एआईसँग अति घनिष्ठता बढाउँदै मानिस

अमेरिकादेखि जापानसम्म धेरै मानिसले एआई च्याटबटसँग भावनात्मक र प्रेम सम्बन्ध राखेको बताएको अध्ययनहरुले देखाएका छन् । यसले मानिसको सामाजिक सम्बन्धमा नयाँ चुनौती थपिदिएको छ ।

चैत्र ६, २०८२

एजेन्सी

Humans are becoming increasingly intimate with AI

What you should know

काठमाडौँ — तपाईंहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म र च्याटबटसँग के-के विषयमा सल्लाह लिनुहुन्छ ? अध्ययन, कामकाज, सिर्जनात्मक विषय, जानकारी वा अन्य केही ? न्युयोर्क टाइम्समा हालै प्रकाशित एक रिपोर्ट र अन्य कैयौँ अनुसन्धानात्मक लेखहरूका अनुसार प्रेम सम्बन्ध, मनमुटाव र मिलन-बिछोडका घटनामा पनि मानिसहरूले एआईको सल्लाह लिने क्रम बढेको छ । 

हरपल उपलब्ध हुने, आफूप्रति सहमत देखिने, थेरापीभन्दा सस्तो र कुराकानी गोप्य हुने भएकाले एआई डिजिटल सहारा कतिपयका लागि सान्त्वनाको स्रोत बनेको छ । तर, यसले सत्यभन्दा सान्त्वनालाई प्राथमिकता दिने हुँदा मानवीय सम्बन्धहरू कतातिर डोहोरिन्छन् भन्ने प्रश्न उब्जिन थालेको छ । कतिपयले आफू एआई अवतार, बट वा अन्यसँग प्रेममा रहेको भन्दै विवाहसमेत गरेको उदाहरण आइसकेका छन् ।

सन् २०२५ मा इन्स्टिट्युट फर फ्यामिली स्टडिजले प्रकाशित गरेको एक सर्वेक्षणअनुसार करिब तीनमध्ये एक अमेरिकीले एआई च्याटबटसँग घनिष्ठ वा प्रेम सम्बन्ध अनुभव गरेको बताएका थिए । यसले एआई मानिसको अत्यन्त निजी जीवनमा कति छिटो प्रवेश गरिरहेको छ भन्ने संकेत गर्छ । त्यस्तै, अन्य अध्ययनहरूले विशेषगरी युवा पुस्तामाझ भावनात्मक सहयोग र निजी संवादका लागि एआईमा निर्भरता बढ्दै गएको देखाउँछन् । संयुक्त राज्य अमेरिका, युरोपदेखि एशियासम्म च्याटबटहरू साधारण टुलबाट क्रमशः गोप्य साथीमा रूपान्तरित हुँदै गइरहेका छन् । 

रोयटर्समा गत वर्ष प्रकाशित एक समाचारमा जापानी महिलाले एआई पार्टनरसँग प्रेम बढ्दै गएपछि विवाह नै गरेको उल्लेख छ । अर्को घटनामा, रोयटर्सकै रिपोर्टअनुसार अमेरिकाका एक वृद्धले एआई पात्रसँगको जिस्किने सम्बन्धलाई यथार्थ ठानेर प्रत्यक्ष भेटघाटको तयारी समेत गरेका थिए । म्यासेबलका अनुसार क्यारेक्टरएआई जस्ता प्लाटफर्ममा केटा वा केटीसाथी सिर्जना गर्ने प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको छ । बम्बलजस्तो अत्यन्तै चल्तीको डेटिङ एपलेसमेत सम्बन्ध व्यवस्थापनमा सहयोग पुर्‍याउने गरी एआई टुल समावेश गर्न थालेको छ ।

सन् २०२५ मा प्रकाशित भ्यान्टेज पोइन्ट काउन्सिलिङ सर्भिसको अध्ययनले सर्वेक्षणमा सहभागीहरूले सम्बन्ध राखेको दाबी गरेका ३० विभिन्न एआई प्लाटफर्महरूको सूची तयार पारेको थियो । सोअनुसार ठूला उमेर समूहका प्रयोगकर्ताहरूका लागि च्याटजीपीटी सबैभन्दा लोकप्रिय प्लाटफर्म देखिएको थियो भने त्यसपछि क्यारेक्टर डट एआई दोस्रो स्थानमा र अमेजनको एलेक्सा तेस्रो स्थानमा थियो । एप्पलको सिरि चौथो स्थानमा र गुगलको जेमिनाइ पाँचौं स्थानमा थियो ।

