाणीको सट्टेबाजीमा मात्रै १ अर्ब अमेरिकी डलरभन्दा बढीको बाजी थापिएको द गार्डियनको दाबी छ ।
ट्रम्पले विभिन्न विषयमा आधिकारिक घोषणा गर्नुअघि करोडौं डलर बराबरको सट्टेबाजी गरिएका पाँच महत्त्वपूर्ण घटनाबारे बीबीसीले विस्तृत लेखाजोखा गरेको छ । प्रेडिक्सन प्लाटफर्महरूमा अज्ञात खाताबाट ठूला सट्टेबाजीहरू भएको उल्लेख गरिएको छ । सर्वसाधारणले सहजै अनुमान गर्न नसक्ने घटना वा त्यसबारेमा हुने निर्णय पहिल्यै अनुमान गरेको देखिन्छ । यस्ता प्लाटफर्महरूमा ट्रम्प परिवारको सम्बन्धले थप चासो बढाएको छ । सट्टेबाजी प्लाटफर्म ‘कल्सी’ मा डोनाल्ड ट्रम्प जुनियर रणनीतिक सल्लाहकारका रूपमा कार्यरत रहेको भन्दै कल्सी न्युजमा समाचार आएको छ ।
यस उद्योगको आकारले नियमनको चिन्ता बढाएको छ । प्रेडिक्सन मार्केट अहिले २० अर्ब अमेरिकी डलरभन्दा बढीको बजार बनेको ‘लेट नाइट’ कार्यक्रम सञ्चालक जोन ओलिभरले प्रस्तुत गरेका छन् । प्रयोगकर्ताले भविष्यमा हुन सक्ने घटनाबारे अनुमान लगाएर रकम बाजी थाप्न मिल्ने प्लाटफर्म पनि अहिले बढिरहेका छन् । नेपालकै घटनाक्रमका विषयमा पनि पोलिमार्केट, कल्सीजस्ता प्लाटफर्ममा बाजी थाप्ने गरिएको छ ।
ट्रम्प सरकारसँग जोडिएका नीतिगत संकेतहरूमा आधारित सट्टेबाजीले छोटो समयमै लाखौं डलर मुनाफा दिएको बताइन्छ । अहिले यस्ता प्लाटफर्महरूले सैन्य गतिविधिदेखि नेतृत्व परिवर्तनसम्मका विषयमा सट्टेबाजी गर्न अनुमति दिन थालेका छन् । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसले भने यस्ता घटनामा आफ्नो कुनै संलग्नता नभएको जनाएको छ । तर, नियामक निकायहरूले कारोबारको विवरण जाँच बढाउँदा र एकपछि अर्को अनुसन्धानमा शंकास्पद कारोबार देखिँदा यो विवाद थप गहिरिँदै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
