वासिङ्टनले एआईमा आधारित रक्षा प्रणालीमा अर्बौं डलर खर्च बढाएको छ । त्यसैमध्ये ‘माभेन’ कार्यक्रमको लागि गरिएको करिब १.३ अर्ब डलरसम्मको सम्झौता पनि एक हो । ब्लुमबर्गका अनुसार माभेन एआईमा आधारित ‘ब्याटलफिल्ड कमान्ड-एन्ड-कन्ट्रोल’ प्लाटफर्म हो ।
What you should know
काठमाडौँ — पश्चिम एसियामा बढ्दो युद्ध तनावबीच अमेरिकाले एकपछि अर्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र प्रणालीलाई औपचारिक रूपमै आफ्नो सैन्य पूर्वाधारको केन्द्रमा राख्न थालेको छ । रोयटर्सका अनुसार अमेरिकी सैन्य मुख्यालय, पेन्टागनले पालान्टिर टेक्नोलोजिजको ‘माभेन स्मार्ट सिस्टम’ लाई स्थायी ‘प्रोग्राम अफ रेकर्ड’ बनाउने तयारी गरिरहेको छ ।
गत महिना मात्रै पेन्टागनले ओपनएआईको च्याटजीपीटी मोडेलहरूलाई सरकारी प्रयोगका लागि विस्तार गर्ने घोषणा गरेको थियो । त्यसअघि प्रयोग हुँदै आएको एन्थ्रोपिकको क्लउडलाई सुरक्षाजन्य चिन्ताको कारण देखाउँदै सरकारी प्रयोगभन्दा बाहिर राख्ने घोषणा गरिएको गरिएको थियो ।
माभेनले भूउपग्रह, ड्रोन र युद्ध क्षेत्रमा तैनाथ विभिन्न सेन्सर प्रणालीबाट डेटा एकीकृत गरेर विश्लेषणसहितको जानकारी तयार गर्छ । यसले पछिल्ला केही हप्तामै इरानसँग सम्बन्धित हजारौँ आक्रमणमा सहयोग गरिसकेको बताइन्छ । पहिले-पहिले घण्टौँ लाग्ने विश्लेषण यसले केही मिनेटमै सम्पन्न गर्न सम्भव बनाएको छ । यो प्रणालीले सैन्य रणनीतिकारलाई युद्ध मैदानका वस्तु पहिचान, गतिविधि निगरानी र हतियार चयन एउटै इन्टरफेसबाट गर्न दिने भएकाले युद्धको अवस्थामा निर्णायक अग्रता हासिल गर्ने अमेरिकी रणनीतिलाई बल दिएको ठानिएको छ ।
यस्तै, एआईमा आधारित निगरानी र लक्षित प्रणालीहरू दक्षिण अमेरिकालगायत क्षेत्रहरूमा पनि विस्तार भइरहेका छन् । यसले गर्दा डेटामा आधारित गुप्तचर कार्य पहिलेभन्दा धेरै प्रभावकारी बन्दै गइरहेको अमेरिकी अधिकारीहरूको दाबी छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने सैन्य अभियानमा एन्थ्रोपिकको एआई उपकरण क्लाउडको व्यापक प्रयोग भएको अमेरिकी प्रतिवेदनहरूमै उल्लेख छ । अमेरिकी रक्षा मन्त्रालयले फरक प्रक्रितिका विभिन्न एआई सेवा र प्रणालीका लागि ओपनएआई, क्लाउड, गुगल, माइक्रोसफ्टजस्ता कम्पनीहरूसँग दसौँ लाख डलरको सम्झौता गरिसकेको छ ।
एआई प्रविधि र प्लाटफर्महरूले बढाएको डेटा विश्लेषणलगायत क्षमतासँगै व्यापारिक रूपमा पनि यो प्रविधिमा प्रतिस्पर्धा तीव्र बन्दै जाने देखिएको छ । रक्षा र सैन्य सम्झौताहरू अहिले एआई कम्पनीहरूका लागि सबैभन्दा आकर्षक बजारजस्तो बनेका छन् । यसले सिलिकन भ्यालीलाई अमेरिका, युरोपलगायत विभिन्न देशको राष्ट्रिय सुरक्षामा गहिरो रूपमा जोडेको छ । पालान्टिरको आम्दानी बढ्दो मागसँगै तीव्र रूपमा बढिरहेको छ भने ओपनएआईले अमेजनको क्लाउडमार्फत सरकारी निकायलाई सेवा दिन थालेपछि उसले पनि अति गोप्य रक्षा कार्यमा प्रवेश गरेको संकेत दिएको छ ।
त्यस्तै, एन्थ्रोपिकको प्रविधिलाई पेन्टागनले ‘सप्लाई चेन जोखिम’ भन्दै प्रतिबन्ध लगाएपछि यसमा नैतिक मापदण्ड र सैन्य आवश्यकताबीचको टकराव स्पष्ट भएको छ । रोयटर्स विश्लेषकहरूका अनुसार, यसले नयाँ रक्षा प्रविधि अर्थतन्त्रको सिर्जना गरेको छ । यसअन्तर्गत सरकारी सम्झौता पाउनु आम्दानीको स्रोत मात्र नभई बजारमा विश्वसनीयताको संकेत पनि बन्न थालेको छ ।
विश्वस्तरमा अमेरिका मात्र होइन, अन्य देशहरू पनि एआईमा आधारित सैन्य प्रणालीतर्फ अघि बढिरहेको देखिन्छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ओपनएआईको रक्षासम्बन्धी प्रणाली अपनाउने पहिलो संगठन बनेको थियो । चीन र रुसले स्वचालित हतियार, एआईको सहायतामा प्राप्त हुने कमान्ड प्रणाली र ड्रोन बिस्तारमा लगानी बढाइरहेका छन् । चीनले आफ्नै देशमा रहेका एआई कम्पनीहरूलाई पनि युद्धको मोर्चामै सक्रिय सहभागी हुन सक्ने गरी तयार गर्दै लगेको सन् २०२४ मै सार्वजनिक घोषणा गरेको थियो ।
यस्तो प्रवृत्तिले भविष्यको युद्ध अल्गोरिदम र डेटामा आधारित बनाउने संकेत गर्छ । मानवीय शक्ति वा परम्परागत हतियारभन्दा डेटा प्रोसेसिङ, विश्लेषण र डिसिजन मेकिङ स्पिड बढाउने प्रणालीहरू महत्वपूर्ण हुनेछन् । सैन्य बजेटहरू क्रमशः एआई, स्वचालित प्रणाली र साइबर क्षमतामा केन्द्रित हुँदै जाँदा आगामी भूराजनीतिक प्रतिस्पर्धा भौतिक हतियारभन्दा सफ्टवेयर प्रणालीमा आधारित हुने अनुमान लगाउन सकिन्छ ।
