ब्रेकिङ ब्याड र गेम अफ थ्रोन्सका फ्यानबीच ‘रेटिङ युद्ध’ 

गुणस्तरका हिसाबले दुवै शृंखलाको अझै पनि उच्च प्रसंशा हुने गरेको छ, तर ब्रेकिङ ब्याडको पूर्ण अंक गुम्नुले फ्यानहरूमा तीव्र प्रतिक्रिया जन्माएको छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

'Ratings war' between Breaking Bad and Game of Thrones fans

What you should know

काठमाडौँ — टेलिभिजन इतिहासकै चर्चित र उच्च मूल्यांकन पाएका दुई शक्तिशाली शृंखलाका फ्यान समुदायबीच अप्रत्यासित 'रेटिङ वार' सुरु भएको छ । दर्शकहरूको मतलाई सूचकांकका रूपमा लिइने इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी)  मा ‘गेम अफ थ्रोन्स’ र ‘ब्रेकिङ ब्याड’ का फ्यानबीच सर्वाधिक रेटिङ पाउने एपिसोड कसको भन्ने प्रश्नमा प्रतिस्पर्धा चलेको हो ।

अपराध-नाटक विधाको शृंखला ब्रेकिङ ब्याडको पाचौँ सिजनको १४ औँ एपिसोड ‘ओजिम्यान्डियास’ ले आईएमडीबीमा १३ वर्षदेखि १०/१० मूल्यांकन कायम राखेको थियो । सन् २०१३ सेप्टेम्बर १५ मा प्रसारण भएको यो एपिसोडलाई विश्वभरका दर्शक र समीक्षक दुवैले टेलिभिजन इतिहासकै उत्कृष्ट कथावाचनका रूपमा प्रशंसा गर्दै आएका थिए ।

आईएमडीबी प्लाटफर्ममा एक दशकभन्दा बढी समय १०/१० अंक पाउनु आफैँमा दुर्लभ उपलब्धि मानिन्छ । ब्रेकिङ ब्याडको सो एपिसोड भने लामो समयसम्म त्यही शिखरमा एक्लै उभिएको थियो ।

सन् २०२६ को मध्य फेब्रुअरीमा भने एचबीओको अर्को चर्चित शृंखला ‘गेम अफ थ्रोन्स’कै पूर्वकथामा आधारित ‘अ नाइट अफ द सेभेन किङडम्स’को पाँचौँ एपिसोड सार्वजनिक भएपछि आईएमडीबीमा ब्रेकिङ ब्याडको अवस्था फेरियो । ‘इन द नेम अफ द मदर’ शीर्षकको उक्त एपिसोड फेब्रुअरी १५ मा प्रसारण भएपछि व्यापक प्रशंसा बटुल्दै केही समयका लागि आईएमडीबीमा पूर्ण १०/१० अंक पाउन सफल भयो । टेलिभिजन इतिहासमा यस्तो पूर्ण अंक प्राप्त गर्ने यो दोस्रो एपिसोड बनेको थियो ।

हाल यो मूल्यांकनलाई लिएर ‘रिभ्यु बम्बिङ’ भइरहेको छ । आफ्नो प्रिय शृंखलालाई मात्रै १० मा १० दिने रणनीतिअनुरुप विश्वभरका दर्शकले अर्को शृंखलालाई कम रेटिङ दिने वा नकारात्मक कमेन्ट गर्ने गरेका छन् । दुवै एपिसोडमा एकतारे अर्थात् सबैभन्दा कम मूल्यांकनको बाढी लगाइरहेका छन् । कथा, अभिनय वा प्राविधिक पक्षप्रति असन्तुष्टिका कारणभन्दा पनि प्रतिद्वन्द्वी फ्यान समूहलाई शीर्ष स्थान दाबी गर्न नदिन यस्तो कदम चालिएको आरोप लागेको छ । 

ब्रेकिङ ब्याडको ऐतिहासिक कीर्तिमान जोगाउन उत्सुक सिरिज प्रशंसकहरूले ‘नाइट अफ द सेभेन किङडम्स’मा कम अंक दिएर त्यसको १०/१० मूल्यांकनलाई ९ को दायरामा झारिदिए । त्यसको प्रत्युत्तरमा गेम अफ थ्रोन्स प्रशंसकहरूले पनि ब्रेकिङ ब्याडका एपिसोडमा एकतारे मत दिएर यसको पूर्ण १० अंकलाई ९.७ मा झारिसकेका छन् । आईएमडीबीको एल्गोरिद्मका कारण विशेषगरी पहिले नै दशौँ हजार रेटिङ संकलन भइसकेका एपिसोडहरूमा अत्यन्तै कम वा बढी रेटिङले पनि छोटो अवधिमै प्रभाव पार्छ ।

