इरान समर्थक एकाउन्टहरूले मिसाइल आक्रमणदेखि नेतान्याहुको मृत्युको हल्लासम्म फैलाउँदै सामाजिक सञ्जालमा ट्रम्प र नेतान्याहुलाई व्यापक ट्रोल गरे । इरानबारे हल्ला फैलाउन र आफ्ना उपलब्धिलाई बढाइचढाइ प्रस्तुत गर्न इजरायल र अमेरिकासमर्थित एकाउन्टहरू पनि सक्रिय रहे ।
What you should know
काठमाडौँ — झन्डै ४० दिन चलेको अमेरिका/इजरायल-इरान आक्रमणका अनेक अपडेटसँगै विश्वभर इरानसमर्थित विभिन्न एकाउन्टको ट्रोल गतिविधि पनि चर्चित रह्यो । हाल २ साताको युद्धविरामसम्म आइपुग्दा इरानले आफ्ना हतियार, सूचना प्रविधि टुल र एक्स, फेसबुक, टिकटकलगायत सञ्जाललाई आफ्नो पक्षमा माहोल बनाउन भरपुर प्रयोग गरेको देखियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरूको प्रत्युत्तर दिन र तिनलाई खारेज गर्न पनि इरानले अनलाइन माध्यम व्यापक प्रयोग गरेको टाइम्स अफ इजरायलको रिपोर्टमा उल्लेख छ ।
२ साताअघि इजरायल र अमेरिकाले इरानमाथि लगातार हमाला गरिरहेका बेला इरानी सेनाका प्रवक्ता इब्राहिम जोल्फाघरी भने अनौठो स्वरूपमा देखिए । युद्ध सुरु भएयता इरानी सेना र सरकारको प्रवक्तासँगै विश्वमा चिनिने अनुहार बनेका ब्रिगेडियर जनरल इब्राहिम उक्त भिडियोमा मिसाइल प्रहार भइरहेको ठाउँसामू स्केटबोर्डमा चढेर फलफूलको जुस पिउँदै भिडियो बनाइरहेका देखिन्थे । आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को प्रयोगबाट बनाइएको मानिए पनि ‘दक्षिण अफ्रिकाको लागि इरानी दूतावास’ नामक एक्स एकाउन्टबाट उक्त भिडियो पोस्ट भएपछि भाइरल बन्यो । धेरैले त्यसलाई इरानी सेना र पूर्वाधारलाई आफूले तहस-नहस बनाइसकेको भन्ने अमेरिकी/इजरायली दाबीविरूद्ध बोल्ड प्रत्युत्तरका रूपमा लिए ।
सामाजिक सञ्जालमा बाक्लै सेयर हुने इरानी सेनाका प्रवक्ता इब्राहिमका भिडियोहरूमा ट्रम्पलाई उनकै शैलीमा ‘तिमी बर्खास्त भयौ’ भन्नेलगायत अभिव्यक्ति दिएको देखिन्छ । उनले इरानी सेना छिन्नभिन्न भइसकेको वा इरान सरकारले सम्झौता गर्न खोजेको भन्ने ट्रम्पका दाबीहरूको पनि ठट्यौलो शैलीमा प्रतिवाद गरेका छन् । अमेरिका/इजरायलले नामकरण गरेको ‘अपरेसन एपिक फ्युरी’लाई ‘अपरेसन एपिक फियर’ सम्म भन्न भ्याएका छन् ।
इब्राहिमसँगै इरानी विदेशमन्त्री अब्बास अराघ्ची, इरानको संसद्का सभामुख बाघेर घलिबाफ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइ पनि सामाजिक सञ्जालको सहयोगमा पछिल्लो युद्धमा इरानको प्रतिनिधि अनुहार बने ।
विभिन्न मिडियाले इरानमाथिको प्रतिबन्ध सामाजिक सञ्जाल कम्पनीहरूले पालना नगरेको र उनीहरूलाई भेरिफाइड एकाउन्ट बेचेको भन्दै प्रश्न उठाए । दिवंगत इरानी सर्वोच्च नेता आयतोल्लाह खामेनीसँगै विभिन्न इरानी सरकारी निकाय, दूतावास, कन्सुलेट र मिडियाले भेरिफाइड एकाउन्ट लिएका छन् । यस्ता आधिकारिक एक्स एकाउन्टहरू २ देखि ३ दर्जनको संख्यामा रहेको समाचार सार्वजनिक भएका छन् ।
