हजुर एआई एप सार्वजनिक

कम्पनीका अनुसार एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनसम्बन्धी सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने जनाएको छ । एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड राखिएको छ ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Hazur AI app released

काठमाडौँ — नेपाली भाषामै केन्द्रित डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक भएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ नारासहित विकास गरिएको उक्त एप फागुन १७ (मार्च १, २०२६) देखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनसम्बन्धी सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने जनाएको छ । एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड राखिएको छ । 

प्रयोगकर्ताले राख्ने पोस्टका आधारमा ‘ठीकठाक स्कोर’ निर्धारण गरिने र सोही स्कोरका आधारमा प्रत्येक महिना उत्कृष्ट १ सय प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । महिनाकै उत्कृष्ट क्रिएटरलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।

एपमा ‘हजुर एआई च्याट’ फिचरसमेत समावेश गरिएको छ । नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोटमार्फत अध्ययन, सूचना तथा सामान्य परामर्श लिन सकिने दाबी गरिएको छ ।

भाषा सिकाइका लागि कथामार्फत विभिन्न भाषा सिक्न सकिने सुविधा राखिएको छ । उक्त विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्तालाई मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने कम्पनीको भनाइ छ ।

स्वास्थ्यसम्बन्धी ‘प्राणायाम’ फिचरमार्फत ध्यान तथा श्वासप्रश्वास अभ्यास सिक्न सकिने जनाइएको छ । मनोरञ्जनतर्फ समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमा उपलब्ध हुने बताइएको छ । लन्च अफरअन्तर्गत आगामी असार १७ (जुलाई १, २०२६) सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully