एफबीआईका निर्देशक काश पटेलको इमेल इरानी समूहद्वारा ह्याक

इरानसँग सम्बन्धित 'ह्यान्डाला ह्याक टिम'ले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत इमेलमा पहुँच पाएको दाबी गर्दै कागजात र तस्बिर सार्वजनिक गरेको छ ।

चैत्र १३, २०८२

एजेन्सी

FBI Director Kash Patel's email hacked by Iranian group

काठमाडौँ — इरानसँग सम्बन्धित ह्याकर समूहले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत इमेल खाता ह्याक गरिदिएको दाबी गरेको छ । अमेरिका-इजरायल-इरान युद्धका बीच अमेरिकी सुरक्षा संयन्त्रमाथि नयाँ प्रश्न उब्जाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

रोयटर्समा प्रकाशित रिपोर्टअनुसार 'ह्यान्डाला ह्याक टिम' नामक समूहले पटेलको व्यक्तिगत इमेलमा पहुँच पाएको दाबी गर्दै केही तस्बिर र कागजात सार्वजनिक गरेको छ । अमेरिकी न्याय मन्त्रालयका अधिकारीले इमेल ह्याक भएको पुष्टि गर्दै सार्वजनिक गरिएका सामग्री सही देखिएको बताएका छन् । तर, एफबीआईले भने यसबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

सीएनएनले उक्त समूह इरानी राज्यसमर्थित साइबर गतिविधिसँग जोडिएको हुन सक्ने बताएको छ । यद्यपि आक्रमणको पूर्ण दायरा अझै स्पष्ट भएको छैन । समूहले पटेलको व्यक्तिगत इमेल खातामा आफूले पूर्ण पहुँच पाएको दाबी गर्दै इमेल, कागजात र सम्भावित गोप्य सूचना आफूसँग भएको उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार सार्वजनिक गरिएका इमेलहरूमा सन् २०१० देखि २०१९ सम्मका व्यक्तिगत तथा व्यावसायिक संवादहरूको मिश्रण भएको देखिन्छ । सो अवधिमा पटेल अमेरिकी राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालमा सुरक्षा अधिकारीको रूपमा र न्याय मन्त्रालयका विभिन्न जिम्मेवारीहरूमा संलग्न थिए । 

एजेन्सी

Link copied successfully