इरानको समर्थनमा भ्रामक, सम्पादित र पुराना कन्टेन्ट सेयर गर्ने दर्जनौँ एकाउन्टमा अत्यन्तै उच्च इन्गेजमेन्ट रहेको टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ । उदहारणको लागि ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज खुरुक्क खोल्नु’ भनेर आफ्नो ट्रुथ सोसल मिडियामार्फत दिएको धम्कीमा जिम्बाबेस्थित इरानी दूतावास नामक एकाउन्टले हमुर्ज खोल्न ‘साँचो नै हरायो’ भनेर ट्रोल गरेको थियो । यस्तै, इरानका ऊर्जा उत्पादन केन्द्र, पुलजस्ता पूर्वाधार ध्वस्त पार्ने ट्रम्पले चेतावनी दिँदा, त्यसको उत्तरमा बेलायतस्थित इरानी दूतावास नामक एकाउन्टले अमेरिकी चर्चित लेखक मार्क ट्वेनको भनाइ पोस्ट गरेको थियो, ‘मान्छेहरूको दुविधा हटाउन आफ्नो मुख खोल्नुभन्दा मुख बन्द राखेरै मान्छेहरूलाई यो त मूर्ख रहेछ भनेर सोच्नु दिनु उत्तम हुन्छ ।’
इरानी सेनाका आक्रमण र प्रत्याक्रमण गतिविधिलाई बढाइ-चढाइ र मिथ्या रूपमा प्रस्तुत गर्न इरान समर्थित ट्रोल एकाउन्टहरू सक्रिय रहेको न्युयोर्क टाइम्सको विश्लेषणमा एफ्रात लिभ्नी र परिन बेहरुजको ठहर छ । तर, इरानबारे हल्ला फैलाउन र आफ्ना उपलब्धिलाई बढाइ-चढाइ प्रस्तुत गर्न इजरायली र अमेरिकासमर्थित एकाउन्टहरू पनि पछि नपरेको उनीहरूले उल्लेख गरेका छन् । कतिपय अवस्थामा फारसी र अरबी भाषामा समेत अनुवाद गरेर पोस्ट गरिने यी सामाजिक सञ्जाल कन्टेन्टमा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानीहरूलाई आ-आफ्नो स्थानबाट उठेर इरानको अहिलेको सरकार ढाल्न गरेको आग्रहसमेत सामेल थिए ।
इरानसमर्थित एकाउन्टहरूले एकपछि अर्को पोस्टमा इजरायली प्रम नेतान्याहु र वरिष्ठ दक्षिणपन्थी नेता बेन जिभिरको मृत्यु भइसकेको हल्ला फैलाउन थालेपछि नेतान्याहु आफैँले ३-४ वटा भिडियो पोस्ट गरेर जिवितै रहेको दाबी गर्नुपरेको थियो । अमेरिकी सरकारले त व्हाइट हाउस वा रक्षामन्त्रीलगायतकै आधिकारिक एकाउन्टबाट युद्धसम्बन्धी सिनेमा र अमेरिकी पपकल्चरका सुपरहिरोसहितका मीम र फुटेजहरू पोस्ट गरेर अमेरिकीहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले एक्समा पोस्ट गरेको ‘अमेरिकी तरिकाको न्याय’ भन्ने सन्देशसहित बेन स्टिलरको फिल्मको ४१ सेकेन्ड लामो क्लिपलाई झन्डै ६ करोड ५० लाखले हेरेका छन् । फिल्मका निर्माताले भने ‘युद्ध भनेको सिनेमा होइन’ भन्दै ट्रम्प प्रशासनको आलोचना गरेका छन् । अमेरिकी रक्षामन्त्री, विदेश मन्त्रालयलगायत निकायले पनि राष्ट्रपतिकै शैलीमा छोटा, धम्कीले भरिएका र अमेरिकी पपकल्चरसँग मिल्ने शैलीका मीम, फिल्मका क्लिप र अन्य ट्रोल झन्डै ४० दिन चलेको युद्धमा प्रशस्तै पोस्ट गरेको भेट्न सकिन्छ ।
सर्वसाधारणलाई इन्टरनेटको प्रयोग निषेध गरेको इरान सरकारले आफ्ना सन्देश फैलाउन सयौँको संख्यामा ट्रोल र समर्थक एकाउन्ट प्रयोग गर्यो । साथै, अमेरिकाको प्रतिकार गरेको भाष्य फैलाउन चिनियाँ, रूसी, उत्तर कोरियाली भाषामासमेत पोस्ट गरेको टाइम्स अफ इजरायल र न्युयोर्क टाइम्सका समाचारमा उल्लेख छ । एक्सले इरानको पक्षमा भ्रम फैलाएको भन्दै झन्डै २ दर्जन भेरिफाइड एकाउन्ट सस्पेन्ड गरिदिएको थियो । तथापि, इरान समर्थकहरूले ट्रम्प र नेतान्याहुलाई ट्रोल गेममा आच्छु आच्छु पारेको देखियो ।