टेलिभिजन इतिहासमा ब्रेकिङ ब्याडलाई महत्वपूर्ण सिरिज मानिन्छ। यसको अन्तिम सिजनले अर्को रेटिङ प्लाटफर्म रोटेन टमाटोजमा ९७ प्रतिशत समीक्षक स्वीकृति प्राप्त गरेको छ । गेम अफ थ्रोन्स फ्रान्चाइजभित्रकै ब्याटल अफ द बास्टर्डस् र द विन्डस् अफ विन्टर जस्ता एपिसोडहरू पनि विगतमा आईएमडीबी मा ९.९ रेटिङसम्म पुगेका थिए। यो सिरिजभित्रैका विभिन्न सिजनका अनेक एपिसोडहरूले ९.७ भन्दा माथि अंक हासिल गर्दै दर्शकमाझ अत्याधिक मन पराइएको टीभी कार्यक्रमका रूपमा देखिएका छन् ।

उच्च मूल्यांकन पाएका अन्य टेलिभिजन सिरिजहरूमा एनिमेसन र ड्रामा दुवै विधा एट्याक्स अन टाईटन र बेटर कल सलजस्ता शृङ्खलाहरू समावेश छन् । यसले दर्शकको रूचिको उत्कृष्टता कुनै एक विधामा सीमित नहुने देखाउँछ। दर्शकहरूले एचबीओका सिरिजहरू द वायर, चेर्नोबिल, ब्यान्ड अफ ब्रदर्सलाई पनि मन पराएर औसतमा ९ आईएमडीबी रेटिङ दिँदै आएका छन् । फ्रेन्ड्स, द बिग ब्याङ थेउरी, अफिस, साइनफिल्ड, हाउ आई मेट योर मदर, स्क्वीड गेम्स, माशजस्ता सिरिजहरूले पनि आफ्नो समयमा दर्शकको किर्तिमान बनाएका थिए । 

फ्रेन्ड्स सिरिजको पाँचौं सिजनको एपिसोड १४ सबैभन्दा बढी अर्थात् ९.७ अंक पाएर सबैभन्दा मन पराइएको एपिसोड बनेको थियो । उक्त सिरिजको अन्तिम एपिसोडलाई पनि यति नै मूल्यांकन प्राप्त छ।

अर्को चर्चित सिरिज द बिग ब्याङ थेउरीको दोश्रो सिजनको ११ औं एपिसोडलाई ९.२ मू्ल्यांकन प्राप्त छ भने अफिसको चौथो सिजनको १३ औं डिनर पार्टी एपिसोडलाई ९.४ अंक प्राप्त छ। उक्त सिरिजको स्ट्रेस रिलिफ र गुडबाई एपिसोडलाई पनि दर्शकले उच्च मूल्यांकन गर्दै आएका छन्। अर्को चर्चित सिटकम सिरिज हाउ आई मेट योर मदरको सिजन ९ एपिसोड १६ ले ९.५ रेटिङ पाउन सफल छ। सत्य घटनामा आधारित द वायर र चेर्नोबिलसँगै अमेरिकी युद्धकथामा आधारित एकमात्र सिजन रहेको सिरिज ब्यान्ड अफ ब्रदर्शका सबैजसो एपिसोड्ले ९ भन्दा बढीको औसत मूल्यांकन पाएका छन् ।   

आईएमडीबीमा देखिएको यो डिजिटल संघर्ष अंकको खेल मात्र नभएर समकालीन पप संस्कृतिमा देखिँदै गएको नयाँ ‘फ्यान ट्राइबलिज्म’ को संकेत पनि गर्ने पपर्यान्टले उल्लेख गरेको छ। सामाजिक सञ्जाल र अनलाइन समुदायहरूले कला मूल्याङ्कनका प्लाटफर्मलाई प्रतिस्पर्धी स्कोरबोर्डमा रूपान्तरण गर्न थालेका छन् । भविष्यमा यस्ता भिडन्त रोक्न आईएमदीबीले के कदम चाल्छ भन्ने प्रश्नकै रूपमा छ । तर हालका लागि ब्रेकिङ ब्याड र नाइट अफ द सेभेन किङडम्सका एपिसोडहरूको अंक घटाउने होड जारी राखेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully