नेपालीसहित ५६ लाख मानिसका नाम चन्द्रमातिर जाँदै

नासाले सेन्ड योर नेम टु स्पेस अभियानमार्फत विश्वभरका ५६ लाख ४७ हजार ८८९ जनाको नाम चन्द्रमातर्फ पठाएको छ । त्यसमा नेपालका नागरिकसमेत सहभागी छन् ।

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

The names of 5.6 million people, including Nepalis, are heading to the moon

What you should know

काठमाडौँ — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टेमिस-२’ मिसनमा चार अन्तरिक्षयात्री मात्रै होइन, ५६ लाखभन्दा धेरै मानिस पनि चन्द्रमातर्फ गइरहेका छन् । नासाले ‘सेन्ड योर नेम टु स्पेस’ अभियान चलाएर विश्वभरका मानिसहरूलाई चन्द्र यात्रामा सहभागी हुने अवसर दिएको थियो । त्यसमा नेपालसहित विश्वभरका ५६ लाख ४७ हजार ८८९ ले नाम दर्ता गराएर बोर्डिङ पास लिएका थिए ।

ती सबै नामहरूलाई डिजिटल एसडी कार्डमा भण्डारण गरिएको छ । सो एसडी कार्ड अहिले चारजना अन्तरिक्षयात्री सवार रहेको ओरियन अन्तरिक्षयानभित्रै छ । पृथ्वीको गुरुत्वाकार्षण रहने क्षेत्रसमेत कटेर चन्द्रमातर्फ लगभग आधा दूरी पार गरिसकेको यान अब एक सातापछि चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछ । 

The names of 5.6 million people, including Nepalis, are heading to the moon

यस अभियानालाई सबैको साझा र समावेशी बनाउन नासाले मानिसहरूको नाम अन्तरिक्षमा सँगै लगेको हो । यसले विशेषगरी नयाँ पुस्ताका विद्यार्थीलाई विज्ञान र प्रविधिप्रति आकर्षित गर्ने नासाको विश्वास छ । यसरी लाखौँ मानिसका नाम र सपना बोकेर आर्टेमिस-२ अन्तरिक्ष अन्वेषणमा निस्किएको छ ।  

शनिबार साँझसम्म अन्तरिक्षयात्री र ५६ लाखभन्दा धेरै मानिसका नामहरू पृथ्वीबाट १ लाख ६० हजार माइल भन्दा टाढा पुगिसकेको नासाले जनाएको छ । यस मिसनमा कमान्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी ह्यानसेन रहेका छन् ।

उनीहरू चन्द्रमाको सतहमा भने ओर्लिने छैनन् । तर, चन्द्रमाको दक्षिणी ध्रुव वा पछाडिको भागसम्म पुगेर एउटा फन्को लगाउनेछन् । ५३ वर्षपछि मानव टोली चन्द्रमाको यति नजिक पुगेको यो पहिलो पटक हो । यो मिसनले भविष्यमा चन्द्रमामा मानिस उतार्ने बलियो आधार तयार गर्नेछ ।

कान्तिपुर

Link copied successfully