शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पूरा गरी समयसांपेक्ष बजारको मागअनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो ।
What you should know
काठमाडौँ — नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रम पहिलो पटक सञ्चालन हुने भएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र स्वीजरल्याण्डको इटिएच ज्युरिकसँगको संयुक्त पहलमा चलिरहेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाखा इम्प्लिमेन्टिङ ल्याब (आईल्याब–२०२५) कार्यक्रमअन्तर्गत बागमती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (पीसीटीभीईटी) र नेपाल उद्योग परिसंघ (सीएनआई) लगायत निजी क्षेत्रसंगको सहकार्यमा उक्त पहल अगाडि बढेको हो ।
शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पूरा गरी समयसांपेक्ष बजारको मागअनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा सुरु भएको ईभी प्रशिक्षणलाई औपचारिक रूपमा सञ्चालन गर्ने नेपालमै पहिलो प्रयास भएको आइल्याव वागमती प्रदेश काठमाडौंका संयोजक रमेश दुलालले बताए ।
युवाहरूको लगनशीलता, अन्य नगरपालिकाका युवामा देखिएको आकर्षण, निजी क्षेत्रका सुझाव तथा प्रदेश, स्थानीय तह, निजी क्षेत्र र प्राविधिक शिक्षालयको संयुक्त साझेदारीका कारण यो कार्यक्रमलाई औपचारिक रूप दिन प्रक्रिया अगाडि बढेको संयोजक दुलालको भनाइ छ । आईल्यावअन्तर्गत सुरुमा ईभी तालिमका लागि छोटो अवधिको ३ सय ९० घण्टाको तालिम गोकर्णेश्वर नगरपालिकाका २५ जना युवालाई दिइएको थियो । तालिम सैद्धान्तिक रुपमा मात्र समेटिएको र पर्याप्त प्रयोगात्मक गतिविधि नभएको भन्दै तालिममा सहभागी प्रशिक्षार्थीले गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई आधार मान्दै थप युवाहरूको मनोभावना बुझ्न गोकर्णेश्वर र शंखरापुर नगरपालिकामा सर्भेक्षण गर्दा छोटो समयमै ठूलो संख्यामा युवाहरूले ईभी प्रशिक्षणमा रुचि व्यक्त गरेका थिए ।
गोकर्णेश्वर नगरपालिकामा मात्र १ सयभन्दा बढी युवाले फाराम भरेको नगरपालिकाका शिक्षा अधिकृत एवं आईल्याव काठमाडौं समूहकी सदस्य सरिता शर्माले बताइन् । औपचारिक कार्यक्रमअन्तर्गत कम्तीमा १८ महिनाको प्रि-डिप्लोमा कार्यक्रमको प्रक्रिया अघि बढेको जनाइएको छ । औपचारिक तहको ईभी पाठ्यक्रम निर्माण प्रक्रियाका लागि निजी क्षेत्रका प्रतिनिधिअन्तर्गत नेशनल भोकेशनल क्वालिफिकेसन फ्रेमवर्कअन्तर्गतको सेक्टर स्किल्स कमिटीका सदस्य दिपेश पौडेलले बताए ।
नेपालमा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका ईभी सवारी साधनको आयात र बिक्री बढिरहे पनि प्राविधिक जनशक्ति उत्पादन गर्ने व्यवस्थित पहल यसअघि नभएको कमिटीका सदस्य पौडेलले बताए । 'ईभी बजारमा दक्ष प्राविधिकको अभाव छ, जसले गर्दा यो क्षेत्रमा रोजगारीका अवसरहरू बढ्दै गए पनि युवाहरूले पर्याप्त प्रशिक्षण पाउन सकेका थिएनन्,' उनले भने, 'शंखरापुर बहुप्राविधिक शिक्षालयमा सुरु गर्न लागिएको यो कार्यक्रमले यही कमी पूरा गर्ने अपेक्षा गर्न सकिन्छ ।'
सीटीईभीटीको आंगिक शिक्षालय शंखरापुर बहुप्राविधिक शिक्षालयमा ल्याब स्थापनाका लागि शिक्षालयले लागत अनुमान तयार पारिसकेको छ । लागत साझेदारीका लागि पीसीटीभीईटीमार्फत काठमाडौंको गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई पत्राचार गरिसकिएको जनाइएको छ । सबै पक्षबाट आसन्न निर्वाचनपछि साझेदारी बजेटसहित प्रतिबद्धता पत्र पठाउने जानकारी आएको पीसीटीभीईटीका प्रमुख कार्यकारी निर्देशक एवं आईल्याव बागमती प्रदेश, काठमाडौंकी सदस्य शान्ति लामाले बताइन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं आईल्याव वागमती प्रदेश, काठमाडौंका सदस्य दिपककुमार रिसालले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ईभी ल्याब स्थापनाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । निजी क्षेत्रअन्तर्गतको नाडाको सचिवालयले इमेलमार्फत शंखरापुर बहुप्राविधिक शिक्षालयमा भएको औपचारिक ईभी पढाई बजारको मागअनुसार सान्दर्भिक भएको र निजी क्षेत्रको प्राथमिकतासँग मेल खाएको जनाएको छ । नाडाले ईभी व्यवसायीहरूबाट लागत साझेदारी सम्भव हुने समेत जनाएको छ ।
बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम क्षेत्र प्रदेशको प्राथमिकतामा रहेकाले ईभी क्षेत्रमा रोजगारी सिर्जना गर्न युवाहरूलाई दक्ष बनाउने र यसका लागि सीटीईभीटीसँग पाठ्यक्रम तयारीलगायत प्रक्रियामा प्राविधिक सहयोग लिने योजना रहेको बताए । कार्यक्रमले नेपालमा ईभी क्षेत्रको विकासलाई गति दिनुका साथै युवा बेरोजगारी घटाउने अपेक्षा गरिएको छ । निजी क्षेत्रको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
