हराएको किटक्याट ट्रेन्डमा नेपालका एनसेल, सेन्चुरी मसला, फोनपे लगायत कम्पनीले आफ्नै शैलीमा रमाइलो पोस्ट र क्याम्पेन चलाइरहेका छन् ।
What you should know
काठमाडौँ — सामाजिक सञ्जालमा अहिले एउटा रमाइलो ट्रेन्ड भाइरलजस्तै बनेको छ । यसमा विभिन्न ठूला ब्रान्डहरूले हराएको १२ टन किटक्याट खोजी गरिरहेका छन् ।
नेपालमा एलसेलदेखि सेन्चुरी मसला, फोनपे, त्रिशारा रेस्टुरेन्ट लगायतले हराएको किटक्याट खोजिरहे पनि फेला पार्न नसकेको आफ्ना पोस्टमा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय रूपमा माइक्रोसफ्ट, डोमिनोज पिज्जा, केएफसीलगायतले ‘चलकेट फेला नपरे पनि हाम्रा यी सेवाहरू त छँदै छन्’ भन्ने आशयका रचनात्मक पोस्टमार्फत आफ्नो प्रचार गरिरहेका छन् ।
यस्तो खाले मार्केटिङ क्याम्पेनको सुरुवात युरोपमा भएको एउटा वास्तविक घटनाबाट भएको हो । गत मार्च अन्तिम साता इटालीबाट पोल्यान्डतर्फ जाँदै गरेको एउटा ट्रकबाट करिब १२ हजार किलो (४ लाख १३ हजार ७ सय ९३ वटा ) किटक्याट चोरी भएको थियो । त्यसरी चोरिएका किटक्याट अझै फेला परेका छैनन् । त्यो घटनापश्चात् किटक्याट उत्पादक नेस्लेले आफ्नो नारा ‘विश्राम लिनुस्, किटक्याट खानुस्’ लाई चोरहरूले साह्रै गम्भिरतापूर्वक लिएर १२ हजार किलो किटक्याटको विश्राम लिएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेको थियो ।
साथै, नेस्लेले हराएका किटक्याट पहिचान गर्न ‘स्टोलन किटक्याट ट्रयाकर’ नामक वेबसाइट पनि सार्वजनिक गरेको छ । सो वेबसाइटमा गएर गएर ग्राहकले किटक्याटको खोलको पछाडी रहेको ८ अंकको ब्याच नम्बर हालेपछि चोरी भएको किटक्याट हो कि होइन भनेर थाहा पाउन सकिन्छ । कसैको किटक्याट चोरी भएको ब्याचसँग मिल्यो भने, वेबसाइटले उनलाई के गर्ने र कसरी कम्पनीलाई थप सूचना दिने भन्नेबारे गाइड गर्छ । किटक्याट हराएको घटनालाई इन्टरनेटमा 'द ग्रेट चकलेट हाइस्ट' को संज्ञा दिइएको छ ।
यत्तिका किटक्याट बार चोरी हुँदा पनि नेस्लेले यो विषयमा रोइकराइ गर्नुसट्टा रचनात्मक मार्केटिङ क्याम्पेनमा परिणत गरेपछि विश्वका ब्रान्डले यसलाई अहिले पछ्याइरहेका हुन् । किटक्याटको नारा ‘ह्याभ अ ब्रेक, ह्याभ अ किटक्याट’ थिममा रहेर रोचक शैलीका प्रचार भइरहेका छन् । नेपालका स्थापित ब्रान्डहरूले पनि आफ्नै शैलीमा ‘ट्रेन्ड ज्याकिङ’ गरिरहेको देखिन्छ ।
सेन्चुरी मसला तथा स्न्याक्सले आधिकारिक विज्ञप्ति जारी गर्दै आफूहरूले हराएको किटक्याट जताततै खोजेको तर कतै नभेटिएको, बरु आफ्नै कुरमुरे र चिजबलमा मानिसहरू झुमिरहेको भन्दै रमाइलो पोस्ट गरेको छ । मुदिता स्टोरले गेम खेल्न व्यस्त भएकाले समाचार सुन्न ढिलो भएको भन्दै नयाँ ल्यापटपमार्फत ‘परफर्मेन्स ब्रेक’ लिन सुझाव दिएको छ ।
दूरसञ्चार सेवा प्रदायक, एनसेलले हराएको १२ हजार किलो चकलेटप्रति सहानुभूति प्रकट गर्दै आफ्नै सस्तो कल रेटको अफरलाई ‘ब्रेक’ सँग जोडेर प्रस्तुत गरेको छ । टेक कम्पनी, फोन पेले आफ्नो नेटवर्कका लाखौँ मर्चेन्टमाझ कतै पनि अवैध रूपमा किटक्याट बिक्री नभएको तर व्यवसायीहरू फोन पे बिजनेस एपका कारण ढुक्क रहेको भन्दै यस ट्रेन्डमा सहभागिता जनाएको छ ।
त्रिशारा रेस्टुरेन्टले किटक्याटको दुःखद खबरप्रति समवेदना प्रकट गर्दै हराएको ढुवानीबारे ठोस सूचना दिने व्यक्तिलाई १ हजार प्लेट बफ सुकुटी उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, हिमालयन ह्वाइट हाउसले पनि यस स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै अप्रिल १५ सम्म आफ्नो कार्यालय भ्रमण गर्नेहरूका लागि नि:शुल्क भिसा प्रोसेसिङको अफर ल्याएर यो ट्रेन्डलाई आफ्नो व्यवसाय प्रवर्द्धनसँग जोडेको छ ।
अन्तर्राष्ट्रिय ब्रान्हरूमा माइक्रोसफ्ट, डोमिनोज पिज्जा, केएफसी, ड्युरेक्सजस्ता ठूला कम्पनीहरूले यो ट्रेन्डमा भाग लिएका छन् । डोमिनोज यूकेले ठट्टा गर्दै अब आफूहरूले ‘किटक्याट पिज्जा’ बेच्न थाल्ने घोषणा गरेको छ । क्यास्परस्की र म्याकाफीजस्ता साइबर सुरक्षा कम्पनीहरूले चकलेट जोगाउन नसके पनि डेटा जोगाउन आफूहरू तयार रहेको भन्दै विज्ञापन गरेका छन् । हराएको चकलेट खोज्ने यो अभियान अहिले व्यापारिक प्रचारप्रसारको निकै प्रभावकारी र मनोरञ्जनात्मक माध्यम बनेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका पनि यो घटना 'मिम फेस्ट' जस्तो बनेको छ । टिकटक र फेसबुकमा मानिसहरूले 'हराएको किटक्याट मेरो फ्रिजमा छ कि क्या हो ?' भन्दै रित्तो फ्रिजका भिडियोहरू बनाइरहेका छन् । कतिपय नेपाली प्रयोगकर्ताले भने चकलेट मनपराउने आफ्ना साथीभाइलाई ट्याग गर्दै 'तैँले त चोरेको होइन नि ?' भनी जिस्काइरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा यसकै नामबाट 'रिमेम्बर किटक्याट' नामक क्रिप्टोकरेन्सीसमेत बनिसकेको छ । यो चोरीको घटना अहिले एउटा विश्वव्यापी मिम वा डिजिटल चुट्किलामा रुपान्तरण भएको छ ।