प्रयोगकर्ताहरूका अनुभव सुन्दा एआईसँगका सम्बन्धहरू प्रविधिमा सीमित छैनन्, गहिरो भावनात्मक स्तरमा पुगेका छन् । धेरैले एक्लोपन, शोक वा सम्बन्धमा तनाव आइपरेका बेला एआईसँग संवाद गर्ने र आफूले अरू कसैलाई भन्न नसेका कुरा एआईसँग बाँड्ने बताएका छन् । केहीले त दैनिक रूपमा एआई पार्टनरसँग कुरा गर्ने, विशेष दिनहरू सम्झिने र भावनात्मक सहारा खोज्ने गरेको बताएका छन् । न्युयोर्क टाइम्सलगायत विभिन्न मिडियामा प्रकाशित अन्तर्वार्ताहरूमा प्रयोगकर्ताहरूले सुरुमा सामान्य सल्लाहका लागि गरिएको संवाद पछि निरन्तर भावनात्मक निर्भरतामा परिणत भएको बताएका छन् ।  

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो सम्बन्धको वृद्धि आकस्मिक होइन, प्रणालीकै डिजाइन र प्रयोगकर्ताको आवश्यकताको परिणाम हो । रोयटर्सको विश्लेषणअनुसार लाखौँ च्याटबट संवादहरूको विश्लेषणमा प्रयोगकर्ताहरूले विशेषगरी पार्टनरका रूपमा डिजाइन गरिएका एआईसँग उच्च स्तरको खुलापन र भावना आदानप्रदान गर्ने देखाएका छन् । साथै, बजारमा अहिले 'एआई साथी'हरूको माग बढेर अर्बौँ डलरको उद्योगतर्फ उन्मुख भइरहेको पाइन्छ । इन्स्टिट्युट फर फ्यामिली स्टडिज सर्वेक्षणले विशेषगरी युवाहरू एआईसँग गहिरो भावनात्मक सम्बन्ध बनाउन बढी खुला देखिने औँल्याएको छ ।

तर, यससँगै चिन्ताहरू पनि उत्तिकै बढिरहेका छन् । रोयटर्सकै एक अनुसन्धानले एआईसँग प्रेमसम्बन्ध रहेको ठानिएका  ७६ वर्षीय एक व्यक्तिको मृत्युको घटनालाई उजागर गरेको थियो । यसले वास्तविकता र कृत्रिम संसारबीचको सीमा हराउँदै जाँदा उत्पन्न हुन सक्ने जोखिम देखाउँछ । म्यासेबलले सार्वजनिक गरेका विभिन्न कम्पनीका आन्तरिक दस्तावेजहरूमा मेटाका सुरक्षा विज्ञहरूले यस्ता रोमान्टिक एआई अन्तरक्रिया र आदानप्रदानबारे चेतावनी दिएको देखिन्छ । 

अनुसन्धानकर्ताहरूका अनुसार सबैजसो विषयमा सहमति जनाउने र सकारात्मक प्रतिक्रिया दिने एआई प्रणालीहरूले प्रयोगकर्तालाई परनिर्भर बनाउने र कतिपय अवस्थामा वास्तविक सम्बन्धबारे धारणा नै विकृत बनाउन सक्छन् । एमआईटीकी समाजशास्त्री एवं मनोवैज्ञानिक शेरी टर्कलले एआईसँगको प्रेम सम्बन्ध र यसले निम्त्याउने जोखिमबारे चिन्ता प्रकट गर्दै आएकी छन् । एआई च्याटबटहरूसँग प्रेममा पर्नु वा भावनात्मक सम्बन्ध गाँस्नु 'भ्रामक' हुने र यसले मानिसको भावनात्मक स्वास्थ्यलाई जोखिममा पार्ने उनले चेतावनी दिएकी छन् । 

'मेसिनहरूले म तिमीलाई माया गर्छु वा तिम्रो ख्याल राख्छु भने पनि त्यो बनावटी सहानुभूति मात्र हो,' प्राध्यापक टर्कलको भनाइ छ, 'मेसिनले मानवीय भावनाहरू साटासाट गर्न सक्दैन ।' उनले मानिसहरूलाई एआईसँग धेरै आशक्त नहुन आग्रह गर्दै यो एउटा प्रोग्राम मात्र भएको र यसभित्र कोही पनि छैन भन्ने कुरा सम्झिन सुझाव दिएकी छन् । 

एजेन्सी

Link copied successfully