अमेरिकी प्रविधि कम्पनी ओर्याकलले संरचनागत हेरफेर र एआई प्रविधिको प्रयोगलाई अगाडि बढाउँदै १२ हजार भारतीयसहित ३० हजार कर्मचारी कटौती गर्ने भएको छ ।
What you should know
काठमाडौँ — अमेरिकी बहुराष्ट्रिय कम्प्युटर प्रविधि कम्पनी ओर्याकलले एकसाथ ३० हजार कर्मचारी निष्कासन गर्ने घोषणा गरेको सीएनबीसीले जनाएको छ । यसमध्ये १२ हजारजना भारतस्थित कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । यो एक वर्षयताकै उच्च संख्यामा कर्मचारी कटौती हो ।
टेक्ससको अस्टिनमा मुख्यालय रहेको कम्पनीले मंगलबार साँझ इमेलमार्फत कर्मचारीहरूलाई संरचनागत हेरफेरका कारण कतिपय पदहरू खारेज गरिएको भन्दै कार्यालय नआउन सूचना पठाएको थियो । सन् २०२५ को मे महिनासम्म कम्पनीका विश्वभर करिब १ लाख ६२ हजार पूर्णकालीन कर्मचारी थिए ।
कम्तिमा पछिल्लो एक वर्षदेखि भारतस्थित कम्पनीको कार्यालयमा रहेका र हाल कामबाट निकालिएका कर्मचारीलाई ओर्याकलले १५ दिनको पारिश्रमिक उपलब्ध गराएको हिन्दुस्तान टाइम्सले जनाएको छ । साथै, सेवा अन्त्य भएको मितिसम्म एक महिनाको भुक्तानी हुन बाँकी तलब, सञ्चित बिदाको पैसा, योग्यताको आधारमा उपदान र एक महिनाको सूचना अवधिको तलब दिने प्रस्ताव गरेको छ ।
कर्मचारीहरूलाई उनीहरूको कामका आधारमा नहटाएको कम्पनीका वरिष्ठ व्यवस्थापक माइकल सेफर्डले लिंक्डइन पोस्टमा खुलाएका छन् । ‘वरिष्ठ इन्जिनियर, आर्किटेक्ट, अपरेसन्स लिडर, प्रोग्राम म्यानेजर, प्रविधि विशेषज्ञहरूलाई बिदाइ गरिएको छ,’ उनले लेखेका छन्, ‘उनीहरूलाई कामको आधारमा वा केही गरे वा नगरेको आधारमा हटाइएको होइन ।’ कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत कतिपय काम स्वचालित गर्न खोजेको बताइन्छ ।
ओर्याकलले एआईमा ठूलो लगानी गरिरहेको र आन्तरिक रूपमा व्यापक एआई टुलहरू प्रयोग गरी थोरै कर्मचारीलाई धेरै काम गर्न समक्ष बनाउने रणनीति लिएको कम्पनीका कतिपय उच्च कर्मचारीले बताउँदै आएका छन् ।
‘एआई कोडिङ टुलहरूको प्रयोगले सानै इन्जिनियरिङ टिममार्फत हाम्रा उपभोक्त्तालाई प्रभावकारी र उपयुक्त सलुसनहरू छिटो उपलब्ध गराउन सम्भव भएको छ,’ कम्पनीका सहायक प्रमुख कार्यकारी माइक सिसिलियाले केहि दिनअघि भनेका थिए ।
बीबीसीका अनुसार सिसिलियाले यस्ता एआई टुलहरूले सम्भावित ग्राहक पहिचान गर्ने नयाँ तरिका र ओर्याकल सेवाहरूको स्वाचालित बिक्रीमा मद्दत पुर्याएका छन् । कम्पनीले हालै आफ्नो नयाँ कर्पोरेट वेबसाइट निर्माण गर्न पनि एआई प्रयोग गरेको उनले जानकारी दिएका थिए ।
विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, ओर्याकलले विश्वभरका कम्पनीहरूलाई सफ्टवेयर र क्लाउड कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउँदै आएको छ । यसका सह-संस्थापक एवं अध्यक्ष ल्यारी एलिसन विश्वका सर्वाधिक धनी व्यक्तीमा पर्छन् ।
